कृषिमा जोड दिदैं धनकुटाको छथर जोरपाटी गाउँपालिका

कृषिमा जोड दिदैं धनकुटाको छथर जोरपाटी गाउँपालिका

राणा शासनदेखि पञ्चायतकाल र प्रजातन्त्रसम्मको पूर्वको प्रमुख प्रशासनिक केन्द्रको रुपमा धनकुटालाई चिनिन्छ । तर, धनकुटा सदरमुकाम नजिकै भएको छथर जोरपाटी गाउँपालिकामा सबैभन्दा ठूलो अभावनै भौतिक संरचानाको भएको छ । यही गाउँपालिकाबाट राज्य सञ्चालनको उपल्लो तहमा पुग्नेले पनि पूर्वाधार विकासमा त्यति ध्यान दिएनन् । त्यसैले आम जनताको पहिलो रोजाइ नै पूर्वाधार विकास भएको छ ।

स्थानीय तह निर्वाचनको समयमा नै स्वच्छ छवी भएका र इमानदार एवं विकासप्रेमी उम्मेदवार कहलिएका थिए छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बु । निर्वाचित भएसँगै आफूले सबैसँग विकास, सामाजिक न्याय लगायतका विषयमा सहकार्य गर्दै काम गर्ने बताएका थिए । अहिले लिम्बु यसैको पक्षमा लागिपरिरहेका छन् । ६ वटा वडा रहेको यस गाउँपालिकाका सबै वडामा अहिले बाह्रै महिना यातायात सञ्चालनका गर्नका लागि सडक पुगेको छ भने सबै वडामा बिजुली विस्तार भइसकेको छ । अहिले चारवटा वडालाई छुँदै जाने रिङरोडको अवधारणाअनुसार सडकलाई कसरी निर्माण गर्दा धेरैभन्दा धेरै नागरिक र त्यहाँको विकासमा सहयोग पुग्छ भन्ने कुराका साथ काम भइरहेको लिम्बु बताउँछन् ।
ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने कृषि सडकको स्तरोन्नतिमा गाउँपालिकाले विशेष ध्यान दिएको छ । तरकारी उत्पादन र दूध उत्पादनको हिसाबले पकेट क्षेत्र रहेको यो गाउँपालिकाले आफ्नो स्रोतले भ्याएसम्म र आफ्नो स्रोतले नभ्याएको अवस्थामा अन्य स्रोतको खोजी गरेर तरकारी र दूध उत्पादन बढाउने बजारीकरण गर्नेदेखि लिएर किसानलाई सहयोग गर्ने विषयमा कुनै कसर बाँकी नराखेको गाउँपालिका अध्यक्ष बताउँछन् । आर्थिक अभावका कारण व्यवसाय गर्न नसकेकाहरूलाई लक्षित गर्दे शोधभर्ना सापटीमार्फत रकम उपलब्ध गराएको छ । जसमा खाद्य, मसलाजन्य खेतीका लागि एक वर्ष र पशुपालन फलफूल खेतीका लागि तेस्रो वर्षपछि तीन किस्तामा ५ वर्षभित्र रकम फिर्ता गर्ने गरी सापटी रकमको योजना गाउँपालिकाले ल्याएको छ । गाउँपालिकाभित्र रहेका फलफूल उत्पादन क्षेत्रहरूको पहिचान गरी कुन स्थानमा कुन जातीका फलफूल उत्पादन गर्न सकिन्छ भन्ने योजना बनाई ति क्षेत्रका किसानलाई फलफूलका बिरुवा उपलब्ध गराएको छ । बाँझो जग्गालाई कसरी व्यवस्थापन गर्न सकिन्छ र किसानले समेत बाँझो छोडेका जग्गालाई उपयोग गर्न र त्यस्ता जग्गाबाट केही न केही आयआर्जन गर्न प्रोत्साहित गर्नेका लागि सय मुरी धानका लागि २० हजार सम्मान, पचास मुरी मकैलाई २० हजार तथा सय टन तरकारी २० हजार पुरस्कार जितौंजस्ता पुरस्कारसहित कार्यक्रम सञ्चालन गरेको छ ।

कृषि क्षेत्रका लागि १ करोड ३९ लाख बराबरको बजेट विनियोजन गरेको छ भने पशुपालनतर्फ समेत यवालाई लक्षित गर्दे विभिन्न कार्यक्रम ल्याएको छ । घरेलु तथा साना उद्योग लाई समेत प्रोत्साहन गरेको छ भने संघीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको नीतिअनुसार उद्योग मन्त्रालयको वहुवर्षीय योजनाअन्तर्गत गाउँपालिकाले आफ्नो पालिकाको दुर्गम क्षेत्र मानिएको वडा नं। ३ को सिंभुवा गाउँमा औद्योगिकग्रामको निर्माणको काम सुरु छ । अत्यधिक बसाइसराईको समस्या रहेको र बसाइँसराई गर्ने संख्या बढ्दै गएपछि गाउँपालिका भित्र बसाइँसराई गरेर आउने परिवारलाई लैनो गाई दिने योजनासमेत गाउँपालिकाले ल्याएको छ ।

पर्यटन क्षेत्रका लागि यस गाउँपालकाभित्र रहेका सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक पर्यटकीय क्षेत्रलाई एकीकृत रूपमा विकास गर्दै यस्ता स्थानको प्रचारप्रसार भौतिक संरचना निर्माण लगायतका कामलाई प्राथमिकतामा राख्दै काम गरिरहेको छ । गाउँपालिकाले आफ्नो भवन निर्माणको काम समेत अन्तिम चरणमा पुगेको जनाएको छ । पूर्वाधार विकासमा स्थानीयलाई सहभागी गराउन र स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नका लागि डोजर नचलाऊँ झ्याम्पल बढाऊँ पाखुरी चलाऊँ पैसा रूपैयाँ कमाऔंजस्ता कार्यक्रम ल्याइ काम गरिरहेको अध्यक्ष लिम्बुको भनाइ छ ।

छथर बृहत् खानेपानी र सिँचाइको अवधारणालाई अगाडि बढाए पनि गाउँपालिकाको रकमले मात्र सम्भव नहुने भएकोले यसका लागि प्रदेश र संघीय सरकारको सहयोग माग गरिरहेको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको असर छथर जोरपाटी गाउँपालिकालाई पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न गाउँपालिका सफल भएको छ ।
कोरोना माहामारीमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । यसले पनि गाउँपालिकाको प्रभावकारी योजना र चुस्तदुरुस्त व्यवस्थापनलाई झल्काउदछ । आगामी दिनमा नगरवासीहरुको हित र अपेक्षालाई मध्यनजर गर्दै बिकास निर्माणमा खनियाबास गाउँपालिकालाई अगाडि बढाउने अध्यक्ष लिम्बुको योजना छ ।

प्रतिक्रिया दिनुहोस्