कोरोना संक्रमण रहित बन्यो सल्यानको त्रिवेणी गाउँपालिका

कोरोना संक्रमण रहित बन्यो सल्यानको त्रिवेणी गाउँपालिका

सल्यान । हाल महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाइरहेको छ । यस महामारीको असर नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको छ । छिमेकी देश भारतमा संक्रमण डरलाग्दो रूपमा बढेको हुनाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि बढ्दै गएको देखिन्छ । नेपालका तीनै तहका सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण हुन्छ । नेपाल मिडिया सेन्टरले सल्यान जिल्ला अवस्थित त्रिवेणी गाउँपालिकाका स्वास्थ्य संयोजक प्रभात श्रेष्ठलाई गाउँपालिकामा कोरोनाको अवस्थाको कस्तो छ र रोकथामको लागि गाउँपालिकाले के कस्ता प्रयासहरू गरिरहेको छ भन्ने प्रश्नहरू सोधेको थियौँ । उहाँले गाउँपालिकामा ९ जनलाई संक्रमण देखिएको थियो अहिले सबै उपचार पश्चात ठीक भई घर फर्किसकेको बताउनुभयो । संक्रमित सबै विदेशबाट आएका नागरिक रहेको उहाँले जानकारी गराउनुभयो ।


त्यसैगरी हालसम्म गाउँपालिकामा १७३ जनाको पि.सि.आर परीक्षण भइसकेको श्रेष्ठले बताउनुभयो । गाउँपालिकाले सुरुका दिनहरूमा धेरै संख्यामा क्वारेन्टाइनको व्यवस्था गरेकोमा हाल क्वारेन्टाइनमा बस्नेको संख्यमा कमी आएकाले एउटा मात्र क्वारेन्टाइनको व्यवस्था गरिएको उहाँले बताउनुभयो । हाल क्वारेन्टाइनमा भने जम्मा १ जना व्यक्ति हुनुहुन्छ । कोरोनाको थप नियन्त्रण तथा न्यूनिकरणको लागि गाउँपालिकाले रेडियो तथा पोस्टर पम्पलेटमार्फ विभिन्न किसिमका चेतनामुलक कार्यक्रम गरिरहेको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्