‘दोरम्बा पर्यटन गन्तव्य गाउँ’ घोषित

‘दोरम्बा पर्यटन गन्तव्य गाउँ’ घोषित

काठमाडौंं । दोरम्बाले द्वन्द्वमा धेरै सास्ती व्यहोर्यो । अनि दोरम्बाबासीले धेरै दुःख झेले । तर अहिले ती सबै दुःख सास्तीलाई बिर्सिएर दोरम्बा पर्यटकीय गाउँ बन्दै छ । रामेछापको दोरम्बालाई सरकारले ‘पर्यटन गन्तव्य गाउँ’ घोषणा गरेको छ । रामेछापको दोरम्बा गाउँपालिका–२ मा पर्ने दोरम्बा गाउँलाई ३९ औं विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले असोज ११ गते पर्यटन गन्तव्य गाउँ घोषणा गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीले दोरम्बा गाउँपालिकाका वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठलाई ‘पर्यटन गन्तव्य दोरम्बा गाउँ’ को प्रमाणपत्र हस्तान्तरण गर्दै पर्यटन गन्तव्य गाउँ घोषणा गरेका हुन् ।

‘पर्यटन गन्तव्य गाउँ’ घोषित हुने दोरम्बा रामेछाप जिल्लाकै पहिलो गाउँ हो । दोरम्बालाई पर्यटन गाउँ घोषणा गर्नु गाउँपालिकाको लागि गर्व भएको गाउँपालिकाका प्रमुख कमानसिँह मोक्तान बताउँछन् । उनले दोरम्बामा पर्यटकीय पूर्वाधारका लागि होमस्टे लगायतका केही काम सुरु भैसकेको बताए । दोरम्बामा शैलुङ, अग्लेश्वरी कण्ठेश्वर गुफा, तालाच्यु गढी, डाँडाकटेरी, शान्ति पार्क, तामाङ र थामी जातिको संस्कृति लगायत पर्यटकीय आकर्षणका स्थल छन् । दोरम्बा गाउँलाई सरकारले पर्यटकीय गन्तव्यको गाउँ तोकेपनि सिङ्गो गाउँपालिकालाई नै गन्तव्य क्षेत्र बनाउने योजनाका साथ आपूmहरु अघि बढ्ने उनले बताए ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीले नयाँ गाउँ गन्तव्य ‘दोरम्बा गाउँ’को प्रमाणपत्र दोरम्बा गाउँपालिकाका वडा अध्यक्ष खडक बहादुर श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । प्रमाणपत्र हस्तान्तरण गर्दै मन्त्री अधिकारीले दोरम्बालाई पर्यटकीय पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले देश विकासको मुख्य आधार पर्यटन भएको बताउदैँ गाउँ पर्यटनको थप खोजी गरेर विकास गरिने बताउनुभयो ।

गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ)ले हरेक बर्ष पर्यटन दिवसको अवसरमा नयाँ नयाँ गाउँ पर्यटनको खोजी गरेर पर्यटन बोर्डलाई सिफारिस गर्ने गरेको छ । पर्यटन बोर्डको सिफारिसको आधारमा पर्यटन मन्त्रालय नयाँ गन्तव्यलाई गाउँ पर्यटनको रुपमा घोषणा गर्दै आएको छ ।

दोरम्बा गाउँलाई पर्यटन गन्तव्य गाउँमा घोषण गरेपछि दोरम्बावासीमा खुसीयाली छाएको छ । दोरम्बावासीले विगत लामो समयदेखि नै पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने माग राख्दै आएपछि जनप्रतिनिधहरुको सक्रियता पर्यटन गन्तव्य गाउँ घोषणा भएको हो । दोरम्बावासीको पनि गाउँलाई पर्यटन गन्तव्यको रुपमा घोषणा गराउने कार्यमा निकै ठूला भूमिका निर्वाह गरेका थिए ।
दोरम्बालाई पर्यटन गन्तव्य गाउँ घोषणा गर्नु निकै सुखद विषय भएको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताउनुभयो । उहाँले भन्नुभयो,‘यहाँका जनताले धेरै अगाडिदेखि नै पर्यटकीय गन्तव्यमा घोषणा भएको हेर्न चाहेका थिए, ढिलै भएपनि घोषणा भयो, हामी निकै खुसी छौ ।’

आगामी दिनमा पुर्वाधार निर्माणमा गाउँपालिकाले योजना बनाएर नै काम गर्ने बताउनुभयो । दोरम्बालाई पर्यटन गन्तव्य गाउँ घोषणा गर्ने कार्यमा भूमिका खेल्ने भिटोफ, पर्यटन बोर्ड र पर्यटन मन्त्रालाई दोरम्बा गाउँपालिको तर्फबाट उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।

दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले दोरम्बाको प्राकृतिक सुन्दरता, ऐतिहासिक धार्मिक र सांस्कृतिक रुपमा धनी रहेको बताउनुभयो । उहाँले दोरम्बा हुँदै सैलुङसम्मको पर्यटन विकासमा पर्यटन गन्तव्य गाउँ घोषणाले थप टेवा पुगेको बताउनुभयो । उपाध्यक्ष घिसिङले पर्यटन गाउँ घोषणा भएको दोरम्बाको विकास गर्न गाउँपालिकाले विशेष योजना बनाएर नै काम गर्ने बताउनुभयो ।
गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) का महासचिव जस्फा पाण्डेले दोरम्बा सहित देशका तीन वटा गाउँलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा घोषित नयाँ गन्तव्यमा पूर्वधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

यस कारण चर्चित छ दोरम्बा
दोरम्बा ऐतिहासिक धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा चर्चित छ । जनयुद्धको समयमा २०६० साल श्रावण ३२ गते तत्कालिन सरकारले बैठक बसिरहेको घरलाई कब्जामा लिएर तत्कालिन नेकपा माओवादीका २१ नेता तथा कार्यकर्ताको सामुहिक हत्या गरेको थियो । उक्त घटनाबाट दोरम्बा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चर्चामा आएको थियो । केही समय अघि मात्र दोरम्बा पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’दोरम्बामा आयोजित कार्यक्रममा दोरम्बालाई पर्यटकीय क्षेत्र बनाउनको लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

युद्ध पर्यटनको गन्तव्य

माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा दोरम्बा गाउँपालिकालाई माओवादीले आफ्नो आधार इलाका बनाएका थिए । दोरम्बा गाउँपालिकाका भित्रका साविकका लखनपुर, गुन्सी, दोरम्बा टोकरपुर, डडुवा लगायतका स्थानहरु माओवादीका आधार इलाकाका रुपमा परिचित थिए ।

माओवादीका १९ जना नेताकार्यकताहरुको सामूहिक हत्या गरिएको दोरम्बाको डाँडाकटेरीमा सहिद स्मारक निर्माण भएको छ । माओवादीका नेता कार्यकताहरुलाई समातेको ठाउँदेखि डाँडाकटेरीसम्मको क्षेत्र आफैंमा ऐतिहासिक र सहिदहरुको पदमार्ग पनि हो । दोरम्बा हत्या काण्डबारे सुनेका र यस बारेमा चासो राख्ने नेपाली तथा विदेशीहरु पनि फाट्टफुट्ट दोरम्बा आउने क्रम सुरु भइसकेको छ । पर्यटकीय गाउँ घोषणाले यो क्रम अझ बढ्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्