जुवाडेमाथि चलाएको अपरेशनका क्रममा भागदौड हुँदा दुई जनाको मृत्यु

जुवाडेमाथि चलाएको अपरेशनका क्रममा भागदौड हुँदा दुई जनाको मृत्यु

असोज २०, काठमाडौंको मुलपानीमा गएराति प्रहरीले जुवाडेमाथि चलाएको अपरेशनका क्रममा भागदौड हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ छन् ।

गोप्य सूचनाको आधारमा काठमााडौं प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) होमेन्द्र बोगटीको नेतृत्वमा खटिएको टोली जुवा खेलाइराखिएको घरमा पुग्ने वित्तिकै भागाभाग भएको थियो । त्यसक्रममा झ्यालबाट हाम फाल्दा दुर्इ जनाको मृत्यु भएको हो ।

‘३ तले घरमा भित्र छिर्ने वित्तिकै एउटा चेन गेट रहेछ । त्यहाँ प्रहरीले चाबी खोलेर भित्र जान खोज्दा जुवाडेले हाम्रो टोली आएको चाल पाए’, परिसरका प्रमुख एसएसपी वसन्त लामाले अनलाइनखबरसँग भने, ‘त्यसपछि त्यहाँ भागाभाग भएको थियो । त्यही क्रममा तेस्रो तलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको हो ।’

घर बाहिर रहेको सादा पोशाकका प्रहरीले दुई जना व्यक्तिले हामफालेको चाल पाएलगत्तै उनीहरुलाई प्रहरीको भ्यानमा हस्पिटलसम्म लगिएको थियो । तर, ग्वार्कोस्थित विएण्डबी हस्पिटलमा उपचारको क्रममा उनीहरूको राति नै मृत्यु भयो ।

२३ जना पक्राउ, नाइके फरार ! प्रहरीले जुवाको खालबाट २३ जनालाई पक्राउ गरिएको जनाएको छ । उनीहरुको साथबाट ४ लाख ४८ हजार रुपैयाँ पनि बरामद भएको छ । थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्