थुन्सेले धानेको जीवन

थुन्सेले धानेको जीवन

काठमाडौँ ।   १९ वर्षदेखि थुन्से बुनेर दैनिकी चलाउँदै आएका गंगाजमुना गाउँपालिका–१ री धादिङका जोकर लामाले मनग्य आम्दानी गरिरहेका छन् । सहर, बजारमा थुन्से बुनेर बेच्नु कठिन काम हो । तर, जोखिम भएको ठाउँमै पैसा भएको तामाङको भनाइ छ ।

उनी १९ वर्षअघि रीबाट धादिङबेँसी झरेका थिए । ‘गाउँमा थुन्से बुनेरै घरपरिवार चलाएको म धादिङबेँसी झरेपछि पैसा कमाउने बाटो छान्न अलमलिएँ । तर, जानेको सीप अनि मनदेखिको चाहनालाई मार्न नसकेर थुन्से पसल खोलेँ,’ नयाँ पत्रिकासँग उनले भने । १९ वर्षअघि एक सय ५० रुपैयाँमा एउटा थुन्से बेच्थे । अहिले थुन्सेको मूल्य बढेर पाँच सय रुपैयाँ पुगेको छ । तर, बजारको महँगी भने त्यसको तुलनामा अझ बढेको उनको अनुभव छ ।

घर बनाउन पनि सहयोग
दिनमा तीनवटासम्म थुन्से बुन्ने गरेको तामाङ बताउँछन् । ‘तर, चोया काढ्न, निगालो ल्याउन, बिट मार्नेजस्ता अन्य प्रक्रिया पूरा गर्नुपर्ने कारणले प्रतिदिन एक अथवा महिनामा करिब ३० वटा थुन्से बुन्छु,’ उनले भने । उनले रीबाट निगालो ल्याउने गरेका छन् । एउटा निगालोको पाँच सय र भारीको १५ सय रुपैयाँ पर्छ । एक भारीबाट १२ वटा जति थुन्से बन्ने तामाङले जानकारी दिए । थुन्से, डोको, डालो, नाङ्लो, झोलुंगोजस्ता निगालोबाट बनेका सामग्री बुनेर बेच्ने गरेको तामाङ बताउँछन् ।

थुन्से बुनेर घरपरिवार पाल्न मात्र होइन, घर पनि बनाउन सहयोग पुगेको तामाङले बताए । सिजनमा थुन्से राम्रो बिक्ने गरेको उनको भनाइ छ । तामाङ आफैँले बुनेको थुन्सेबाट मासिक करिब १५ हजार आम्दानी हुने गरेको बताउँछन् । उनको घर चोया, थुन्से, डोको, डालो, नाङ्लो, झोलुंगोजस्ता सामानले भरिएको छ । उनले १९ वर्ष पहिले १५ हजारमा थुन्से पसल थालेका थिए । अहिले पसलमा पाँच लाखभन्दा बढीको सामान छ ।

प्रतिक्रिया दिनुहोस्