जनताको खुसी देख्दा हर्षित भएको छु, अब सबै नाका खोल्छौँ : राष्ट्रपति सी

जनताको खुसी देख्दा हर्षित भएको छु, अब सबै नाका खोल्छौँ : राष्ट्रपति सी

काठमाडौँ।   नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङले सगरमाथा र हिमाली क्षेत्रको रक्षा गर्न चीन सदैव तयार रहेको बताउनुभएको छ । राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले होटल सोल्टीमा आयोजना गरेको विशेष रात्रिभोज समारोहलाई सम्बोधन गर्दै साझा गृहस्थल पृथ्वी र विशेष गरेर सगरमाथा र हिमाली क्षेत्रको रक्षा गर्न आफूहरु सदैव तयार रहने बताउनुभयो ।
उहाँले नेपाल र चीनबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेको पनि बताउनुभयो । ‘हामीबीचको आधा शताब्दीभन्दा बढीको सम्बन्धले विश्वमै नमूना पेश गरेको छ, हाम्रो सम्बन्धमा केही समस्या छैन, मित्रता मात्र छ।’ चिनियाँ राष्ट्रपति सीले भन्नुभयो । उहाँले दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्ने पनि उल्लेख गर्नुभयो ।

राष्ट्रपति सीले सीमापारीको रेल सम्भाव्यता अध्ययन सुरु गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले चीन९नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौं ।’ केरुङ्देखि काठमाडौंसम्मको सुरुङमार्गको परियोजनालाई सहयोग गर्ने र अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्ने पनि प्रतिबद्धता गर्नुभयो ।

‘बढीभन्दा बढी नाकाहरू खोल्छौँ’

बढीभन्दा बढी नाकाहरु खोल्ने र नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्ने पनि सीले बताउनुभयो । ‘बढीभन्दा बढी नाकाहरु खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माण गर्नेछौं । र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं’, उहाँले भन्नुभयो ।

राष्ट्रपति सीले कान्तिपुरी नगरीमा आफूले नयाँ र पुराना आफ्ना मित्रहरूलाई भेटेको र नेपालको राजनीतिक स्थायित्व, सामाजिक सदभाव र जनताको सुखी जीवन देख्दा आफू हर्षित भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिक स्थायित्व, सामाजिक सदभाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित भएको छु ।’

उहाँले दुई देशका जनताबीचको समझदारी बढ्ने पनि विश्वास लिनुभएको छ । उहाँले भन्नुभयो, मलाई आशा छ, दुई देशका जनताबीचको समझदारी अझ बढ्नेछ ।’

प्रतिक्रिया दिनुहोस्