‘छोरीका लागि स्वर्णीम नेपाल’

‘छोरीका लागि स्वर्णीम नेपाल’

असार १६, रेखा थापा रजतपटकी ‘ग्ल्यामरस’ नायिका हुन् । उनको परिचय अर्को पनि छ— ‘हिम्मतवाली’ । पर्दामा अनेकानेक चरित्रमा देखा पर्ने रेखा निर्मात्री र निर्देशकमात्रै होइनन्, चरित्रशिल्पीसमेत हुन् ।

तर, पछिल्लो समय उनी सामाजिक अभियानतर्फ समाहार भएकी छन् । सामाजिक कुरीतिका रूपमा रहेका बालविवाह, दाइजो, मध्य र सुदूरपश्चिमको भूखण्डमा विद्यमान छाउपडी प्रथा र त्यसले निम्त्याएका दुस्परिणाम रोक्न उनी पर्दाबाटमात्रै सम्भव नदेखेपछि मैदानमै उत्रिएकी छन् ।

‘छोरीका लागि स्वर्णीम नेपाल’ अभियान लिएर मध्य र सुदूरपश्चिमका आँगन पुग्दा महिलाहरूको जीवन अत्यन्त अमानुषिक र ‘नारकीय’ पाइन् । दीन—हीनमात्रै होइन, मूल्यविहीन जिन्दगी बाँच्न ‘श्रापित्’ महिलाको अवस्थाले पिरोल्नु पिरोल्यो ।

ad ad
सामाजिक मुद्दाहरू एनजीओकरण र एलिटहरूको ‘कमोडिटी’ बनिरहेको बताउँदै महिला सशक्तीकरणका लागि स्वयं महिला जागरूक हुनुपर्ने उनको तर्क छ । यिनै रेखासँग ‘बाह्रखरी’ले गरेको ‘अफ द बिट’ संवादमा आधारित सामग्री——

० ० ०

जन्मिँदै छोरा र छोरीबीच हुने विभेदको पर्खाल टेकेको मान्छे म । घरमा होस् या स्कुलमा— विभेदका अनेकन आयामसँग परिचय पाउँथें । शोषण, उत्पीडन र नारी–दमनसँग चिनापर्ची भयो भनौं ।

म स्वभावतः विद्रोही । र, त मनमा अनेकन प्रश्नहरूले डेरा जमाउँथे— छोरीहरू किन अमानुषिक जीवन व्यतीत गर्न विवश छन् ? मान्छे हुनुको परिचय किन खोसिएको छ ? मान्छेभन्दा पहिले किन झुन्ड्याइन्छ ‘छोरी’को फुर्को ?

खानपिन, आहार, व्याहारमात्र होइन, रोग लाग्दा हुने उपचारमा समेत विभेदको गन्ध देखा पर्दा साँच्चै मेरो मन चोइटिन्थ्यो र म प्रतिवाद गर्थें, “किन तिम्रो छोरालाई भरि गिलाँस दूध, अनि मलाईचाहिँ आधा गिलाँसमात्रै ?”

यी र यस्ता अनगिन्ती पर्खाल भत्काउन ज—जसले साहस—दुःसाहस बटुले, तिनले साँच्चै समाजमा अलग अस्तित्व, पहिचान निर्माण गरे । जसले परम्परागत शैली पछ्याए, छोरी हुनु पूर्वजन्मको भागभोग ठाने, नियतिको चक्र मानें । उनीहरूको जीवन ‘नारकीय’ बन्दै गयो । पछाडि पारिँदै गए । र, क्रमशः उनीहरूमाथि पितृसत्ता हावी हुँदै गयो ।

तर, मेरो जीवनको वादै अपवाद थियो । प्रतिवाद थियो । विद्रोह जीवनको नाद थियो । र, त बागी बाटो रोजें ।

तपाईंलाई थाहा छ— चुल्होचौका, घर—आँगन, मेलापात, भारोपर्म नै महिलाहरूको जिन्दगी हो । पितृसत्ताले कोरेको साँधसीमा नै उनीहरूको जीवन हो । अलग्गै उनीहरूको अस्तित्व छैन । उनीहरू केवल उपभोक्तावादी समाजको भोग्य वस्तु हुन् । सृष्टिका सम्वाहक नारीमाथि समाजको दृष्टि फगत बच्चा जन्माउने मेसिनभन्दा ज्यादा छैन ।

यस्तै दमित आवाज र आवाजविहीन छोरीहरूको आवाज बन्न मन लाग्यो । र, अपरम्परागत बाटो पहिल्याएँ— पर्दाको दुनियाँ ।

तिनताक यस्तो समय थियो— हुर्किएका छोरीचेली नायिका हुनु गएगुज्रेको बन्नु थियो । नर्तकी बन्नु, उत्ताउली बन्नु थियो ।

परम्परागत सोच, चिन्तनविरुद्ध परिवर्तनको चिराग नजलाए उज्यालो भेटिँदैन भन्ने राम्ररी बुझेकी मैले विद्रोहको बाटो हिँड्न मञ्जुर नगरेको भए शायदै हजारौं छोरीहरूको आवाज मुखर हुने थियो ।

आमाहरू भन्नुहुन्थ्यो— छोरी मान्छे बोल्नु हुँदैन, दुःख पाइन्छ । तर, उहाँहरूले कहिल्यै बुझ्नुभएन— बोल्दा होइन, नबोल्दा दुःख पाइन्छ । जीवनको अस्तित्व खोसिन्छ । मूल्य विलुप्त हुन्छ ।

त्यसैले मैले उहाँहरूको छोरी बन्ने परम्परागत तालिम लिइनँ । घरको संघार काटेर बाहिर जान नपाइने, गए पनि घाम छँदै घर फर्कनुपर्ने । कुरा गर्दा शिर झुकाउनु पर्ने । खाँदा, बोल्दा, उठ्दा, बस्दा, समाजले तयार पारेको आचारसंहितालाई अक्षरशः पालना गर्नुपर्ने । समाजका यस्ता साँधसीमा र ‘लक्ष्मणरेखाले’ जीवनको मूल्य मेटाउँछ, नारीको अस्तित्व विलुप्त गराउँछ भन्नेमा म विश्वस्त थिएँ ।

र त, मैले विद्रोह गरें ।

० ० ०

सिनेकर्मीप्रति हाम्रो छिपछिपे चेतना छ । नेपाली चलचित्र क्षेत्रको इतिहास त्यति लामो छैन । ५० वर्ष पनि भएको छैन, सिने क्षेत्र उद्योगको रूपमा विकास भएको ।

अखबार, समाजमात्र होइन, बौद्धिक जगतले पनि खोल, बर्को ओढाइदिएको छ— आफ्नो बुझाइको ।

तर, आम मानिसभन्दा माथि हुन्छ कलाकार । उन्नत हुन्छ उसको चैतन्य । समाजको गहन, अध्ययन—अन्वेषण, खोज र चिन्तनद्वारा नै उसले आफूलाई चरित्रमा ढाल्नुपर्छ । र, त्यो नेपाली समाजको माटो सुहाउँदो विम्ब बन्नुपर्छ ।

तर, हामीकहाँ कलाकार भन्नेबित्तिकै नाक खुम्च्याउने चलन छ । कलाकारिता बहुआयामिक दर्शन हो । जीवनप्रतिको दृष्टिकोण हो । समाजसँगको संवाद हो । परिवर्तनको शंखघोष हो । सभ्य समाजमा कलाकार फगत राष्ट्रका गहना होइनन्, यी त पथ—प्रदर्शक हुन् ।

धेरै मानिसहरूको जिज्ञासा हुन्छ, “चलचित्रमा चरित्र कसरी उभ्याउनुहुन्छ ?”

मलाई लाग्छ— चरित्र अमूर्त हुनु हुन्न । यो त समाजकै प्रतिच्छाया हो । समाजकै चरित्र त्यहाँ प्रतिच्छवित हुनुपर्छ । मेरो हकमा कुरा गर्नुहुन्छ भने म समाजको दुःख, पीडाको गर्भबाट चरित्र जन्माउँछु । संस्कृतिका रूपमा रहेका कुसंस्कृति, रीतिका रूपमा रहेका कुरीति, थितिका रूपमा रहेका बेथितिहरू नै मेरा चलचित्रका कथानक हुन् । र, तिनै थिति—बेथितिबाट ताडितहरू नै मेरा ‘नायक’ हुन् । र, तिनले परिवर्तनको विगुल फुक्छन् ।

चलचित्र परिवर्तनको द्योतक हो । सामाजिक चलचित्रका बनाउने नाममा प्रचलन छ— समाजका दुःख, पीडालाई दुरुस्तै जे भइरहेको छ, त्यो देखाउने चलचित्रको धर्म होइन । समाजमा जे हुनपर्छ, त्योचाहिँ चलचित्रको मर्म हुनुपर्छ भन्ने मेरो दृष्टिकोण हो ।

सुदूरमा छाउपडी छ । सयौं चेलीहरूको जीवन छाउपडीले खरानी बनाइरहेको छ । तराईमा दाइजो छ । हजारौँ आमा, दिदीबहिनीहरूको जीवन भष्म तुल्याइरहेको छ । बालविवाहजस्तो कुप्रथाले साढे ३० लाख छोरीचेलीहरूको जीवन दुर्घटनाउन्मुख छ । कतिको जीवन त तसहनहस भइसक्यो ।

चलचित्रमा तिनका सुस्केरा, रोदन, प्रताडना मुखरित गर्न सकिन्छ । छाउपडी, दाइजो, बोक्सी आदि प्रथाले सिर्जना गरेका हत्या, हिंसाका शृंखला नै तयार पार्न सकिन्छ । तर, त्यसको के उपादेयता, यदि चलचित्रमा त्यस्ता प्रथाविरुद्ध विद्रोह सन्निहित छैन भने ? अतः चलचित्र समाजको दर्पण हो भन्ने नाममा समाजका घटित घटनाहरूको नालिबेली उतार्दै जाने हो भने आफ्नो उपहासमात्रै हुन्छ । क्रान्तिको युगीन अभिभारा त्यसले बहन गर्न सक्दैन ।

० ० ०

छोरीका लागि स्वर्णीम शिक्षा नेपाल अभियान लिएर दूर—दराज पुगें म । हजारौं छोरीचेलीसँग साक्षात्कार गरें । जहाँ पुग्थें, अनुहारमा बादलमात्रै मडारिएको पाउँथें । उज्यालोको खोजीमा छन् उनीहरू । परिवर्तनको अगुवाइ गर्न सक्ने उपयुक्त पात्रको खोजीमा छन् उनीहरू । मुलुकमा आएको परिवर्तनको बाछिटासम्म पुगेको छैन त्यहाँ ।

पछिल्लो समय धेरै बहस भयो— आरक्षण, समावेशिता र सहभागितामूलक शासन व्यवस्थामा । लोकतन्त्रको गहना समावेशिता र सहभागिता हो भनियो । हामीले आरक्षणका नाममा केहीलाई पद, प्रतिष्ठाको पगरी नगुथाएका पनि होइनौं । तर, महिलाको अवस्था झन् भयावह, डरलाग्दो र विकराल बन्दैछ ।

मलाई व्यक्तिगत हिसाबले सोध्नुहुन्छ भने आरक्षणले एलिट महिलाको जमात तयार पार्दैछ । यसकारण कि आमशोषित, उत्पीडित, दमित महिलाहरूको पहुँच त्यहाँसम्म पुग्दै पुग्दैन । आरक्षणका नाममा नेतापत्नी, व्यावसायिक घरानाका, पहुँचवाला, हुनेखानेकै रजाइँ छ । शोषित, उत्पीडित र दमितले त्यो उपयोग नै गर्न सक्दैनन् ।

आरक्षणका नाममा हामीलाई चाहिएको पद, प्रतिष्ठा होइन, परिवर्तन हो । शोषित, उत्पीडित महिलाको मुक्ति हो । अतः यसो भन्दा फरक पर्दैन— महिलालाई चाहिएको आरक्षण होइन, अवसर हो ।

अहिले देख्नुभयो नि— एसईई (प्रवेशिका) परीक्षामा किशोरीले देशै टप गरिन् । उनले आरक्षणबापत त प्राप्त गरेको होइन त्यो श्रेष्ठता, उत्कृष्टता । उनलाई अवसर दिइयो र हासिल गरिन् त्यो उचाइ ।

म पनि पुरुषसँगै प्रतिपस्पर्धा गरेर नायिका, निर्मात्री र निर्देशक भएकी हुँ । आरक्षण र निगाहमा ‘हिरोइन’ बनेकी होइन ।

० ० ०

नायक हुन, सुडौल शरीर, पुष्ट वदन, आकर्षक चेहरा, बलिष्ठ हात पाखुरा हुनुपर्ने । नायिका हुन त्यस्तै सुन्दर अनुहार, सेतो छाला, ठूल्ठूला आँखा । पिपलपाते ओठ । छरितो शरीर आदि, इत्यादि । यो आदिम सौन्दर्यचेत हो । देशमा गणतन्त्र आए पनि यही मध्ययुगीन सोचले आजपर्यन्त शासन गरिरहेको छ हामीलाई । चलचित्र क्षेत्रमा त यो रोगकै रूपमा छ ।

तर, यो सोचाइ भत्काउँदै हिँडिरहेकी छु म । व्यक्तिको नायकत्व अनुहार र शरीरले तय गर्दैन । त्यो अन्तरनिहित क्षमता हो ।

परम्परागत ‘हिरो’सम्बन्धी अवधारणलाई मैले दुवै हात नभएका व्यक्तिलाई पर्दामा नायकको रूपमा उतारेर चुनौती खडा गरें । ‘मालिका’की कमला ओली पनि परम्परागत नायिकामाथिको विद्रोहकी प्रतिमूर्ति नै हुन् । त्यहाँ पनि चरित्र विनिर्माण भएको छ । र, कमला मध्य र सुदूरपश्चिमकी दमित आवाज हुन् ।

समयक्रमसँगै सौन्दर्यको मानक र परिभाषा नबदल्ने हो भने क्षमतामाथि तथाकथित सौन्दर्यले राज गरिरहनेछ र नारी फगत सौन्दर्य–सामग्री र केवल उपभोग्य वस्तुका रूपमा बिक्री–वितरण भइरहनेछन् ।

मैले वर्षौंदेखि भन्दै आइरहेकी छु— वास्तविक नायक÷नायिकाहरू कुना—कन्दरामा भेटिन्छन्, जिम हल र ब्युटिपार्लरहरूमा होइन । पर्दामार्फत मुखरितमात्रै गर्न सक्नुपर्छ ।

— अक्षर काकासँगको कुराकानीमा आधारित

from baahrakhari.com

प्रतिक्रिया दिनुहोस्