बाजुरामाको स्याउ बिक्रीका लागि धनगढी पुग्यो, बाजुराका जनता खुसी

बाजुरामाको स्याउ बिक्रीका लागि धनगढी पुग्यो, बाजुराका जनता खुसी

हिम शाह । सुदूरपश्चिमको दुर्गम जिल्ला बाजुरामा फलेको स्याउ बिक्रीका लागि धनगढी ल्याइ पुर्याइएको छ । कृषि ज्ञान केन्द्रले ढुवानीमा अनुदान दिएपछि बाजुराको पनि विकट क्षेत्रमा फलेको स्याउ हवाइ र स्थल मार्ग भएर धनगढी ल्याइ पुर्याइएको हो । बजारको माग बुझ्नका लागि अहिले धनगढीमा २० क्वीन्टल स्याउ ल्याइपुर्याइएको स्याउ कृषक समन्वय समिति बाजुराका अध्यक्ष मनबहादुर रोकायाले बताए ।

बाजुराको विकट जुकोट, पाण्डुसेनलगायत क्षेत्रमा उत्पादन भएको स्याउ बाजुराबाट हवाइ ढुवानी गरेर नेपालगञ्ज र त्यहाँबाट गाडीमार्फत धनगढी ल्याइएको रोकायाले बताए । किसानको बारीमा फलेको स्याउ बिक्रीका लागि नेपालगञ्जमा ६० क्वीन्टल र धनगढीमा २० क्वीन्टल पु¥याइएको उनले बताए । बाजुरामा उत्पादित स्याउ बजारीकरणको अभावमा बारीमै कुहिने गरेको छ । सडक सञ्जाल नपुगेका कारण दुर्गममा उत्पादित स्याउ बारीमै कुहिने गरेको छ । बाजुरामा किसानको बारीमा स्याउ कुहिँदा धनगढीमा भने भारत र चीनबाट आयात भएको स्याउले बजार लिएको छ ।स्याउको बजारीकरणमा सहयोग गर्न बारीबाट यातायात सुविधा पुगेको ठाउँसम्म ढुवानीमा अनुदान दिने व्यवस्था गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रमअन्तर्गत स्याउ ढुवानीमा अनुदान दिने व्यवस्था गरिएको हो ।बाजुराको पाण्डुसेनदेखि मार्तडीसम्म पुरयाएको प्रतिकिलो १३ रुपैयाँ ५० पैसा, जगन्नाथदेखि पिलिचौर र जुकोटदेखि पिलिचौरसम्म १८ रुपैयाँ ७५ पैसा र कोल्टीदेखि मार्तडीसम्म प्रतिकिलो १८ रुपैयाँ ९० पैसा ढुवानी अनुदान निर्धारण गरिएको ज्ञान केन्द्रका प्रमुख मिनप्रसाद जैसीले बताएका छन् । स्याउ किसानले निर्माण गरेको सञ्जाल समितिले स्याउको प्याकिङ्ग र ग्रेडीङ्ग गर्ने गरेको छ । यस वर्ष छ सय क्वीन्टल स्याउ ढुवानीका लागि अनुदानको व्यवस्था गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

सडक यातायात नपुगेका स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिका किसानको बारीमा फलेको स्याउले बजार नपाउँदा बारीमै कुहिने गरेको छ । किसानले बारीबाट स्याउ टिपेर बजारसम्म ढुवानी गर्दा लाग्ने खर्च व्यहोर्नुका साथै बजारीकरणका लागि व्यापारीसँग समन्वय गरि दिने काम पनि ज्ञान केन्द्रले गरिरहेको छ । बारीमा प्रतिकिलो ४० रुपैयाँमा किनिएको स्याउ धनगढीसम्म ल्याइ पु¥याउँदा ढुवानीसमेत जोडेर प्रतिकिलो एक सय २० रुपैयाँमा बिक्री गर्ने गरिएको अध्यक्ष रोकायाले बताए ।

धनगढी चटकपुरमा बाजुराको स्याउ बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । केन्द्रको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई फलफुल तथा तरकारीमा आत्मनिर्भर बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताए । त्यहीअनुरुप सरकारले स्याउ ढुवानीमा अनुदानको व्यवस्था गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्