एउटा सिमान्त नागरिक (कविता)

एउटा सिमान्त नागरिक (कविता)

हुस्सुले छोपेको चिसो बगरमा
उत्खनन् गर्दैछु,
हातको भाग्यरेखा मेटिने गरी
बालुवासँगै आफ्नो भाग्य पनि ।

तालुमा हुन्छ भाग्य भने
पसिनासँगै बग्यो होला
हातमा हुन्छ भने ठेलासँगै फुट्यो होला
साबेल र गैंतीसँगको मित्रताले
परिवर्तन ल्याएन जिवनको ।

टोपीले छेक्न नसकेको कपाल
प्रतिविम्ब मात्र हैन
दृष्य प्रमाण पनि हो, सिमान्त नागरिकहरुको ।

म यहि देशको नागरिक हुँ,
पसिना जस्तो श्रम गनाएको छैन
छाती माथी नै गाड्न मन छ ध्वजा
मन्दिर र चैत्यका जस्तै निर्मल ।

हो अब,
यस्तो विचार बोक्न मन छ
जसले हाम्रो भाग्यरेखा कोरोस ।
यस्तो झण्डा बोक्ने मन छ
जसको फर्फर – फर्फर आवाजमा
सिमान्त नागरिकहरुको पिडा बोलोस् ।

राजन के.सी. (दोलखा)

प्रतिक्रिया दिनुहोस्