प्रदुषणरहित नमोबुद्ध नगर बनाउन कस्सिए मेयर

प्रदुषणरहित नमोबुद्ध नगर बनाउन कस्सिए मेयर

काठमाडौं ।   काभ्रेपलाञ्चोक  जिल्लाको नमोबुद्ध नगरपालीकाका प्रमुख टङ्कप्रसाद तिमल्सिना शर्माले नगरपालिकालाई प्रदुषण रहित तथा सफा र सुन्दर बनाउन आफूले विशेष जोड दिएको बताउनु भएको छ ।

प्रदुषणका कारक बनेका इँटा उद्योग हटाउने अभियान सफलताको साथ सुरुवात गरेको भन्दै भाद्र २० गते एउटा कार्यक्रमको आयोजना नै गरेर स्थानीयहरुले नगर प्रमुख शर्मालाई धन्यवाद दिएका थिए । शुक्रबार नगरपालिकामा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उपस्थित स्थानीय समुदायले नगर प्रमुखले प्रतिवद्धता पुरा गरेको भन्दै उहाँको खुलेर प्रशंसा गरे । सो कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शर्माले ईटाभट्टाबाट निस्किएको धुवाँधुलोले गर्दा वातावरण प्रदुषण भएको र त्यहाँका स्थानियवासीको स्वास्थमा प्रतिकुल असर परेकोले परम्परागत ईटा भट्टा बिस्थापन गरेको दाबी गर्नुभयो ।


हिम्मतका साथ वातावरण स्वच्छ बनाउने प्रक्रियामा लाग्नुभएका नगरप्रमुख शर्माको सक्रियतामा नगरपालिकाले यही भदौ ८ गते वडा नम्बर २ र ३ मा सञ्चालन हुँदै आएका आठ वटा परम्परागत इँटा भट्टा चिम्नी, क्रेन को प्रयोग गरी भत्काइएको थियो ।
कृषि क्षेत्रमा अगाडी रहेको नमोबुद्ध नगरपालिकाको खेतियोग्य जमिनमा इट्टा उद्योग संचालनमा रहेको र त्यहाँ पानीको अत्याधिक प्रयोग भइरहेकोले नगरक्षेत्रको अधिकाशं ठाउँमा डिप बोरीङको पानी पनि सुक्दै गएको जन गुनासो आएकोले उक्त कदम चाल्नु परेको नगरप्रमुख शर्माले बताउनुभयो ।
इट्टा भट्टाको बिस्थापनबाट त्यहाँका उद्योगी र कामदारमा नकारात्मक प्रभाव परेको भन्दै शर्माले भन्नुभयो– “बिरामीलाई दुख्छ भनेर कैचि चलाएन भने उसको घाउ कहिल्यै निको हुदैन, जबसम्म बेतिथीको अन्त्य हुदैन तबसम्म समृद्धिमा अगाडी बढन सकिदैन ।” । उहाँले अगाडि भन्नु भयो, इटा भट्टा व्यवसायीलाई सिमित फाइदा होला तर त्यहाँको कृषि, पर्यटन साथै मानव स्वास्थ्यमा पनि यसले नकारात्मक प्रभाव परेको छ ।
इँटा उद्योगका कारण नगरमा आएका करोडौँको योजना फर्किएको स्मरण गर्दै इँटा उद्योग हटाउने प्रक्रिया अगाडि बढेसंगै हाल स्टाफ कलेज स्थापनार्थ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुँदै गरेको र अर्को तीन करोडको योजना अगाडि बढेकोे जानकारी पनि प्रमुख शर्माले दिनुभयो । अब नगर समृद्ध हुने ढोका खुलेको छ, यसमा सबै नगरवासीले खुशियाली मनाउनुपर्छ भन्ने आव्हान गर्दै कृषि योग्य जमिनको सट्टा छुट्टै स्थानमा इटा उद्योगको स्थापना गर्ने आफ्नो योजना रहेको पनि नगर प्रमुखले बताउनु भयो ।

किन भत्काईयो ईटा उद्योग ?

नमोबुद्ध नगरपालिका कार्यालयले यसअघि असार मसान्तसम्ममा आफ्नो क्षेत्रमा सञ्चालन हुँदै आएका इँटा उद्योगहरुलाई, विगतमा भएको सहमति अनुरुप नै हटाउन निर्देशन दिएको थियो । गत साउन पहिलो साता पनि पुनः भकुण्डेवेशी क्षेत्रमा अवस्थित आठ वटा इँटा उद्योग सञ्चालकलाई नगरपालिकाले सो सहमति कार्यान्वयन गर्न पत्रमार्फत निर्देशन दियो । असार मसान्तसम्ममा सहमति कार्यान्वयन नभएपछि नगरले आफैँले परम्परागत इँटा उद्योग हटाउने प्रक्रिया अन्तर्गत उद्योगको भट्टा भत्काएको हो ।
गतसाल माघ महिनामा जिल्ला समन्वय समितिका पदाधिकारी, नगर पदाधिकारी र इँटा उद्योगीबीच असार मसान्तभित्र काभ्रेपलाञ्चोकको नमोबुद्ध क्षेत्रमा सञ्चालित आठ वटा इँटा उद्योग हटाउने आठबुँदे सहमति भएको थियो । कार्यालयले गतसाल कार्तिकमा सार्वसाधारणमा समेत सूचित गर्दै विगत केही वर्षदेखि इँटा उद्योगका लागि जमिन ‘लिज’मा दिँदै आएकोमा आफ्नो जमिन नदिन आग्रह समेत गरेको थियो । गतसाल माघमा जिल्ला समन्वय समितिका पदाधिकारी, नगरका पदाधिकारी र इँटा उद्योगीबीच असार मसान्तभित्र नमोबुद्ध नगर क्षेत्रमा सञ्चालित आठ वटा इँटा उद्योग हटाउने सहमति गरिएको हो ।
त्यसताका नमोबुद्ध नगरस्थित ३१ वटा सङ्घसंस्थाले भकुण्डेमा रहेका इँटा उद्योग सञ्चालनमा रोक लगाउन नगर कार्यालयमा निवेदनसमेत दिएका थिए । तर, उद्योगीले नगरको आग्रह र स्थानीयको मागको अवज्ञा गर्दै इँटा उद्योग सञ्चालन गर्दै आएका थिए । काभ्रेपलाञ्चोकमा सञ्चालित २० वटा इँटा उद्योगमध्ये नमोबुद्धको भकुण्डेमा मात्रै आठ वटा इँटा उद्योग सञ्चालित थिए ।

प्रतिक्रिया दिनुहोस्