गुर्भाकोट नगरपालिकका अधिकांश कोरोना संक्रमित ठीक भई घर फर्केका छन्

गुर्भाकोट नगरपालिकका अधिकांश कोरोना संक्रमित ठीक भई घर फर्केका छन्

सुर्खेत । नेपालका तीनै तहका सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण रहेको हुन्छ । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले सुर्खेत जिल्ला अवस्थित गुर्भाकोट नगरपालिकाको स्वास्थ्य प्रमुख महेश पुरीलाई नगरपालिकामा कोरोनाको अवस्था कस्तो छ र रोकथामको लागि नगरपालिकाले के कस्ता प्रयासहरू गरिरहेको छ भन्ने प्रश्न गरेको थियौँ । उहाँले नगरपालिकामा ६० जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको थियो ती मध्ये ५२ जना ठीक भई घर फर्किसकेको र ८ जना आइसोलेसनमा उपचाररत रहेको बताउनुभयो । संक्रमित व्यक्ति सबै भारतबाट आएका नागरिक रहेको उहाँले बताउनुभयो ।

महेश पुरी

हालसम्म १५६१ जनाको पि.सि.आर र २००० जनाको आर.डि.टी परीक्षण भइसकेको उहाँले बताउनुभयो । सुरुमा नगरपालिकाले १९ वटा क्वारेन्टाइनको व्यवस्था गरेको थियो भने हाल नगरपालिकामा क्वारेन्टाइनमा बस्नेको संख्यामा कमी आएपछि २ वटा क्वारेन्टाइनको व्यवस्था रहेको पुरीले बताउनुभयो । हाल क्वारेन्टाइनमा २६ जना रहेको उहाँले बताउनुभयो । साधारणतया ७ दिन क्वारेन्टाइनमा राखोर पि.सि.आर परीक्षण गरिरहेको उहाँले बताउनुभयो । नगरपालिकाले संक्रमण भएका व्यक्तिहरूलाई राख्न एउटा आइसोलेसनको पनि व्यवस्था गरेको छ । त्यसैगरी कोरोना भाइरससँग लड्न केही स्वास्थ्य समाग्री प्रदेश सरकारले सहयोग गरेतापनि नगरपालिकामा चाहिने स्वास्थ्यकर्मी तथा प्रविधि नगरबाट नै व्यवस्था गर्दै आइरहेको उहाँले बताउनुभयो ।

नगरपालिकाले टोल टोलमा माइकिङ गरेर नागरिकलाई सतर्कता गराउने, पोस्टर पम्पलेट टाँस्ने र स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा शिक्षकमार्फत सम्पूर्ण नागरिकलाई यस महामारीबाट बच्नलाई सचेत गराइरहेको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्