कालीकोटका सबै स्थानीय तहमा इन्टरनेट जडान

कालीकोटका सबै स्थानीय तहमा इन्टरनेट जडान

कालीकोटः अहिले स्थानीय तहका निर्णय र सूचना लिन कार्यालय धाइरहन पर्दैन । वेबसाइटमै सहजै पाइन्छ । सबैजसो तहमा छुट्टै सूचना प्रविधि कक्ष छ ।

सेवाग्राहीसँग पहुँच सहज बनाउन स्थानीय तहले सूचना प्रविधिलाई प्राथमिकता दिन थालेका छन् । यसका लागि सूचना प्रविधि अधिकृत (आईटी अफिसर) नियुक्त गरिँदै छन् । इन्टरनेट प्रयोगले सेवा सम्पादन सहज तुल्याएको छ ।

कालीकोटका सबै स्थानीय तहमा पनी इन्टरनेट सेवाको पहुँच पुगेको छ । गाउँपालिकाका सबै गतिविधि र सूचना सबैसमक्ष पुर्याउन इन्टरनेट अनिवार्य भएको भन्दै कालीकोटका सवै स्थानीय तहले इन्टरनेट सेवा जडान गरेका छन् । स्थानीय तहले गरेका काम कार्वाहीलाई जनताको माझमा पुर्याउन प्रविधिमैत्री स्थानीय तह निमार्ण गर्नका लागि जिल्लाका स्थानीय तहले इन्टरनेट जडान गरेका हुन् ।

जिल्लाका सबै स्थानीय तहले आफ्नै वेबसाइट बनाई सेवाग्राहीलाई सुसूचित गराएका छन् । इन्टरनेट विस्तारपछि डकुमेन्टेसन, इमेलिङ, फ्याक्स, वेब सफ्टवेयर, जानकारी अपडेटलगायत दैनिक रूपमा सञ्चालन हुने कार्यालयका काम सम्पन्न गर्न सहज पुगेको नरहरीनाथ गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढा (आशा)ले बताउनुभयो ।

उहाँले गाउँपालिकामा काम गरेपनि विगतमा डकुमेन्ट फ्याक्स, मेल गर्न मान्म जानुपर्ने बाध्यता हटेको बताउनुभयो । ‘जिल्लाका दुर्गम स्थानीय तहमा पनि इन्टरनेट प्रविधि जडानपछि कार्यालयको दैनिक कार्यसम्पादन सहज भएको छ । उपाध्यक्ष बुढाले बताउनुभयो ।’

स्थानीय तहमा इन्टरनेट जडान भएपछि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता, सम्पत्ति कर, जन्मदर्ताको अनलाइन पद्धतिबाट अभिलेख राख्न सुरु गरिएको शान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताउनुभयो ।

स्थानीय तहमा गर्नुपर्ने सम्पूर्ण इन्टरनेटसम्बन्धी कामका लागि सदरमुकाम नै धाउनुपर्ने बाध्यता टरेको महावै गाउँपालिकाका अध्यक्ष नन्द्रबहादुर सिंहले बताउनुभयो । ‘गाउँपालिकाको धेरैजसो कामका लागि सदरमुकाम धाउनुपथ्र्यो’, उहाँले भन्नुभयो, ‘इन्टरनेट सेवा विस्तारपछि गाउँपालिकामै सम्पूर्ण काम सहज भएको छ ।’ यत्तिमात्र होइन टेलिफोनको नमस्तेले काम नगर्ने पलाता गाउँपालिका र महावै गाउँपालिकामा इन्टरनेट चल्न थालेपछि स्थानीयलाई देश विदेशको खबर थाहा पाउन सजिलो भएको पलाता गाउँपालिकाका स्थानीय मानबहादुर रोकायाले बताउनुभयो ।

‘स्काई फोन बाहेक अन्य फोनले काम नगर्ने पलातामा वल्डलिंकको नेट चलेपछि अहिले सहज भएको छ ।’ रोकायाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्