कोरोनाका कारण संन्तोषजनक काम गर्न सकिएनः वडाध्यक्ष थापा

कोरोनाका कारण संन्तोषजनक काम गर्न सकिएनः वडाध्यक्ष थापा

गुल्मी । हाल महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाइरहेको छ । यस महामारीको असर नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको छ । छिमेकी देश भारतमा संक्रमण डरलाग्दो रूपमा बढेको हुनाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि बढ्दै गएको देखिन्छ । नेपालका तीनै तहका सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण हुन्छ ।

गुल्मीको सत्यवती गाउँपालिकाको वडा नंं ८ मा कोरोना भाइरस प्रभाव हाल सम्म परेको छैन । वडामा हालसम्म १ जना पनि संक्रमित नरहेको तर पनि भविष्ण्मा आउन सक्ने जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिरहेको वडा अध्यक्ष सन्त कुमार थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाल हाम्रो वडामा एकजना पनि कोरोना संक्रमित छैनन् । अहिलेको अवस्थामा बाहिरबाट आउने व्यक्तिहरु त्यति छैनन् केही दिन अगाडि भारतबाट आएको २ जना लाहुरे थिए उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ ।’ उहाँले बाहिरबाट आउने व्यक्तिहरुलाई वडाले ४ वटा क्वारेन्टाइनको व्यवस्था समेत गरेको बताउनुभयो ।

कोरोनाबाट बच्न वडामा विभिन्न कार्यक्रमहरु गरिरहेको उहाँले बताउनुभयो । स्वास्थ्यकर्मी, स्वयंसेविकामार्फत चेतना दिने काम भइरहेको छ भने मास्क, स्यानीटाइजर आदि वितरण पनि वडाले गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी यस पदमा बस्नु नै जनताको काम गर्नको लागि हो अब सबैको चित्त बुझाउन त गाह्रै हुन्छ समग्रमा भन्नु पर्दा यहाँका वडाबासी सन्तुष्ट नै छन् । यस्तो महामारीसँग जुधिरहनुपरेको छ । चुनौतिको सामना गरेर अगाडि बढिरहेका छौँ । ’

कोभिड १९ ले गर्दा सोचेजस्तो कामहरु हुन नसकेको थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महामारीले गर्दा निकै गाह्रो भएको छ सोचे अनुसारका विकास निर्माणका कामहरु गर्न पाएको छैन । विशेष गरेर स्वास्थ्य, शिक्षा र कृषिलाई अगाडि बढाउने योजना छ ।’ उहाँले सम्पूर्ण नेपालीलाई कोरोनाबाट बच्न विभिन्न किसिमका सावधानी अपनाउन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्