धुलिखेल नगर प्रमुख र चीनका सियान नगर प्रमुख लि बीच भेटवार्ता

धुलिखेल नगर प्रमुख र चीनका सियान नगर प्रमुख लि बीच भेटवार्ता

धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जु र चीनको सियान नगरपालिका मेयर लि मिनयुङबीच भेटवार्ता भएको छ । चीनको शान्सी प्रान्तको सियान नगरपालिकाको कार्यालयमा भएको भेटवार्तामा द्विपक्षी हित र आपसी चासोका विषयमा कुराकानी भएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीका सियान व्यूरोका उपप्रमुखसमेत रहेका मेयर मिनयुङले सियान, धुलिखेल नगरपालिका र नेपालका अन्य नगरपालिकाबीच सम्बन्ध राख्न आफुहरु तयार रहेको बताए ।

‘नेपाल र चीनबीच लामो समयदेखि रहेको सम्बन्धलाई अझ प्रगाढ बनाउन सियान चाहन्छ’ मेयर मिनयुङले भने त्यसका लागि सियान हरेक खालको सहयोग गर्न तयार छ ।’

उनले अन्तर्राष्ट्रिय जगतमा सियानको उपस्थितिकालागि सहयोग गर्न मेयर ब्यान्जुलाई आग्रह गरे । मेयर मिनयुङले सियान सिल्क रोडको उद्गमस्थल भएको र यसले पुरै एसिया प्यासिफिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने भएकाले यस क्षेत्रका नगरपालिका र स्थानीय निकायसंगको सम्वन्धमा भूमिका खेल्न मेयर ब्यान्जुसंग आग्रह गरे ।

धुलिखेका मेयर ब्यान्जु नगरपालिका संघ नेपालका अध्यक्ष एवं यूसिएलजी एसिया प्यासिफिक (अन्तर्राष्ट्रिय नगरपालिकाहरुको) संघका निर्वाचित उपाध्यक्षसमेत हुन् ।

छलफलका क्रममा मेयर ब्यान्जुले सियानसंग हातेमालो गर्न धुलिखेल नगरपालिका र अन्तर्राष्ट्रिय नगरपालिका संघ तयार रहेको बताए । ‘धुलिखेल नगरपालिका सियान र चीनका अन्य नगरपालिकासंगको सम्बन्धलाई अझ उचाइमा पुर्याउन तयार छ ।’ मेयर ब्यान्जुले भने, ‘सियानले छोटो समयमा गरेको विकास र समृद्धिबाट नेपाल र विश्वका अन्य नगरपालिकाले पाठ सिक्नका लागि पनि सम्बन्धलाई थप प्रगाढ र विस्तार गर्न जरुरी छ ।’

मेयर ब्यान्जुले शताब्दीऔं देखि नेपाल र चीनबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कुटनीतिक र जनता जनताबीचको सम्वन्धलाई थप प्रगाढ वनाउदै अगाडि बढ्न आवश्यक रहेको बताए ।

मेयर मियुङले सियानमा रहेका विभिन्न विश्विद्यालयमार्फत धुलिखेल नगरपालिकाका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्न तयार रहेको बताए । धुलिखेलका मेयर ब्यान्जुले धुलिखेलमा रहेका काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालसंग सियानका विश्वविद्यालय र अस्पतालबीच सम्बन्ध स्थापना गर्दै अघि बढ्नु पर्ने बताए ।

धुलिखेलले पर्यटनको क्षेत्रमा काम गरिरहेको भन्दै मेयर ब्यान्जुले त्यसका लागि सियानले आफ्ना नागरिकलाई धुलिखेल र नेपाल भ्रमणमा पठाउन अभिप्रेरित गर्नुपर्ने बताए ।

मेयर ब्यान्जुले सियानका मेयरलाई नेपाल र विशेषगरि धुलिखेल भ्रमणको निम्तो गरे । जवाफमा मेयर मिनयुङले उपयुक्त समयमा धुलिखेलको भ्रमण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्