नागरिकका इच्छा पूरा गर्ने प्रयासमा दाङको राप्ती गाउँपालिका

नागरिकका इच्छा पूरा गर्ने प्रयासमा दाङको राप्ती गाउँपालिका

दाङको राप्ती गाउँपालिका कृषि क्षेत्रका लागि उत्तम मानिन्छ । कृषिका लागि उत्तम भएकै कारण अहिले सबै वडामा कृषिका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । कृषकलाई तालिम तथा ब्यवसायीक खेतिको लागि अग्रसर गराईरहेको, पछिल्लो समय केन्द्र सरकार , प्रदेश सरकार तथा स्थानिय सरकारले कृषि क्षेत्रका लागि बजेट छुट्याएको छ । राप्ती गाउँपालिकामा सिंचाईको राम्रो ब्यवस्था तथा वीउमलको प्रयाप्तताको लागि केन्द्र तथा प्रदेशमा समेत माग गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले बताए । राप्ती गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि र कृषकको अबस्था सुधारका लागि एक करोड ३० लाख बढि बजेट बिनियोजन गरेको उनले बताए । प्रस्तुत छ, गाउँपालिका अध्यक्ष सुवेदीसँग गरिएको कुराकानिको सम्पादित अंश ।

संविधानप्रदत्त अधिकार कसरी कार्यान्वयन गरिरहनुभएको छ ?
संघीयताको मर्मअनुसार स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको स्थापना भएसँगै नागरिकको एउटा ठूलो आशा र भरोसाका रूपमा तीनै तहमा जनप्रतिनिधि आएसँगै नागरिकले आफ्नो सरकारको अभिभावकत्वका रूपमा स्थानीय सरकारलाई लिँदै समाजका हालसम्म भएगरेका हरेक क्रियाकलापलाई अब सहज र सरल बनाउन सहयोग गर्छ भन्ने आशा बोकेको अवस्था छ । जनप्रतिनिधिको जिम्मेवारी प्रारम्भिक चरणमा कठिन अवस्थामा रहेको थियो । नागरिकका धेरै आशा तथा आकांक्षाहरूको सम्बोधन गर्न सहज अवस्था हुन्छ कि हुँदैन भन्ने भावना सबै जनप्रतिनिधिले राखेकै हुन्, तर पनि हाम्रो राप्ती गाउँपालिकामा हामीले सबै जनप्रतिनिधिको साथ, सहयोग र सहकार्यमा नागरिकका इच्छा, चाहना पूरा गर्न हरदम लागिपरेर सम्भवतः नागरिकका शिक्षा, स्वास्थ्य, रोजगारी, विकास–निर्माण तथा सुशासनका विषयमा मागहरू पूरा गर्दै गयौं । हाल हामीले धेरैभन्दा धेरै नागरिकका चाहनाअनुसार हरेक खालका मागहरू पूरा गर्दै आएका छौं र अझै पनि गाउँपालिकाको मूल नाराअनुसार उद्देश्य पूरा गर्न काम गर्दै गइरहेका छौं ।

गाउँपालिकाले अवलम्बन गरेका नीतिहरूबारे संक्षिप्तमा प्रस्ट पारिदिनुस् न ।
यस गाउँपालिका सुगमका साथै दुर्गम भौगोलिक अवस्था छ । विभिन्न जातजाति बसोबास गर्ने नेपालकै धेरै जनसंख्या भएको गाउँपालिका हो । नागरिक र क्षेत्रको विकासका लागि धेरै खालका आवश्यकता रहेका छन् । तसर्थ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई आधार मानेर हामीले बजेट विनियोजन गर्दै आएका छौं । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत अन्य विविध पक्षलाई समेत अघि बढाइरहेका छौं । कुनै पनि काम गर्न सबैको सहयोग आवश्यक हुँदा स्थानीय नागरिक, स्थानीय राजनीतिक दल, स्थानीय संघसंस्था, विभिन्न कार्यालय, तीनै तहका सरकारसँगको समन्वयात्मक नीतिका कार्यहरू अघि बढाइरहेका छौं ।

ती नीति कार्यान्वयनमा के–कस्ता चुनौतीहरू छन् ?
देश संघीयतामा गइसकेपछि नागरिकलाई धेरै हक र अधिकार प्रत्यायोजन गरिएको छ । नागरिकहरूले आफ्ना हकअधिकारबारे धेरै बुझ्नुभएको छ । आआफ्नो समाजको, आफ्नो परिवारको हकअधिकार र विकासका लागि एकता, समन्वय र एकजुट भएर लाग्न थाल्नुभएको छ । तर जुन मर्मअनुसार स्थानीय सरकारको स्थापना भयो, जनप्रतिनिधि निर्वाचित हुनुभयो त्योअनुसार काम गर्न समस्या रहेका कारण नीति तथा कार्यक्रम पूर्ण रूपले कार्यान्वयन गर्न केही मात्रामा कठिन रहेको छ । चाहना धेरै भएसँगै आवश्यक बजेटको अभाव, करमा कम असुली र पछिल्लो समय अनैतिक राजनीतिक विरोध र रोकावटका कारण लिएको नीतिअनुसार काम गर्न पनि समस्याहरू देखा पर्ने गरेका छन् । राजनीतिक पूर्वाग्रहभन्दा पनि राम्रो कामका लागि सहयोग हुन जरुरी छ । यसले गाउँपालिकाको विकासमा सहयोग पु-याउनेछ ।

खास गरी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रमा के–कस्ता काम भएका छन् ?
नागरिकको चाहना पूरा गर्न पालिकाद्वारा विभिन्न शाखा, उपशाखाहरू यहाँका कर्मचारी तथा जनप्रतिनिधिले गाउँपालिकाले लिएको नीतिअनुसार बजेट विनियोजन गरी काम गर्दै आइरहेको छ । खास गरी शिक्षामा हामीले विद्यालयका हरेक पक्षमा चासो र सहयोगको वातावरण बनाएका छौं । विद्यालयमा शिक्षकदेखि भौतिक पूर्वाधार पु-याउँदै विद्यार्थीको शैक्षिक प्रगतिका लागि आवश्यक मापदण्डलाई टेकेर योजनाबद्ध तवरले काम थालिरहेका छौं । विद्यालयको प्रगति, उपलब्धिलाई संस्थागत गर्न जोड दिएका छौं । विषयगत शिक्षकका लागि व्यवस्था मिलाइरहेका छौं । स्वास्थ्यतर्फ यस गाउँपालिकामा रहेका दुईवटा स्वास्थ्यचौकी, तीनवटा स्वास्थ्य एकाइमा पर्याप्त स्वास्थ्यकर्मीको व्यवस्था गरी स्वास्थ्यसेवा दिइरहेका छौं । यस क्षेत्रको मानवीय चापलाई आधार बनाएर स्वास्थ्य संस्थामा औषधिदेखि स्वास्थ्य सामग्रीको व्यवस्थापनमा लागिरहेका छौं ।
गाउँपालिकामा प्राथमिक स्वास्थ्य सेवा जनताको मौलिक अधिकार भएकाले विभिन्न उपचारात्मक, प्रवद्र्धनात्मक र प्रतीकारात्मक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरी गुणस्तरीय सेवा प्रदानमा जोड दिइएको छ । साथै सरुवा रोग नियन्त्रणका लागि विभिन्न उपायहरू अवलम्बन गरिएको छ । स्वास्थ्य संस्थामा संस्थागत प्रसूतिलाई प्रोत्साहन गर्दै शून्य होम डेलिभरी घोषणा गरी कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थामा प्रसूति भएकालाई उपाध्यक्ष कोसेली कार्यक्रम सुरु गरेका छौं । स्वास्थ्यतर्फ नै निजीस्तरमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रचलित ऐन–नियमअनुसार कार्यविधि बनाई संस्था दर्ता तथा नवीकरण गर्ने कार्य गरिएको छ । स्वास्थ्य संस्थाको निःशुल्क औषधि उपचारका लागि सूचीकृत औषधिहरूको अभाव हुन नदिने व्यवस्था मिलाइएको छ । निःशुल्क स्वास्थ्य शिविर, खोप क्लिनिक, गाउँघर क्लिनिकलाई थप प्रभावकारी रूपमा सञ्चालन गरी स्वास्थ्य सूचकमा वृद्धि गरिनेछ र पूर्ण खोपलाई निरन्तरता दिँदै एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्सहरूको भाडादरमा एकरूपता ल्याई गाउँपालिका क्षेत्रभित्रका सरकारी स्वास्थ्य संस्थाद्वारा सञ्चालित एम्बुलेन्सलाई सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराउँदा एम्बुलेन्स भाडामा छुटको व्यवस्था थालिएको छ ।
कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण गरी रोजगारी र आय वृद्धि गरी राप्ती गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने व्यवस्था थालिएको छ । अर्गानिक खेतीमा जोड दिई विस्तारै विषादीमुक्त क्षेत्र बनाउने व्यवस्था थालिएको छ । कृषक समूह, फर्म तथा सहकारीमा आबद्ध व्यवसायी कृषकहरूलाई उन्नत बीउबिजन, फलफूलका बिरुवा, च्याउको बीउ, कृषि औजार आदिमा अनुदान दिई प्रोत्साहन दिइएको छ । राप्ती नदीको किनारमा खेर गइराखेको जमिनमा बगर खेती गरी जमिन सदुपयोगको काम सुरु भएको छ । कृषि प्रसारको माध्यमबाट कृषि पेसालाई सम्मानित र आकर्षक बनाई कृषिमा निजी क्षेत्रको लगानी प्रोत्साहन गरिँदै आएको छ । दुर्गम र पिछडिएका बस्तीमा बेमौसमी तरकारी तथा फलफूल खेतीमा प्रोत्साहन गरिएको छ, जसले गर्दा नागरिकहरूको आयस्तर बढाउने र जीवन स्तरोन्नति हुने अपेक्षा लिएका छौं । गाउँपालिकाभित्रको विभिन्न स्थानमा माटो परीक्षण गराई माटो सुधारको कार्यक्रम सञ्चालन गर्न थालिएको छ । गाउँपालिकाले कृषिमा सहयोग गरेर बेरोजगार रहेकालाई कृषिमा नै रोजगारी प्रदान गर्न सकियोस् भनेर अगाडि बढेको छ । पछिल्लो समय कृषि क्षेत्रमा आकर्षणसमेत बढ्दै गएको छ ।
राप्ती गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रहरूको पहिचान गरी पर्यटकीय पूर्वाधारहरूको निर्माण गर्ने नीति अवलम्बन गरी गाउँपालिकाभित्र रहेका धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूको विकासमा लागिरहेका छौं । गाउँपालिकामा रहेका खड्केश्वरी मन्दिर, देवीकोटमा रहेको भद्राक्षीदेवी मन्दिर, खौराह बाबा मन्दिर, सिसहनियास्थित वि.सं १७२५ मा स्थापना भएको शिव मन्दिर, रामघाटको रामजानकी मन्दिर, देवीकोट मस्जिदको गुरुयोजना निर्माण गरी क्रमिक रूपमा विकास गरिँदैछ । त्यसै गरेर हर्सेडाँडा तथा वसन्तपुरको स्वीजरल्यान्ड पार्क निर्माण तथा व्यवस्थापनलाई निरन्तरता दिइएको छ, जसले गर्दा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने सकिनेछ । पर्यटकीय क्षेत्रका रूपमा विकास भएपछि यस क्षेत्रको विकासमा समेत सहयोग पुग्नेछ, जसबाट नागरिकहरूको आर्थिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा लिएका छौं ।

आन्तरिक आम्दानीको स्रोत कसरी परिचालन भएको छ ?
विकाससँगै आम्दानी र खर्च दुवै जोडिएर आउँछ । ठूला उद्योगहरू रहेका छैनन्, अन्य आम्दानीका स्रोतको पनि कमी भएकाले धेरै आम्दानी हुँदैन । आम्दानीको स्रोत मुख्य गरी केन्द्रीय रकम, प्रदेश रकम, मालपोत, विभिन्न कर, दस्तुर, जडिबुटीजन्य पदार्थको बिक्री–वितरणलगायतका रहेका छन् । तर पनि अझै केन्द्रीय सरकारको नीतिअनुसार करको दायरा फराकिलो पार्दै नागरिकसँग विभिन्न आम्दानीका स्रोतको कर लिनुपर्ने देखिन्छ । यसका लागि काम, व्यवसाय हुनेले र गर्नेले कर तिर्नुपर्छ भन्ने भावनाको विकास गर्न हाम्रो तर्फबाट प्रयास भइराखेको छ ।

कर्मचारी र जनप्रतिनिधिहरूको द्वन्द्वले अपेक्षित काम हुन नसकेको भन्ने छ नि ?
नेपालको संविधानबमोजिम स्थानीय निर्वाचनमा निर्वाचित भई नागरिक तथा स्थानीय क्षेत्रको सेवाका लागि तत्परताका साथ काम गरिरहेका छौं । नेपालको संविधान, अनुशासन, नैतिकताको ख्याल गरेर सबैले काम गर्दै जाने हो भने सबै राम्रो हुन्छ । हाम्रो यहाँ हालसम्म त्यस्तो अनुशासन र कर्तव्य बिर्सने प्रतिनिधिहरू र कर्मचारी नआएको हुँदा जिम्मेवारीपूर्वक काम भइरहेको छ । नागरिकको सेवा गर्ने भनेर आएकाले किन विवाद गर्नु र त्यसैले जनप्रतिनिधि र कर्मचारीहरू भएकाले कुनै समस्या रहेको छैन । सबैबीच सुमधुर सम्बन्धका साथ काम भइरहेको छ । अन्यत्र पनि सौहार्दपूर्वक काम हुन आवश्यक रहेको मेरो बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्