वडाका मानिसहरु काठमाडौं आवत जावत गर्नाले संक्रमणको खतरा बढेको छः वडाध्यक्ष लामा

वडाका मानिसहरु काठमाडौं आवत जावत गर्नाले संक्रमणको खतरा बढेको छः वडाध्यक्ष लामा

गोल्चे, सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको वडा नं. २ ले कोरानाको सामना गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको छ । सम्भावित जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिरहेको वडा अध्यक्ष प्रताप लामाले बताउनुभयो । हालसम्म वडामा कोही पनि संक्रमण नभएकोले कोरोनाको असर नपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाहिरबाट आउने व्यक्तिहरु सबैले पि.सि.आर रिर्पोट साथमा लिएर आउने गरेका छन् । उनीहरुलाई १४ दिनसम्म सुरक्षित भएर होेम क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौं । ’

तर वडाका मानिसहरु काठमाडौँबाट आउने जाने गरेकोले संक्रमण फैलिने खतरा बढेको उहाँले बताउनुभयो । ‘यस वडाका मानिसहरु काठमाडौंबाट आउने जाने गरेका छन् । यसलाई व्यवस्थापन गर्न भने अलि समस्या भइराखेको छ । नागरिकहरु काठमाडौंमा लकडाउन खुलिसक्यो केही हुँदैन भन्ने जस्ता कुराहरु गर्छन् । यसले गर्दा अलि समस्या भइरहेको छ ’, लामाले भन्नुभयो ।

कोरोनाबाट बच्न वडामा विभिन्न कार्यक्रमहरू गरिरहेको उहाँले बताउनुभयो । वडाले टोल टोलमा गएर यसबाट बच्नलाई अपनाउनुपर्ने उपायहरूको बारेमा सबैलाई जानकारी दिएको उहाँले बताउनुभयो । वडाले गरेका सम्पूर्ण काम कारबाहीबाट समग्र वडाबासी सन्तुष्ट रहेको उहाँले बताउनुभयो । वडाको विकासको लागि विभिन्न कार्यक्रमहरु अघि बढाएको उहाँले जानकारी गराउनुभयो । ‘समुन्नत तथा समृद्धि वडा बनाउनको लागि वडाभित्रका ९ वटा गाउँका युवाहरु छानेर उनीहरुलाई कृषिमा अग्रसर गराई रोजगारका कार्यक्रमहरु ल्याएका छौं । यसका साथै कृषि उत्पादन जस्तै आलु, धान, मकै ढुवानी गर्न कृषि सडकको व्यवस्था गर्ने योजना बनाएको छु । पशुपंक्षि किनबेचका लागि वडामा महिनामा दुईपटकसम्म पशुमेलाको आयोजना गर्ने कार्यक्रम समेत ल्याएका छौं । ’

 

प्रतिक्रिया दिनुहोस्