कोहलपुर नगरपालिकामा प्रत्येक हप्ताको शुक्रबार र शनिबार निषेधाज्ञा

कोहलपुर नगरपालिकामा प्रत्येक हप्ताको शुक्रबार र शनिबार निषेधाज्ञा

बाँके । बाँके जिल्लाको कोहलपुर नगरपालिका महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) विरुद्ध सक्रिय रुपमा लागेको छ ।
नगरपालिकाका जनस्वास्थ्य अधिकृत डिल्लीराज पोख्रेलका अनुसार कोहलपुरमा अहिलेसम्म १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ७४ जना उपचार गरेर घर फर्किएका छन् । १ जनाको मृत्यु भइसकेको छ । ‘सबैभन्दा बढी वडा नम्बर ५ र ११ वडाका स्थानीयमा कोरोना संक्रमण देखिएको छ’ जनस्वास्थ्य अधिकृत पोख्रेलले भने,‘नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा २८ जना हुनुहुन्छ र जिल्ला सदमुकामको आईसोलेसनमा २४ जना हुनुहुन्छ ।’हालसम्म कोहलपुरमा मात्र २१ सय जनाको पीसीआर परीक्षण गरिएको छ ।


महामारीको रुपमा रहेको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र व्यवस्थापनमा आफुहरु अहोरात्र लागिपरेको नगरप्रमुख लुटबहादुर रावतले बताउनुभयो । उहाँले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न समेत नगरबासीलाई आग्रह गर्नुभएको छ । कोहलपुर नगरपालिका मात्र नभएर सिंगो देश र विश्व नैं कोभिड १९ बाट प्रभावित भएको बताउदै नगर प्रमुख रावतले यसको सहि व्यवस्थापनका लागि सरकार–सरकारबीच मात्र नभएर सरोकारवाला सबै निकायहरुबीच बढि भन्दा बढि सहकार्य र समन्वय आवश्यक भएकोमा जोड दिनुभयो । कोहलपुरमा कोभिडलाई समूदायस्तरमा फैलिन नदिन सबै जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरु लागिपरेको नगर प्रमुख रावतको भनाई छ ।


स्वास्थ्य मन्त्रालयले बनाएको स्वास्थ्य मापदण्ड बमोजिम नगरपालिकाले कार्य गरिरहेको नगर प्रमुख रावत बताउनुहुन्छ । नगरपालिकाले बाहिरबाट आएका र शंकास्पद व्यक्तिहरुको पिसिआर टेष्ट गर्ने गरेको जानकारी दिनुभयो । मेयर रावतले आवश्यक मात्रामा क्वारेन्टाइन र आइसोलेशनको व्यवस्था रहेको समेत जानकारी दिनुभयो ।

नगरपालिकाले नगरबासीहरुलाई प्रत्यक्ष लाभ पुग्ने खालका योजनाहरुलाई प्राथमिकता पूर्वक सञ्चालन गरिरहेको बताउदै नगर प्रमुख रावतले वर्तमान संकटपूर्ण अवस्थामा पनि विकास निर्माणका कार्यहरुलाई नियमित रुपमा सञ्चालन गरिरहेको बताउनुभयो । ‘ कोरोनाका कारण गत बर्ष बनेका योजनाका ६५ प्रतिशत मात्र काम सम्पन्न भएको र यो बर्ष बिकास निर्माणका कार्यलाई अझ शसक्त माध्यमबाट लेजाने सोच छ ’ मेयर रावतले भन्नुभयो । ‘ तर अहिले पनि संक्रमितको संख्या बढ्दै गएको छ , समुदायस्तरमै कोरोना संक्रमण फैलिसकेको अवस्थामा अबका दिनहरुमा बिकास निर्माणका कायृहरु कसरी अघि बढाउने भन्ने कुरामा चिन्तित छौं’ उहाँले भन्नुभयो । तरपनि उपलब्ध साधन स्रोतको सहि सदुपयोग गरी कोभिडको महामारी रोक्न नगरपालिका लागिपरेको नगर प्रमुख रावतको भनाई छ ।

केही दिनयता कोहलपुरमा कोरोना संक्रमण बढ्दै गएपछि नगरपालिकालाई भाद्र १९ गते देखि पूर्ण रुपमा लकडाउन गरिएको थियो । अव भने जिल्ला प्रशासन कार्यालय बाँकेको आदेश अनुसार जिल्लाभर प्रत्येक हप्ताको शुक्रबार शनिवार अत्यास्यिक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन वाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तिय संस्था समेत ) सवारी साधन, पसल व्यवसाय, संचालन र अत्यवस्यक काम बाहेक हिडडुलमा समेत रोक लगाउने गरी निषेषज्ञा जारी गररिएको मेयर रावतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्