डेंगुको डरलाग्दो तथ्यः ६ जनाको मृत्यु, ५ हजार ९५ जना संक्रमित

डेंगुको डरलाग्दो तथ्यः ६ जनाको मृत्यु, ५ हजार ९५ जना संक्रमित

काठमाडौं । काठमाडौं लगायत देशभर डेंगुको कारण ६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्म ६ जनाको ज्यान गएको छ भने ५६ जिल्लाका ५ हजार ९५ जना डेंगुबाट संक्रमित भएका छन् । महाशाखाले सार्वजनिक गरेको तथ्यांकमा अनुसार प्रदेश ३ का जिल्लाहरुमा डेंगुको प्रकोप बढी देखिएको छ ।

प्रदेश ३ मा मात्रै भदौ २४ गते सम्ममा ३ हजार १ सय २६ जनामा डेंगु भेटिएको महाशाखाको तथ्यांक छ । यस्तै गण्डकी प्रदेशमा पनि बिरामीको संख्या एक हजार पुग्न लागिसकेको छ । गण्डकी प्रदेशमा ९ सय ७२ जनामा डेंगु भेटिएको छ । यस्तै प्रदेश १ मा ८ सय ३१ जना, प्रदेश ५ मा ९७ जना, प्रदेश २ मा ३९ जना, सुदूरपश्चिम प्रदेशमा २७ जना र कर्णाली प्रदेशमा ३ जनामा डेंगुको संक्रमण भेटिएको छ ।

प्रदेश ३ का १२ जिल्लाहरुमध्ये सबैभन्दा धेरै डेंगुका बिरामी काठमाडौं र चितवनका छन् । साउन यता मात्रै काठमाडौंमा १ हजार १ सय ७० जनामा डेंगु भेटिएको छ भने चितवनमा १ हजार १ सय २८ जनामा डेंगु भेटिएको छ । यस्तै मकवानपुरमा ७ सय २८ जना, ललितपुरमा ३५ जना, भक्तपुरमा ३३ जना, धादिङमा १८ जना , काभ्रेमा ४ जना, सिन्धुलीमा ३ जना, नुवाकोट, दोलखा र रामेछापमा २–२ जना र सिन्धुपाल्चोकमा १ जनामा डेंगुको संक्रमण देखिएको छ ।

यता उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले यस वर्ष नेपालमा ५ हजार ९५ जनालाई डेंगु संक्रमण देखिएको आजको संसदमा सार्वजनिक महत्वको विषयमा आफ्नो भनाई राख्दै उक्त जानकारी दिएका छन्। यद्यपि आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था भने नभएको उनले बताए। नेपाल डेंगु नियन्त्रण गर्न सक्षम रहेकोले पनि आपत्कालीन अवस्था नरहेको उनको दाबी थियो। उनले डेंगु नियन्त्रणमा किट त्यति प्रभावकारी नभएको बताए। मन्त्री यादवले नेपालले लामखुट्टेबाट सार्ने रोग औंलो र जापानिज इन्सेफ्लाईटिसजस्ता रोगसमेत नियन्त्रणमा ल्याएको उल्लेख गर्दै डेंगुका लागि निर्दिष्ट औषधि नबनिसकेको उल्लेख गरे। यसैले यसका लागि लामखुट्टे नियन्त्रण नै मुख्य उपचार भएकोले सबैलाई सचेत बनाउन सरकार लागेको बताए।

प्रतिक्रिया दिनुहोस्