पर्वतका सबै स्थानीय तहमा उद्यमीको खोजी गरी तालिम संचालन

पर्वतका सबै स्थानीय तहमा उद्यमीको खोजी गरी तालिम संचालन

पर्वत/ जिल्लाका सातै स्थानीय तहमा न्यून आय भएका युवायुवतीलाई उनीहरूको सीप र क्षमतामा आधारित उद्यमसम्बन्धी प्रशिक्षण दिन थालिएको छ । हातमा सीप र मनमा जाँगर हुनेलाई घरमै बसेर आम्दानी गर्न सक्ने बनाउन जिल्लाका सबै स्थानीय तहमा उद्यमीको खोजी गरि तालिम दिन थालिएकाे हाे ।

जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा ४५० उद्यमी उत्पादन गर्न  घरेलु तथा साना उद्योग विकास समितिले गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमको सहयोगमा तालिम दिन थालेकाे हाे । न्यून आय भएका समुदायलाई दिगो आयआर्जनमा सहभागी गराउन थोरै पूँजीमा सञ्चालन गर्न सकिने साना तथा घरेलु उद्यममा आधारित उद्यमी तयार पार्न थालिएको परियोजनाले जनाएको छ । सबै स्थानीय तहमा विभिन्न सीपमा आधारित तालीम सञ्चालन भइरहेको घरेलु तथा साना उद्योग विकास समिति जिल्ला शाखाले जनाएको छ ।

शाखाको आर्थिक सहयोगमा सङ्गम तालीम तथा परामर्श केन्द्र र जिल्ला लघुउद्यमी समूह सङ्घको सहकार्यमा उद्यमी उत्पादन गर्ने कार्यक्रम सञ्चालन गरिएको वरिष्ठ उद्योग विकास अधिकृत विष्णुप्रसाद न्यौपानेले बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक करोड २५ लाख खर्च हुने अनुमान गरिएको छ ।

कार्यक्रमले विपन्न समुदायलाई बाँसका मुढा, ब्युटीपार्लर, च्याउखेती, प्लम्बिङ, विभिन्न घरेलु तथा वन पैदावरको उपभोग गरी सामग्री बनाउने हस्तकला र सीपमा आधारित तालीम सञ्चालन गर्दै आएको न्यौपानेले बताउनुभयो । “अत्यन्तै कम आयस्तर भएका व्यक्ति छनोट गरेर सीपमा आधारित उद्यमी उत्पादन गर्ने गरी कार्यक्रम शुरु गरिएको हो”, न्यौपानेले भन्नुभयो, “सीप र आवश्यक प्रविधि हामी सहयोग गर्छौं । उद्यमीले जाँगर र तत्परता देखाउनुप¥यो ।”  सीप सिकेका व्यक्तिले आफैँ लगानी गरेर लघु उद्योग चलाउनुपर्ने कार्यविधि रहेकामा आवश्यकताअनुसार घरेलुले सहयोग गर्ने न्यौपानेले बताउनुभयो । तालीममा सहभागी हुन वार्षिक आय ३४ हजार ४३० भन्दा कम रहेका व्यक्ति छनोटमा परेका छन् ।

सेवामूलक संस्थासँंग तालीम तथा परामर्श केन्द्र र जिल्ला लघु उद्यमी सेवा सङ्घमार्फत् कार्यक्रम कार्यान्वयन भइरहेको फलेबास नगरपालिकाका प्रवक्ता टीकाराम गौंडेलले बताउनुभयो । घरेलुका अनुसार कुश्मा नगरपालिकामा ५८, फलेवासमा ५८, मोदी गाउँपालिकामा ५८, जलजला गाउँपालिकामा ५८, बिहादी गाउँपालिकामा ५८, पैयुँ गाउँपालिकामा ५८ र महाशिलामा ५७ जना उद्यमी तयार हुने भएका छन् । यसअघि तालीम लिएका पुराना २४३ उद्यमीको सीप स्तरोन्नति गर्ने गरी तालीम सञ्चालन भइरहेको घरेलुले जनाएको छ ।

ठूलीपोखरी भरेर ताल बनाइदै

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको ठूलीपोखरी मर्मतसम्भार कार्य शुरु गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकम रु २५ लाखको लागतमा ठूलीपोखरीको मर्मत गरी बाह्रैमहीना पानी भर्नुका साथै पर्यटकीय दृष्टिकोणबाट विकास गर्न थालिएको हो ।

झण्डै २०० वर्ष पुरानो सात रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक ठूलीपोखरीलाई तालको रुपमा विकास गर्न लगिएको हो । अहिले पानीविहीन तथा मर्मत संरक्षण हुन नसक्दा जीर्ण बनेको पोखरीलाई मर्मतसम्भार गरिने छ भने पोखरीको गहिराइसमेत बढाइने योजना छ । उक्त पोखरीमा पञ्चासेदेखि पानी ल्याएर सङ्कलन गरी पर्यटकीय र आर्थिक विकासको हिसाबले सञ्चालन गर्ने योजना रहेको ठूलीपोखरी संरक्षण तथा मर्मतसम्भार समितिका अध्यक्ष ढकाराम सापकोटाले जानकारी दिनुभयो ।
पहिलो चरणमा मन्त्रालयबाट विनियोजित रकमले पोखरीको भौतिक संरचना निर्माण गरिने छ । मर्मतसम्भारको काम गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शुक्रबार शुभारम्भ गर्नुभएको छ । मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले जल तथा तालबाट समृद्धिको पथमा हिँड्न सकिने निष्कर्षका साथ पुराना पोखरी, चौतारी, ऐतिहासिक मठमन्दिरको संरक्षणमा लागेको बतानुभयो । ठूलीपोखरीमा कृत्रिम ताल बनाई पर्यटकीयस्थलको रुपमा विकास गर्न सक्दा आयआर्जन र रोजगारी सिर्जना गर्ने एउटा महत्वपूर्ण माध्यम बन्ने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले गण्डकी प्रदेशका दुई हजारभन्दा बढी ताल तथा पुराना पोखरीलाई संरक्षण गर्न र पानीको अधिकतम सदुपयोग गर्न ताल प्राधिकरणसमेत गठन गरेको बताउनुभयो । मानव जीवन पानीसँग जोडिएको चर्चा गर्दै मन्त्री लम्सालले पोखरी तथा तालको संरक्षण गरी पर्यटकीयस्थलको रुपमा विकास गर्न सकिने बताउनुभयो । प्रदेशसभा सदस्य जुनादेवी नेपालीले नेपालमा पर्यटनबाट नै विकास र समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले ऐतिहासिक धार्मिक महत्वका पुराना मठ, मन्दिरदेखि पोखरीलाई संरक्षण तथा प्रवद्र्धन गर्दै पर्यटनसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्