ठाँटीकाँध गाउँपालिकालाई ५ बर्ष भित्र समृद्ध बनाउछौं :अध्यक्ष शाही

ठाँटीकाँध गाउँपालिकालाई ५ बर्ष भित्र समृद्ध बनाउछौं :अध्यक्ष शाही

कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका प्राकृतिक सम्पदा, साधन स्रोतमा सम्पन्न भएर पनि आर्थिक रूपले कमजोर रहेको छ। जल, जमिन, जंगल, जडिबुटी, जंगली जनावर, एवं उर्वर भूमि रहेको यो गाउँपालिका पूर्व, पश्चिम, उत्तर, दक्षिण गोलाकार भूधरातल भएकोे गाउँपालिका हो। यस गाउँपालिकाको उत्तरी क्षेत्रमा रहेको वन जंगलका कारण पानीका प्रशस्त स्रोतहरू, जडिबुटी, जंगली जनावर तथा नीलम पाइनुका साथै स्याउ खेती र अलैँची, खेतीको संभावनासमेत रहेको छ। लेकाली क्षेत्रमा पाइने नीलम ढुंगा र जौचौरमा भएको तामाखानी एवं तिरुवा टोलको फलाम खानीको उत्खनन् गर्न सकेमा ठाँटीकाँध गाउँपालिका मात्र होइन, दैलेख जिल्ला र सिंगो प्रदेश अनि नेपालकै आर्थिक अवस्था सुधारमा टेवा पुग्ने संभावना बोकेको गाउँपालिकामा पर्छ ठाँटीकाँध। प्रस्तुत छ दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीसँग गरिएको कुराकानीको सम्पादित अंश।

ठाँटीकाँध गाउँपालिका तपाई निर्वाचित भएर आएपछि के के कामहरु गर्नुभयो ?

समृद्ध ठाँटीकाँध गाउँपालिका बनाउने हाम्रो याजना छ । सोही योजना अनुसार अहिले धेरै कामहरु भएक छन । गाउँपालिकाका अधिकांश नागरिकहरु कृषिमा निर्भर रहेकोले कृषि पशुपालनमा बिषेश जोड दिएर काम गरिएको छ । कृषिमा हरेक वडालाई त्यहाँ उत्पादन हुने कृषि अनुसार पकेट क्षेत्र घोषणा गरिएको छ । कृषिमा एक घर एक करेसाबारी तरकारी खेती गर्ने गरी बिउको व्यवस्था मिलाएका छौँ। कर्मचारी अभावका कारण हामीले समूह गठन गरेका छौँ। तरकारीमा मानिस आत्मनिर्भर होस्, पोषणको पनि कमी नहोस्, घरमा हरियाली पनि बनोस् भन्ने उद्देश्यले काम गरेका छौँ। कृषि र पशुलाई माथि उठाउन सकियो भने आर्थिक अवस्थामा सुधार हुन्छ। खानपानमा पनि सुधार हुन्छ भन्ने हाम्रो सोचाइ छ।कृषि, पशु, शिक्षा, स्वास्थ्य, खानेपानीमा पनि ध्यान दिएका छौँ।
स्वास्थ्यमा अलिकति व्यवस्थित गर्ने हिसाबले हामी लागिपरेका छौँ। गाउँपालिकाको केन्द्र सम्म सम्पुर्ण वडाहरुलाई जोड्ने सडकको निर्माण र स्तरोन्नतीको काम पनि भइरहेको छ । ति सडकहरुमा बाह्रै महिना गाडि चल्न सक्ने गरि पुर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाको हाता भित्र रहेको बिभिन्न मठमन्दिर र पर्यटकिय स्थलहरु संरक्षण गरि ति स्थानहरुम मोटरबाटो पुर्याउने काम पनि भइरहेको छ । गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको पहिचान गर्ने काममा पनि लागेका छौँ। गाउँपालिका र वडा तह लागेर विद्यालयलाई व्यस्थित बनाउन र विद्यालय शिक्षामा सुधारका लागि हामीले योजना बनाइरहेका छौँ। गाउँपालिकाको पहलमा ७ वटै वडामा हाईस्कुल स्थापना गरिएको छ । बिद्यालयहरुमा शिक्षकको दरबन्दि ब्यवस्थापन गरिएको छ । स्वास्थ्यको क्षेत्रमा १५ शैयाको अस्पतालको शिलान्यास गरि निर्माणको काम अघि बढेको छ । ठाँटीकाँध गाउँपालिकामा सबैभन्दा ठूलो समस्या खानेपानीको छ। खानेपानिको ब्यवस्थापनमा पनि गाउँपालिका लागि परेको छ ।

ठाँटीकाँध गाउँपालिकाको विकासका लागि यहाँको गाउँपालिका बाह्य स्रोतमा निर्भर छ कि आन्तरिक स्रोत पनि छ ?

हाम्रो गाउँपालिकामा अहिले कम मात्रामा आन्तरिक स्रोतहरू छन् तर संभावना प्रशस्त रहेका छन्। गाउँपालिकाभित्र बहुमूल्य खानीहरू छन्। ती खानीहरूलाई व्यवस्थित गर्न हामी यो वर्षबाट लागेका छौँ। बहुमूल्य ढुंगाको अवैध कारोबार भइरहेको छ। यसलाई व्यवस्थित बनाउने तयारी छ। तामा खानी भएको प्रमाणित नै भइसकेको छ। बुढापाकाहरूले तामाको ढलोट ल्याएर तामाका भाँडाकुँडा बनाएका उदाहरणहरू बुढापाकाहरूसँग छ। तर कति मात्रामा छ, यसको विस्तृत अध्ययन र अनुसन्धान गर्नेबारेमा सोचेका छौँ। यसले पक्कै पनि गाउँपालिकाका मात्र होइन, जिल्ला र राष्ट्रकै आर्थिक अवस्था सुधारमा टेवा पुग्ने देखिन्छ।

गाउँपालिका समृद्धिका लागि गाउँपालिकाका संभावनाहरू केके हुन् र तिनीहरूको पहिचान गर्नुभएको छ कि छैन ?

हामीसँग एउटा बहुमूल्य सिलेट खानी छ। वन, जंगल पर्याप्त मात्रामा छ। गाउँपालिकाभित्र फलफूल खेतीको त्यतिकै संभावना छ। पर्यटकका लागि त्यतिकै मात्रामा उल्लेखनीय ठाउँ छन्। सुन्दर भूभागहरू छन्। विशेष गरेर कृषि क्षेत्रलाई नै अगाडि बढाउने सोचिरहेका छौँ। पूर्वाधारका हिसाबमा हामीले यस वर्ष सडकमा बढी खर्च गरेका छौँ। यस वर्ष मात्रै हामीले पूर्वाधारको काम सक्यौँ भने आगामी वर्षबाट ठाँटीकाँध गाउँपालिकाका आमजनताको जीवनस्तर माथि उठाउने हाम्रो सोचाइ छ। पर्यटनको हिसाबले हाम्रा भूभागहरू त्यतिकै सुन्दर छन्। आर्थिक सुधारमा अगाडि बढेको छ। मैले माथि भनेअनुसारका संभावना छन् र तिनको पहिचान गरेर अगाडि बढिहेका छौँ।

ठाँटीकाँध गाउँपालिकाको अहिले जल्दोबल्दो समस्या के छ ?

दैलेख जिल्लाको पश्चिममा छाउपडी प्रथा भएका कारण गाउँपालिकाले त्यससम्बन्धी जानकारी गर्न र स्थानीय धामी झाँक्रीलाई समेत प्रशिक्षण दिएर त्यस प्रथाको न्यूनीकरणका लागि आवश्यक बजेट विनियोजन गरी कार्यान्वयनको चरणमा छौँ। पछिल्लो समयमा बालविवाह बढ्दो क्रममा छ। त्यसका लागि हामीले विद्यालयस्तरमा सचेतनाका कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ। सामाजिक समस्याको रूपमा मुख्य कुरा त घरेलु मदिरा उत्पादन थियो। पहिलो गाउँसभाबाटै व्यवस्थित गरी नियन्त्रित गर्ने र त्यसलाई जथाभावी प्रयोग गर्न दिने किसिमले हामी लागेका छौँ। हामीले महिला समूह गठन गरेका छौँ। त्यसबाट पनि समाजमा केही परिवर्तन र सहयोग पुगेको छ।

गाउँपालिकाले करोडौँ लगानी गरेका सडकहरूमा अहिले गाडी गुड्न निकै सकस हुने गरेको छ, यसको दीर्घकालीन विकासका लागि यहाँहरूको योजना के छ ?

ठाँटीकाँध गाउँपालिकामा राष्ट्रियस्तरका सडक छुँदैन। हाम्रो गाउँपालिका कर्णाली राजमार्गले पनि छुँदैन। मध्यपहाडी राजमार्गले पनि छुँदैन। अरू गाउँपालिकामा कुनैकुनै सडकले छोएका छन्। हाम्रोले छोएको छैन तर पनि हामीले गत वर्ष मात्रै सुरु गरेको रामघाट–ठाँटीकाँध–सिंगासैन सडकमा पैसा विनियोजन गरेर सडक खनेका छौँ। १५–१६ सय मिटर चट्टान भएको भूभागबाहेक अरू सडक हामीले खनेर अहिले पनि गाडी गुडिरहेको छ। कुनै ठाउँमा बलौटे खालको चिप्लो माटो छ। रातो माटो छ। त्यस्ता ठाउँमा हामीले आठ मिटरको सडक बनाएका छौँ। धेरै ठाउँमा त हामीले चट्टान काटेर सडक खन्यौँ, जसका कारण वर्षातमा पनि सहज यातायात सुरु भएको छ। तीन मिटरको सडक अहिले आठ मिटरको बनाएका छौँ। गत वर्ष बजेटको अभाव थियो। ११ किलोमिटर बाटो ५६ लाख रुपैयाँमा हामीले निर्माण गर्‍यौँ। त्यो बाटोको नालीसहितको आठ मिटर छ। आगामी वर्षहरूबाट यस्तो किसिमको दुःख पाउने अनि गाडी नै चल्दैन भन्ने अनावश्यक हल्लाको अन्त्य हुन्छ।

यहाँको घोषणापत्रमा त नमुना ठाँटीकाँध बनाउँछु भन्नुभएको थियो, त्यो प्रतिवद्धता सम्झनुभएको छ कि बिर्सिनुभयो ?

ठाँटीकाँध गाउँपालिका नमुना बनाउने हो। अहिलेको अवस्था र हाम्रो कार्यकालको अन्त्यको अवस्था हेर्ने हो भने बल्ल यस्तो कुराको विश्लेषण हुन्छ। कतिपय राम्रा नीति बनाउँदा र काम गर्दागर्दै विरोधका नाममा विरोध गर्नेहरू पनि छन्। उहाँहरूलाई राम्रा काममा साथ दिन र गलत काममा खुलेरै खबरदारी गर्न म आग्रह गर्छु। अब मान्छेको जीवनस्तरमा सुधार गरिन्छ। शिक्षामा सुधार गरिन्छ। स्वास्थ्यमा सुधार गरिन्छ। सडकहरूमा सुधार हुन्छ। कृषिमा सुधार हुन्छ अरू व्यवसाय र कुराहरूमा पनि सुधार हुन्छ। सामाजिक क्षेत्रमा पनि सुधार हुन्छ। यी क्षेत्रमा सुधार भएको महसुस हुने गरेर हामीले योजना बनाएका छौँ। अरूले के भन्यो, त्योसँग मतलब गर्ने विषय होइन। हामीले के गर्‍यौँ भन्ने कुरासँग हामीले मतलब गर्छौं। भूगोलका कारणले ठाँटीकाँध गाउँपालिका दैलेखका सबै गाउँपालिकामध्ये विकट गाउँपालिका हो। हाम्रो कार्यकाल सकिँदा सबै वडासम्म सहजै पुग्ने वातावरण बनाउने, शिक्षा स्वास्थ्य र रोजगारीका अवसर सिर्जना गर्नेछौँ, त्यसपछि परिवर्तन भएको देखिनेछ।

कोरोना माहमारी गाउँपालिकाले के के कामहरु गर्यो र आगामि दिनमा कसरि अघि बढ्ने योजना छ ?

विश्वभर फैलिएको कोरोना महामारीको असर ठाँटीकाँध गाउँपालिकामा पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न गाउँपालिका सफल भएको छ । कोरोना माहामारीमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । आगामी दिनमा ठाँटीकाँध गाउँपालिकावासीहरुको हित र अपेक्षालाई मध्यनजर गर्दै विकास निर्माणको काममा अघि बढ्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्