लुक्लाबाट उडेको हेलिकप्टर खराब मौसमका कारण काभ्रेमा आकस्मिक अवतरण

लुक्लाबाट उडेको हेलिकप्टर खराब मौसमका कारण काभ्रेमा आकस्मिक अवतरण

काठमाडौं ।लुक्लाबाट काठमाडौं उडेका चारवटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ। पाँचखाल नगरपालिका २ जोरपाटीमा तीन र पाँचखालकै होक्सेमा एउटा हेलिकप्टर आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ।

काभ्रेका प्रहरी प्रमुख जयराज सापकोटाले लुक्लाबाट ८ वटा हेलिकप्टर उडेकोमा खराब मौसमका कारण चारवटा काभ्रेमा आकस्मिक अवतरण गरेको पुष्टि गरे। ‘एउटा सिन्धुलीमा ल्यान्ड गरेको सूचना छ’, उनले भने,  ८ वटा हेलिकप्टर लुक्लाबाट उडेका रहेछन्। खराब मौसमका कारण ल्यान्ड गर्नुपरेको सूचना पाएका छौँ।’

हेलिकप्टर सोसाइटीका महासचिव योगराज शर्माका अनुसार सिम्रिक एयरका दुई तथा मानङ एयर, कैलाश एअर र अल्टिच्युड एयरका एक/एकवटा हेलिकप्टर काभ्रेमा अवतरण गरिएको हो। हेलिकप्टरमा विदेशी पर्यटकहरू छन्।

काठमाडौंको भिजिबिलिटी कम भएका कारण हेलिकप्टरहरू ल्यान्ड गर्न नसक्ने भएकाले काभ्रेमा ल्यान्ड गरिएको हेलिकप्टर सोसाइटीका महासचिव योगराज शर्मा कँडेलले जानकारी दिए।

एयर डाइनास्टीको एउटा हेलिकप्टर लुक्ला नजिकैको सुर्केमा रहेको उनले बताए। मौसम खराब भएका कारण जुन हेलिकप्टर जहाँ छन्, त्यही रेस्ट गर्न भनिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्