‘दालभात तरकारी भन्दा जात्रै जात्रा राम्रो’ : हरिवंश

‘दालभात तरकारी भन्दा जात्रै जात्रा राम्रो’ : हरिवंश

गएको शुक्रवारबाट देशभर प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘जात्रै जात्रा’ लाई दर्शक र समीक्षक दुबैले निकै रुचाएका छन् । सार्थक सिक्वेलको रुपमा ब्याख्या गरिएको फिल्मले अहिले बक्सअफिसमा पनि राम्रो पैसा छापिरहेको छ । विना विदाको दिन पनि फिल्म हेर्ने दर्शकको संख्यामा कमी आएको छैन । फिल्मको सिंगलभन्दा मल्टीप्लेक्समा व्यापार राम्रो छ ।  

बलियो ‘वर्ड अफ माउथ’ का कारण हरेक दिन फिल्मको कलेक्सन ग्राफ उकालोलाग्दो छ । प्रदीप भट्टराई निर्देशित यो फिल्म हेर्न विभिन्न फिल्मकर्मीहरु पनि हल पुगिरहेका छन् । आइतवार अभिनेता भुवन केसी र अभिनेत्री करिश्मा मानन्धरले फिल्म हेरेपछि निर्देशक भट्टराईको निर्देशकिय क्षमता, स्क्रिनप्ले र कलाकारकोे अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।  

 यसबीच, सोमवार बरिष्ठ हास्यकलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि राजधानीको बिग मुभिज पुगेर ‘जात्रै जात्रा’ हेरेका छन् । फिल्म हेरेपछि हरिवंशले निर्देशक प्रदीपको काम देखेर आफूलाई गर्व लागेको बताए । लामो समय मह सञ्चारमा आबद्ध रहेर प्रदीपले आफूलाई निर्देशकको रुपमा निखार्ने अवसर पाएका थिए । उनले थुप्रै हास्य टेलिसिरियलमा सहायक निर्देशक र निर्देशक भएर काम गरेका थिए । भने,  मह सञ्चारको फिल्म ‘शत्रु गते’ को निर्देशन समेत गरेका थिए ।  निर्देशक भट्टराईलाई अंकमाल गर्दै हरिवंशले भने- ‘मेरो छोरा, मेरो भाई प्रदीपलाई देखेर गर्व लाग्यो । साह्रै राम्रो सुटिङ स्क्रिप्ट बनाउनुभएको रहेछ । उहाँमा झन् परिपक्वता देखेँ । फिल्म साह्रै राम्रो छ ।’ ‘जात्रा’, ‘शत्रु गते’ भन्दा ‘जात्रै जात्रा’ झनै राम्रो रहेको उनको भनाई छ । उनले हाल प्रदर्शनरत मह सञ्चारले निर्माण गरेको फिल्म ‘दाल भात तरकारी’ भन्दा पनि ‘जात्रै जात्रा’ निकै राम्रो रहेको बताए । मदनकृष्णले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिए ।  केही हप्ता अगाडि ट्युमरको अप्रेसन गरेकी अभिनेत्री श्वेता खड्का पनि सोमवार ‘जात्रै जात्रा’ हेर्न हल पुगेकी थिइन् । उनले फिल्म हेरेर आफू धेरै हाँसेको बताइन् । ‘चिकित्सकले मलाई ‘बेड रेस्ट’ गर्नु सुझाव दिनुभएको छ । तर, ‘जात्रै जात्रा’ मलाई रेस्ट गर्न दिएन । किनकि, फिल्म हेरिरहँदा म हाँसेको हाँस्यै भएँ । फिल्म एकदमै राम्रो लाग्यो’, उनले भनिन् । यस्तै, लेखक सुविन भट्टराईले फिल्म हेरेपछि निर्देशकको आफू ठूलो प्रशंसक भएको बताए । 

प्रतिक्रिया दिनुहोस्