बहसमा : शहरेको विकास र वृहत खानेपानी

बहसमा : शहरेको विकास र वृहत खानेपानी

दोलखा जिल्लाको सुदुर दक्षिणी भेगमा अवस्थित तामाकोशी गाउँपालिका वडा नं. ५ शहरे, दोलखा जिल्लाको चर्चामा रहने गाउँ हो । खिम्ती– १, हाइड्रोपावर संचालन र यसले पारेको वातावरणीय समस्यासँगै समुदायमा यसले गरेका कार्यहरु पनि यहाँ उजागर गर्न जरुरी छ । निर्वाचन ताका सिंगो दोलखाको नजरमा रहने शहरेले विकासको वारेमा के कस्तो फड्को मारेको छ त ? यसको वारेमा पनि सामान्य चर्चा गर्नु आवश्यक छ ।
हिमाल पावर लिमिटेडले ६० मेगावाट क्षमताको खिम्ती–१ संचालन गरेदेखि खासै स्थानीय तहमा विकास गरेको देखिदैन, यसको मुख्य कारण प्रभावित क्षेत्र ठूलो बनाइनुले वास्तविक प्रभावितहरु पछाडि परेको ठम्याई छ । स्थानीय रुपमा विद्युतिकरण गरेको खिम्ती ग्रामिण विद्युत सहकारी संस्था पनि हाल आएर राजनिति गर्ने थलोको रुपमा विकास हुँदा स्थानीय उपभोक्ताले बारम्बार बत्ति गइरहने झन्झटबाट मुक्ती पाउन सकेका छैनन् । गोबरधन्टार सिंचाई आयोजनालाई, स्थानीय तहमा ठूलो लगानी गरेको ठूलो योजनाको रुपमा लिन सकिन्छ । समग्र हिमाल पावरले स–साना खानेपानी लगायत कार्य गरेपनि यस खिम्ती–१ जलविद्युत आयोजनाले गर्नुपर्ने जती काम नगरेको स्थानीयहरुको गुनासो छ ।

शहरे, खानेपानीका कारण काकाकुल अवस्थामा रहेको कुरा पनि सबैलाई अवगत नै छ । बिशेष गरि, शहेरका फुयाल थुम्का, आत्मारा, पौवा, डाँडाँखर्क लगायतका वस्तीहरुमा खानेपानी अभाव भएका कारण स्थानीय जनताले केही बर्ष अगाडी खिम्ती– १, आयोजनाको सुरुङ फुटाई पानी निकालेपछि चोटिलो बनेको खानेपानीको मुद्धा तत्पश्चात सिंगो शहरेको मुद्धा बनेको थियो । खानेपानीको अभाव झेलिरहेका शहरे रिठ्ठाबोेट, पिपलडाँडा लगायतका टोलहरु समेत समेटेर वृहत शहरे खानेपानी आयोजना बनाउने निश्कर्ष निकाले पछी तत्कालिन अवस्थामा हिमाल पावर लिमिटेडले सो खानेपानी निर्माणको लागि रु.५०,००,००० (पचास लाख) दिने सहमती पश्चात हिमाल पावर लिमिटेडका प्राविधिकहरुको संलग्नतामा सर्वे गर्ने कार्य भएको र सो टोलीले हलुवा खोलाबाट गोबरधन्टार सिंचाई आयोजनाको पानी पाईपबाट शहरेको भंङ्गेरीमा लाने र त्यहाँ ठुलो रिजर्भ ट्यांकी बनाएर वितरण गर्ने भन्ने अपुष्ट जानकारी प्राप्त भएको हो । यसै शिलसिलामा गत आर्थिक बर्ष २०७७/७८ मा सो कार्यको निरन्तरता दिन तामाकोशी गाउँपालिकाले रु.४०,००,००० (चालिस लाख) छुट्याएको र सो आयोजनाको कार्य गोबरधन्टार सिंचाई आयोजनाको गंगारामे भन्ने ठाउँमा ट्यांकी निर्माण कार्य सुरु गरिएकोले सिंचाई उपभोक्ताहरुले नुल्दा मुहान दर्ता सो ठाउँमा नभएकोले सो कार्य तत्काल रोक्नुपर्ने र हलुवाखोलाको पानी गोबरधन्टारमा सिंचाई गर्न प्रयाप्त नभएको निश्कर्ष निकाले पछि सो पानी नल्याई अन्य मुहान पहिचान गर्न बृहत शहरे खानेपानी आयोजनालाई “ तामाकोशी सचेतना समाज” ले पत्राचार गरेको हो र यस विषयमा हामीले धेरै पटक अनौपचारीक छलफल समेत गरेका थियौं । यसरी भएका छलफलको निश्कर्षले बृहत शहरे खानेपानी आयोजनाको मुहान गंगारामे नभएको र पानी लानको लागि पनि धेरै कानुनी जटिलता भएकोले सो पानी बृहत शहरे खानेपानीका लागि नलाने सहमती अनौपचारिक रुपमा भएको हो ।

कमजोरी कहाँ भयो ?
शहरेको भंगेरीमा खानेपानीको ट्यांकी निर्माण भईरहेको र हिमाल पावर कम्पनीले गंगारामे बाट सर्भे गरेकै आधारमा पानी लाने तयारी हुनु, साथै सिंचाई उपभोक्तालाई एक पटक जम्मा गरेर राय नलिनुले यो खोनपनीको मुहान विनानै ट्यांकी निर्माण लगायतको समाचार बनेका छन् । विकल्पका रुपमा गंगारामे भन्दा १०० मिटर तल खानयोग्य पानी छ । यहि लिफ्ट गरेर लाने हो भने एक पटक अध्ययन गर्न सकिन्छ । खिम्ती वा तामाकोशीको भन्दा सफा पानी पाङ्ग्रे खोलामा छ, यसको बारेमा मिटिङमा हामीले चर्चा गरेपनि समितीले महत्व दिनु भएन ।

अब के गर्ने ?
बारम्बार पेचिलो बनिरहने यो बृहत शहरे खानेपानी अयोजनाको काम गर्नका लागि सम्पूर्ण राजनितिक दलका प्रतिनिधि, शहरेका युवाहरु, बुद्धिजिवीहरुको एउटा बृहत सभा गरेर समिती निर्माण गर्नुपर्ने र हिमाल पावर लिमिटेडलाई दवाव दिएर पैसा लिने र सो समितीले मुहान अध्ययन गरि आगामी बर्षमा सो भंगेरीमा निर्माण भएको ट्याकींमा पानी खसालेर वितरण गर्ने कार्य गर्न जरुरी छ । विवाद र एकले अर्काेलाई सत्तोसराप गरेर वा विरोध गरेर शहरेवासीले खानेपानी पाउदैनन् । यसैगरी अरु २/५ बर्ष बित्छन् । सबै जागौं, सबै लागौं ।

राजन के.सी.
शहरे, गोबरधन्टार, दोलखा

प्रतिक्रिया दिनुहोस्