गाडी किन्न बैंकले दिन थाले सस्तो ब्याजमा ऋण

गाडी किन्न बैंकले दिन थाले सस्तो ब्याजमा ऋण

काठमाडौं । वाणिज्य बैंकहरुले गाडी किन्न सस्तोमा ऋण दिने भएका छन् । आगामी मंगलबारदेखि शुरु हुने सवारी साधानको कुम्भ मेला नाडा अटो शोलाई लक्षित गरेर बैंकहरुले सस्तो ब्याजमा सवारी कर्जा दिने योजना ल्याउन लागेका हुन् । १० प्रतिशतसम्म ब्याजमा बैंकहरुले अटो कर्जा दिने भएका छन् ।

बैंकहरुले पछिल्लो समय रकम अभाव भएपछि बैंकरहरुले सवारी साधन खरिदका लागि दिने कर्जाको ब्याजदर बढाएर १४ प्रतिशतसम्म पुर्याएका छन् ।  बैंकहरुमा कर्जा दिने पैसा अभाव भएको भन्दै ब्याज दर केही माथि पुर्याएका हुन् ।  तर, नाडा अटो शोलाई लक्षित गरेर उनीहरुले १० प्रतिशत ब्याजदरमै सवारी साधन खरिद गर्न ऋण दिने भएका छन् ।

कुन बैंकले कति प्रतिशतमा सवारी साधन कर्जा उपलब्ध गराउने छ भन्ने जानकारी भने एक दुई दिनभित्रै सार्वजनिक गर्ने तयारीमा छन् । बैंकहरुको पहिलो प्राथमिकता सवारी साधन खरिदमा कर्जा दिनेमा पर्छ । सवारी साधन खरिदमा अहिले बैंकहरुले अर्बौं रकम लगानी गरेका छन् । बैंकहरुले दिने कर्जामध्ये सबैभन्दा सजिलो र छिटो दिने कर्जा भनेको नै सवारी साधन किन्न हो ।

राष्ट्र बैंकले पछिल्लो समय इलेक्ट्रिक गाडीमा ८० प्रतिशत र अन्य सवारीमा ५० प्रतिशतसम्म लगानी गर्न पाउने सुविधा दिएको छ।

एभरेष्ट बैंक

नाडा अटो शोमा एभरेष्ट बैंकले ९.५ प्रतिशत ब्याजदरमा सवारी कर्जा सार्वजनिक गर्ने तयारी गरेको छ। बैंकको हालको आधार दर ८.१२ प्रतिशत रहेको छ।

जनता बैंक

नाडा अटो शोमा सहभागिता जनाएको जनता बैंकले पनि आर्कषक व्याजदर सार्वजनिक गर्ने तयारी गरेको छ। बैंकले १० देखि ११ प्रतिशत ब्याजमा सवारी कर्जा दिने तयारी गरेको हो। हाल बैंकको आधार दर ९.९५ प्रतिशत रहेको छ।

हिमालयन बैंक

हिमालयन बैंकले पनि ११ प्रतिशतभन्दा कमनै ब्याजमा सवारी कर्जा अफर सार्वजनिक गर्ने तयारी गरेको छ। बैंकको आधार दर  ९.०५ प्रतिशत रहेको छ।

बैंक अफ काठमान्डु

बैंक अफ काठमान्डुले गाडी खरिद गर्ने उपभोक्तालाई १०.५० प्रतिशत ब्याजदरमै सवारी कर्जा दिन सक्नेछ। बैंकको हालको आधार दर ९.९८ प्रतिशत रहेको छ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले १२ देखि १३ प्रतिशत व्याजदरमा सवारी कर्जा दिदैं आएको छ। बैंकको आधार दर १०.३७ प्रतिशत रहेकाले बैंकले अटो शोमा १२ प्रतिशतभन्दा कम व्याजदरमा सवारी कर्जा दिनेछ।

सिभिल बैंक

सिभिल बैंकले पनि १२ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिन सक्नेछ। हाल बैंकको आधार दर ११.११ प्रतिशत छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

सवारी कर्जामा आर्कषक ब्याजदर दिदैं आएको स्टायडर्ड चार्टड बैंकले ९ प्रतिशत तोक्न सक्ने देखिएको छ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले यसवर्ष अटो शोमा १२ प्रतिशतभन्दा कममा सावरी कर्जा दिने भएको छ। बैंकको आधार दर १०.३१ प्रतिशत छ।

सानिमा बैंक

सानिमा बैंकले ११ प्रतिशतको स्कीम ल्याउन सक्ने देखिएको छ। हाल बैंकको आधार दर ९.३४ प्रतिशत रहेको छ।

एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले नाडा अटो शोमा १० देखि ११ प्रतिशतसम्ममा सवारी कर्जा दिने तयारी गरेको छ। बैंकको आधार दर ९.४८ प्रतिशत रहेको छ।

नबिल बैंक

नबिल बैंकले ९.९९ प्रतिशतमै नाडा अटो शोमा सवारी कर्जा उपलव्ध गराउने गरी स्कीम सार्वजनिक गर्ने तयारी गरेको छ। बैंकको आधार दर ८.०९ प्रतिशत रहेको छ। बैंकले इलेक्ट्रीक गाडीमा ९.९९ प्रतिशतमा कर्जा दिइरहेकाले सोही दरमा सवारी कर्जा दिन सक्नेछ।

प्रतिक्रिया दिनुहोस्