बझाङका नारीलाई किन बन्यो ? महिनावारी अभिषाप !

बझाङका नारीलाई किन बन्यो ? महिनावारी अभिषाप !

असार २५, लोकण्डमा महिनावारी हुँदा महिलाहरुलाई गरिने व्यवहार अत्यन्तै निर्मम छ । ‘छाउपडी’लाई ठूलै सरुवा रोग लागेको बिरामीलाई जस्तै व्यवहार गरिन्छ । कतिपय मान्छे छाउपडी हिँडेको बाटो पनि हिँड्दैनन् र गाई वस्तुलाई समेत हिँडाउँदैनन् ।

अनमी अनिताले छाउ गोठमा बस्नुपर्दा रातभर निदाउन नसकेको अनुभव सुनाइन् । ‘एक रात काट्न त यति गाह्रो भयो भने यहाँका महिला हरेक पटक महिनावारी हुँदा छाउगोठमा कसरी बस्दा होलान् ?’ अनिताले प्रश्न गरिन् ।

देउता रिसाउने र अनिष्ट हुने अन्धविश्वासमा लोकण्डवासी छाउ बार्न गाउँबाट टाढा जान्छन् । छाउ भएकी मात्रै होइन, सुत्केरी भएका महिलाले समेत जंगलमा बनाइएका कटेरामा बस्नुपर्ने बाध्यता छ यहाँ । चिसो र संक्रमणका कारण कतिपयले नवजात शिशु नै गुमाएका छन् ।

७ दिनको नवजात छोरालाई छाउ गोठमा छोडेर नुहाउन गएकी जलादेवी रोकायाले नुहाएर फर्किदा छोरो भेटाइनन् ।

जंगलभरी खोज्दा खोल्सामा हड्डीको सानो टुक्रा मात्र भेटियो । बच्चालाई जंगली जनावरले खाइसकेको रहेछ ।

यो घटना ८ वर्ष अघिको हो । २०६६ सालमा १२ दिनकी नवजात छोरीलाई छाउ गोठमै छोडेर गहुँ काट्न गएकी पिउली रोकायाले त्यसरी नै सन्तान गुमाउनु पर्‍यो । ‘बाघले खायो कि, भालुले केही थाहा भएन,’ १२ दिनकी छोरी गुमाउँदाको पीडा सुनाउँदै पिउलीले भनिन्, ‘छोरीको लाशसमेत भेटिएन ।’

 

प्रतिक्रिया दिनुहोस्