काभ्रे बेथानचोक नगरपालीकाको घरघरमा खानेपानीको धाराः स्थानीय खुशी

काभ्रे बेथानचोक नगरपालीकाको घरघरमा खानेपानीको धाराः स्थानीय खुशी

काभ्रे । पानीको विकल्प हुँदैन । तर पनि धेरै वर्षदेखि खानेपानीको अभावमा रहेका काभ्रेको बेथानचोक गाउँपालिका–५ च्यासिङखर्कमा घरघरमा खानेपानीको धारा पुगेपछि स्थानीय खुसी भएका छन् ।

यस गाउँको ७२ घर परिवारको घर–घरमा खानेपानीको धारा पुगेपछि स्थानीय खुशी भएका हुन् । खानेपानीको चरम अभाव झेलीरहेका खलंगाडाँडा, लुङसुरडाँडा, कामीडाँडा र च्याल्टी लगायतका स्थानीय घरघरमा धारा आएपछि उनीहरुले निक्कै ठूलो राहत महासुस गरेका छन् ।

बेथानचोक गाउँपालिका–५ खलङ्गाडाँडाका स्थानीय सनीमाया तामाङले बर्षौदेखि झेल्दै आएको खानेपानी अभाव अहिले आएर पूरा भएकोमा खुशि भईन् । ‘पहिला त हामीले एकैठाउँमा १४ घर परिवारले गाग्रीमा पानी बोकेर उकाली ओराली गर्दै आधा घण्टा भन्दा पनि बढी गोरेटो बाटो हिँडेर पानीको जोहो गर्नुपथ्र्यो, अब घरको आँगनमा नै घारा आएको छ त्यसकारण हामी यस वडा बासी अत्यन्तै खुसी भएका छौँ ।’ उनले भनिन्, ‘घरको आँगनमै खानेपानीको धारा आएपछि आधाघण्टा लगाएर पानी ल्याउनेपर्ने बाध्यता हटेको छ, समयको बचत भएको छ ।’

पहिला पानी अभावकै कारण बस्तुभाउ समेत धेरै पाल्न नसक्ने अवस्था रहेकाले अवका दिनमा बस्तुभाउ समेत पालेर आर्थिक उपार्जनमा लाग्ने तामाङको योजना छ ।

सोही गाउँका जगतबहादुर तामाङले पानी ल्याउनको लागि डेड घण्टासम्म हिडेर सिमसिम खोलाबाट पानी ल्याउने गरेको दुःख सुनाउँदै अब घरको आँगनमा नै पानी आएपछि धेरै सहज भएको बताए ।

मंगलबार खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रदेश सांसद बसुन्धरा हुँमागाईले गरे । उद्घाटन गर्दै सांसद हुमागाईंले समृद्धिको मुख्य आधार आर्थिक उपार्जन रहेको बताउँदै त्यसको लागि च्यासिङखर्क सम्भावनाहरु बोकेको क्षेत्र भएकाले अब खानेपानी उपलब्धसंगै तरकारी खेती गरी आर्थिक उपार्जनमा लाग्न सबैलाई अनुरोध गरे । ‘यही पानीलाई उपभोग गर्दै तरकारी खेती गरेर आर्थिक उपार्जनमा अव यस भेगका स्थानीय लाग्नुपर्छ ।’ उनले भने, ‘त्यसको लागि कृषि सडकको ब्यवस्था गर्न आफुले प्रदेश सरकारबाट आवश्यक बजेट उपलब्ध गराउने छु ।’

कार्यक्रममा खानेपानी तथा सरसफाई कोष विकास समिति(फण्डबोर्ड)का सामाजिक संसाधन विकास महाशाखा प्रमुख टिका अधिकारीले खानेपानी उपलब्ध भएपछि सरसफाईदेखि बालबच्चाको स्वास्थ्य र खाद्यन्नमा सुधार गर्दै सुखी जीवनयापन गर्नमा ध्यान दिन स्थानीय बासिन्दालाई आग्रह गरे ।

परोपकार प्राथमिक उपचार केन्द्रका अध्यक्ष डा. संग्राम सिं लामाले समुदायको अर्थपूर्ण सहभागिताबाट नै खानेपानी आयोजना सम्पन्न भएको उल्लेख गर्दै सहयोगी संस्था रहुन्जेल चल्ने र संस्था गएपछि योजना पनि तहसनहस हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । शुरु गर्न भन्दा पनि टिकाई राख्नु ठुलो कुरा भएकाले अब टिकाएर जीवनभर खानीपानीको उपभोग गर्ने जिम्मा उपभोक्ताको रहेको पनि लामाले बताए ।

परोपार प्राथमिक उपचार केन्द्रको आयोजना र ग्रामीण खानेपानी सरसफाई कोष विकास समिति(फण्डबोर्ड)को आर्थिक सहयोगमा च्यासिङखर्क खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत खानेपानी आयोजना सम्पन्न गरेपछि मंगलवार उद्घाटन पश्चात समुदायलाई हस्तान्तरण गरिएको हो ।

सो आयोजनामा करिब पाँच किलो मिटर टाढा रहेको महाभारत लेकमा मुहान बनाई पानी ल्याई सो भेगका ७२ घर धुरीलाई स्थानीय जनश्रमदान सहित करिब ५२ लाखको लागतमा सो खानेपानी आयोजना सम्पन्न भएको जानकारी दिए ।

उक्त आयोजनामा ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति(फण्डबोर्ड) बाट ४२ लाख र जनश्रमानबाट १० लाख गरी जम्मा ५२ लाखमा खानोनी आयोजना सम्पन्न भएको च्यासिङ्खर्क खानेपानी तथा उपभोक्त समितिका अध्यक्ष रामबहादुर थोकरले बताए ।

प्रतिक्रिया दिनुहोस्