कोरोना भाइरसलाई जितेर त्रिवेणी नगरपालिकाका सबै संक्रमित घर फर्के

कोरोना भाइरसलाई जितेर त्रिवेणी नगरपालिकाका सबै संक्रमित घर फर्के

बाजुरा । त्रिवेणी नगरपालिकाले कोरानाको सामना गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको छ । सम्भावित जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिरहेको नगरपालिकाका स्वास्थ्य संयोजक चिरन्जिवि शाहले बताउनुभयो । उहाँले नगरपालिकामा १०७ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको थियो हाल सबै जना ठीक भई घर फर्किसकेको बताउनुभयो । संक्रमित व्यक्ति सबै भारतबाट आएका नागरिक रहेको उहाँले बताउनुभयो ।

चिरन्जिवि शाह

हालसम्म ६४७ जनाको पि.सि.आर र ७७५ जनाको आर.डि.टी परीक्षण भइसकेको उहाँले बताउनुभयो । नगरपालिकामा सुरुका दिनहरूको तुलनामा हाल क्वारेन्टाइनमा बस्नेको संख्यामा धेरै कमी आएको संयोजक शाहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरुको अवस्थामा धेरै वटा क्वारेन्टाइनको व्यवस्था थियो अहिलेको अवस्थामा बाहिरबाट आउने व्यक्तिहरू नभएको र क्वारेन्टाइनमा कोही नभएकाले हाल क्वारेन्टाइनको व्यवस्था छैन । विदेशबाट आउने व्यक्ति भएका विद्यालयमा पुनः सञ्चालन गरिनेछ । ’ साथसाथै नगरमा ३ वटा आइसोलेसन पनि तयारी अवस्थामा रहेको शाहले बताउनुभयो । त्यसैगरी कोरोना भाइरससँग लड्न नगरपालिकामा चाहिने स्वास्थ्यकर्मी तथा प्रविधि नगरले नै व्यवस्था गर्दै आइरहेको उहाँले बताउनुभयो ।

नगरबासीलाई संक्रमणबाट टाढा राख्न नगरपालिकाले टोल टोलमा माइकिङ गरेर नागरिकलाई सतर्कता गराउने, पोस्टर पम्पलेट टाँस्ने र स्वास्थ्यकर्मी परिचालन गरी सम्पूर्ण नागरिकलाई यस महामारीबाट बच्नलाई सचेत गराइरहेको उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँका नागरिक पनि सबै सचेत नै छन् । नगरबासीलाई सुरक्षित राख्नका लागि हामी कर्मचारीदेखि जनप्रतिनिधि सबै सुरुमा चैतदेखि असारसम्म बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म खटिएका थियौँ र अहिले पनि यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ त्यसमै जोड दिइरहेका छौँ । ’

प्रतिक्रिया दिनुहोस्