दिक्तेल बजारलाई ब्यवस्थीत बनाउने नगरपालीकाको अभियान

दिक्तेल बजारलाई ब्यवस्थीत बनाउने नगरपालीकाको अभियान

खोटाङ। खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रलाई व्यवस्थित बनाउने अभियान थालेको छ । अनुगमनलाई तीव्र बनाएको छ । नगरपालिकाले विशेषगरी दिक्तेल बजारलाई केन्द्रित गर्दै अनुगमन तीव्र बनाएको हो ।

पछिल्लो समय उपभोक्ता हित संरक्षण तथा सडक व्यवस्थापनलाई मध्यनजर गर्दै दिक्तेलबजारमा निरन्तर अनुगमन भइरहेको छ । नगरपालिकाले गठन गरेको आधिकारिक अनुगमन टोलीले शुक्रबार अनुगमन गर्दै दिक्तेलबाजारभित्र पर्ने सडक किनारमा राखिएका निर्माण सामग्री तत्कालै हटाउन सुझाव दिएका छन् ।

सडक किनारमा यत्रतत्र राखिएका निर्माण सामग्री, सवारीसाधन तथा बिक्री प्रयोजनका लागि राखिएका सामग्रीका कारण बजार अस्तव्यस्त बनेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको दिक्तेलबजार हाल निर्माणको चरणमा भएको कारण त्यस्तो अवस्था भएको बजारवासीले बताएका छन् ।

बजारमा अधिकांश पुराना घर भत्काएर हाल नयाँ संरचनाका घर बनाउने क्रम बढेको छ । पटक–पटक सुझाव दिँदा पनि सम्बन्धित व्यक्तिले अटेर गरी निर्माण सामग्री तथा सवारीसाधन जथाभावी राख्ने गरेका कारण कठोर बनेर नियमानुसार कारवाहीमा उत्रने अवस्था आएको मेयर दीपनारायण रिजालले बताउनु भयो ।

नियम तथा मापदण्डविपरीत सडकमा राखिएका त्यस्ता सामग्रीहरु एक साताभित्र व्यवस्थापन गर्न अर्थात सडकबाट हटाउन निर्देशन गरिएको मेयर रिजालले बताउनुभयो । उपप्रमुख विणादेवी राई संयोजकत्वमा रहने उपभोक्ता हित संरक्षण समितिअन्तर्गत गठित अनुगमन टोलीले नगरभित्रका बजारमा निरन्तर अनुगमन गर्ने जनाएको छ ।

नगरपालिकाले बजार अनुगमन निर्देशिका २०७५ तयार गरेर बजार व्यवस्थापन तथा उपभोक्ताको हितमा नियमित बजार अनुगमन शुरु गरेको छ । नगरपालिकाका बजार अनुगमन शाखाका प्रमुखको संयोजकत्वमा गठित अनुगमन टोलीमा सम्बन्धित विषयगत क्षेत्र, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षणमा क्रियाशील संस्था, उद्योग वाणिज्य सङ्घ र पत्रकार महासङ्घको प्रतिनिधि छन् ।

प्रतिक्रिया दिनुहोस्