अजम्बरी कमरेड पशुपती चौलागाई प्रति श्रद्धासुमन

अजम्बरी कमरेड पशुपती चौलागाई प्रति श्रद्धासुमन

पूर्व पश्चिम राजमार्ग पनि सुनसान देखिन्छ । एम्वुलेन्स र सुरक्षा सवारी साधन वाहेकका अन्य सवारी साधन फाट्टफुट्टमात्र भेट्न सकिन्छ । एम्बुलेन्सको साइरनले आङै सिरिङ्ग बनाउँछ । रातको समय इटहरीवाट विराटनगरतिर जाँदा जतिहिड्यो उति सुनसान र सन्नाटापूर्ण वातावरण भेटिन्छ । गाडीभित्र भाई र ममात्र छौं । हामी दाजुभाइ गाडीको संगितसंगै वाह्य वातावरणवाट तर्किएर गाडीभित्र कै वातावरणमा अनुकुलित हुने प्रयत्नमा छौं । व्यस्त वजार क्षेत्र भएर पनि सबै पसलहरु वन्द देखिन्छ । वन्द भएका केही सटरमा ‘रेडजोन’ भनेर लेखिएका स्टीकर टाँसिएका रहेछन् । लाग्छ भिषण लडाई झेलिरहेको युद्ध क्षेत्रमा गैर सैनिक नागरिकको रुपमा हामीमात्र त्यस सडकमा हिंडिरहेका छौं । करिव रातको ११ वजेको हुँदो हो, हामी आफ्नो गन्तव्यमा पुग्यौं । पुरानो चिनजान भएको हिसावले मात्र त्यो होटल खोलिएको थियो । करिव ४०० क्षमताको होटलमा हामी दुइजनावाहेक वाहिर एकजना पाले दाईमात्र हुनुहुन्थ्यो । हामी फ्रेस भएर वेडमा मात्र के पल्टिएका थियौं । फोनमा मिसकल देखिए । मैले सर्वप्रथम घरमा फोन गरें ठूलो रुवावासी रहेछ । त्यो अत्यास लाग्दो रुवावसीका विच सुनेको खवरले मलाई एक्कासी आकाशमा उडाए जस्तो झड्का महशुस भयो । मानव सुन्यतामा म एक्लै हराए झैं अनुभूति भयो । मसंग धेरै शव्द थिएन प्रतिकृया दिने, आवाज थिएन अनुभूति ओकल्ने, शक्ति थिएन पृथ्वीमा उभिने र कोही साथी थिएन अंकमाल गरेर पिडा साट्ने । एकजना असल अभिभावक गुमाएको महशुस भयो मलाई । अर्कै पलङमा रहेको भाई लक्ष्मण खड्कालाई पनि उस्तै अवश्थामा देखें, उसँग छटपटी थियो, उदासता थियो, ऊ अवाक थियो, एकोहोरो हेरिमात्र रहन्थ्यो सायद उसले पनि वोल्ने शव्द पाएको थिएन ।
एकछिन सबैतिर फोन घुमायौं हामीले । समाचार असत्य होस् भन्ने चाहान्थ्यौं तर प्राकृतिक सत्यतालाई हाम्रा कृतिम पहल कदमीले कसरी वदल्न सक्थ्यो र पशुपति दाईले हामीलाई सदाको लागि छोडिसक्नु भएको थियो । अपत्यारिलो सत्यलाई पत्याउनु पर्ने र अपुरणीय क्षतलाई स्वीकार्नु पर्ने हामीलाई वाध्यता थियो । त्यसका लागि सायद पर्याप्त शक्ति मसँग थिएन । जसले गर्दा छटपटी र कम्पन महशुस गरिरहेको थिए । पापी मन तातो थियो तर ओछ्यानमा छु तैपनि खुइया गर्न मन लाग्छ । के गरौं, कसो गरौं हुन्छ । अशान्तिपूर्ण मनको आँधीमय भूमरीमा फसेजस्तो महशुस हुन्छ ।

भित्ताको घडीले रातको १२ः३० वजेको जनाउ दिइसकेको थियो । मैले भाइलाई भने, “अव सुतौं” एक गिलास चिसो पानी पिएर वत्ती निभाए अनि ओछ्यानमा पल्टिए । यता पर्कियो उता फर्कियो निन्द्रा लाग्दैन । मध्यरात ,अन्धकार कोठा, आँखा चिम्लिदा पशुपती दाइको हसिलो मुहार नाचिरहन्छ मानस्पटलमा । मलाई लाग्यो, मररे पनि वाँचीरहने भनेको यही होला सायद । उहाँ हुनुहुन्न अव तर उहाँ नै चाहिएको छ मलाई । उहाँ वोल्नु हुन्न अव तर उहाँसंगै वात मार्नुछ मलाई । मैले सम्झें मभन्दा अझ धेरै छटपटीमा त भाउजू सुनिता , भाई सुमन अनि वहिनीहरु होलान् , सँगै उहाँका सहोदर भाइहरु कुमार, हेमन्त र सिंगो परिवारजन । यो खवर थाहा पाएका कुनैपनि दोलखालीको आँखा ओभानो छैन होला । सबैको आँखा अगाडि उहाँकै सुन्दर तस्विर नाची रहेकोहोला ।

यता पल्टियो उता पल्टियो निदाउनै सकिएन । मोवाइलमा समय हेरें विहानको ३ः१५ भएछ । वत्ति वालें अनि पानी तताएर एक गिलास पानी पिएं । अव ३ः४० भएको थियो । मैले भाइलाई उठाए र त्यहाँको काम छोडेर विराटनगरबाट काठमाडौं हिड्ने निधो गरें ।
हामी विहान ४ः३० वजे विराटनगर छोडेर काठमाडौं लाग्यौं । विश्व महामारीको रुपमा मडारिरहेको दोस्रो कोरोना लहरविरुद्ध जुध्न सरकारले जारी गरेको निषेधाज्ञाका कारण वाटो सुनसान थियो । खुल्ला राजमार्गमा हाम्रो गाडी जति वेगले गुडिरहेको थियो, त्यो भन्दा कयौं गुणा वढी उडिरहेको थियो मेरो मन । वाटोभरि उहाँसँगका संस्मरणात्मक झल्कोले छोपी रह्यो । उडाई रह्यो ।
कमरेड पशुपति चौंलागाई सरल जीवनशैली र उच्च विचारले भरिपूर्ण कम्युनिष्ट निष्ठाका जीवित प्रतिमूर्ति हुनुहुन्थ्यो । आफ्नो विचार र नेतृत्वप्रति प्रतिवद्ध तर कार्यशैलीमा लचकता र सामाजिक काममा उदारता उहाँका विषेशता थिए । जिल्लाको विकासका योजना र व्यक्ति– व्यक्तिको अप्ठ्यारोमा आफ्नो भूमिकालाई कहिल्यै पनि अल्छी गर्नु भएन । आन्दोलनका हिसावले अहिलेको नेकपा एमाले धारको दोलखामा जग वसाल्नेदेखि आजको अस्तित्व कायम गर्ने मियो नै उहाँ हुनुहुन्थ्यो । हुन त त्यसो भन्दाखेरी केही साथीहरुप्रति क्षमाप्रार्थी छु ,जसले एमाले भनेको नै म र म भनेको नै एमाले बुझ्नु भएको छ ।

तिनै पशुपति चौलागाईहरु कै राजनीति स्कुलभित्र प्रतिपक्षी सिपाही जसरी जन्मिएर हुर्कदै कहिले एकता र कहिले संघर्षको यात्रावाट आएको व्यक्ति भएकोले मैले भन्नै पर्छ, हामीले जानेको र मानेको दोलखाली एमाले धारको प्रमुख नेता उहाँ नै हुनुहुन्थ्यो । त्यसैले आजको दिनमा हामीलाई भन्दापनि एमालेको परिवारमा वढी चिन्ता छ । बढी छटपटी छ । जसरी भिमबहादुर तामाङको वियोगमा कांग्रेस परिवार आँशुमा डुवेको थियो र रितबहादुरको विछोडमा माओवादी परिवार आक्रान्तपूर्ण शोकमा डुवेको थियो । जे होस् दोलखाली जीवित नेताहरुमा उहाँ एक नम्बरमै हुनुहुन्थ्यो । निष्ठा, आदर्श र विश्वासका हिसावले हामी दोलखालीले राजनैतिक संस्कार, वर्गीय विष्ठा र मानवीय उच्च चेतनाका शिखर प्रतिमूर्तिलाई गुमायौं । आज हाम्रो प्रतिवद्दता भनेको दाई पशुपति चौलागाईसंगै राजनैतिक संस्कार, संस्कृति, निष्ठा र आदर्श नगुमोस् भन्ने हो ।

जति गाडीका पाङग्रा घुम्दै थिए त्योभन्दा वढी मेरो मन घुमिरहेको थियो र सम्झनाका तरेलीमा उहाँसँगका संस्मरणहरुमात्र नाचिरहेका थिए । सिंधुली गढीसम्म आइपुग्दा विहानको ९ः३० वजेको रहेछ । हामी कहीं रोकिएका थिएनौ , जसरी विराटनगरदेखि सिन्धुलीसम्मको हाम्रो यात्रा एककोहोरो थियो, त्यसरी नै यात्रा अवधिभर मनमा उहाँसँगका सम्झनामात्र थियो । हामीविचका कुराकानी पनि उहाँका वारेमा मात्र थिए ।
हामी केही समयको आरम पछि सिन्धुलीलाई छोडेर अघि वढ्यौं । दाई रितबहादुरसंगै आएर हामीलाई कम्यनिष्ट शिक्षा सिकाउने राजनैतिक गुरु पशुपति दाईप्रति श्रद्धाको सिर झनै निहुरिरहन्छ । चुनावी अभियानसँगै प्रदेश सभाको नियमित सहकार्यको यात्रा सम्झदा कमरेडको सम्झनाले छाती झनै भक्कानिन्छ । आखिर जे नहुनु पर्ने हो त्यो त भई नै सकेको थियो । तर पनि उहाँको पार्थीव शरीरमा दुईथुंगा फूल चढाउने र अन्तिम श्रद्धासुमन प्रकट गर्ने इच्छा शक्तिका कारण हाम्रो यात्रा वेगवान थियो ।

भकुण्डेवेशी कटेपछि मैले विद्यार्थी नेता कल्याण दाहाललाई फोन गरें । उहाँले १०–१५ मिनेटसम्म आइपुग्दा भ्याउनु हुन्छ भन्नु भयो । हामीले गाडीको स्पिडलाई अलि वढायौं । मन जतिसुकै उडेपनि गाडीको क्षमताको आफ्नो सीमा थियो । त्यसलाई स्वीकार्नुको मसँग अर्को विकल्प थिएन ।
हामी पशुपतिमा पुग्दा झमझम पानी परिरहेको थियो । मन्दिर वरपर खोलाको वगरमा लासहरु जलिरहेका थिए । मानिसहरु आफन्तको वियोगमा आँशु पिउँदै, छट्पटिदै गरेको कारुणिक दृष्य देखिन्थ्यो । कोरोनावाट वच्न मास्क लगाएर सामाजिक दुरी कायम गर्ने प्रयत्न गरेतापनि असफल भए जस्तो देखिन्थ्यो । सायद उहाँहरुको भावात्मक आवेगका सामू कोरोनाको कहर र जीवनको रहर पनि फिक्का– फिक्का भएजस्तो लाग्थ्यो । हामीले वुझ्यौं दाईको अन्तिम संस्कार कहाँ हुँदै छ भनेर तर सकिएको थाहा पायौं । सबैजना फर्किसक्नु भएछ । बागमती निरन्तर वगिरहेको छ । पशुपतिको गजुर सदा झैं अटल र चमक नै देखिन्छ तर हाम्रो नेताको पार्थीव शरीर सदाको लागि त्यहीँ नै अलप भएको छ । मेरो मन भक्कानिन्छ, श्रद्धाका आँशु झरिरहन्छ, मैले सिन्धुलीदेखि ल्याएको उहाँप्रति समर्पित दुईथुङगा फूल त्यही वगिरहेको वागमतीमा समर्पण गरें । फूलसगैं उहाँसँगका सहकार्यका रहरहरु पनि त्यहीँ विसाएर घर फर्किए ।
वास्तवमा पञ्चायती निरध्र्कुशतासँग लडेका ती योद्धा, गरिवी, अभाव र सामाजिक विसंगतिसँग कहिल्यै नझुकेका ती मानव, आन्तरिक होस वा वाह्य सबैखाले प्रतिगमनसँग विजय भएका ती नेता अदृष्य भाईरससँग पराजित हुन पुगे । प्रकृतिको स्वाभाविक नियमानुसार भौतिक रुपले मृत्युवरण गरेर पनि सामाजिक निष्ठा र मूल्यमान्यताको अजम्बरी वनिरहेने ती अजम्बरी कमरेडप्रति श्रद्धासुमन ∕ अस्तु ।
(सन्दर्भः कमरेड पशुपति चौलागाईंको तेह्रौं पुण्य तिथि २०७८, जेष्ठ ९)

विशाल खड्का
वागमती प्रदेश सभा सदस्य

प्रतिक्रिया दिनुहोस्