भाग्यमानी रियल, अद्वितीय जिदान र कीर्तिमानी रोनाल्डो !

भाग्यमानी रियल, अद्वितीय जिदान र कीर्तिमानी रोनाल्डो !

यो ‘च्याम्पियन्स लिग’ हो कि ‘रियल म्याड्रिड लिग’ ? – रियल र बायर्न म्युनिखबीच स्यान्टियागो बर्नेबाउमा भएको सेमिफाइनल खेलपछि एक फुटबल प्रेमीले सामाजिक सञ्जालमा लेखेको शब्द हो यो ।

पछिल्ला तीन सिजन हेर्ने हो भने उनको भनाई सही पनि देखिन्छ । रियलले नयाँ फम्र्याटमा खेलाइएको च्याम्पियन्स लिगको पछिल्ला दुई सिजनमा उपाधि जितेको छ भने यो सिजन सेमिफाइनलमा जर्मन जायन्ट बायर्न म्युनिखलाई पाखा लगाउँदै लगातार तेस्रो पटक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार आफ्नो घरेलु मैदानमा २–२ को बराबरी खेल्दै रियलले पहिलो हासिल गरेको २–१ को जीतको मद्दतले समग्रमा ४–३ ले बायर्नलाई पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको हो ।

सन् २०१६ मा चिरप्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडलाई नाटकीय रुपमा पराजित गर्दै उपाधि हात पारेको रियलले अर्को वर्ष कार्डिफमा युभेन्टसलाई पाखा लगाउँदै लगातर दोस्रो पटक उपाधि जितेको थियो । अब बुधबार हुने खेलमा लिभरपुल र एएस रोमाबीचको विजेतासँग रियलले फाइनलमा भिड्नेछ ।

पछिल्लो पटक युभेन्टसले सन् १९९६ र १९९८ को बीचमा लगातार तीनवटा फाइनलमा आफ्नो स्थान बनाएको थियो । मार्सेलो लिप्पीले टुरिन जायन्टसलाई तीन पटक फाइनलमा पुर्याए पनि उनले तीनमध्ये एक, सन् १९९६ मा, मात्र सफलता हात पार्न सफल भए ।

अद्वितीय जिदान

यता, रियलका प्रशिक्षक जिनेदिन जिदानले लिप्पीको त्यो उपलब्धिलाई बराबरी गरेका छन् भने नकआउट चरणमा आफ्नो अजय यात्रालाई कायम राखेका छन् ।

फ्रेन्च प्रशिक्षकले लस ब्लाङ्कोसको नेतृत्व सम्हाले यता तीन सिजनमा प्रतियोगिताबाट बाहिरिनु परेको छैन । तिनै सिजन रियल फाइनलसम्म पुग्न सफल भएको छ ।

 

रियलले युरोपियन कप÷च्याम्पियन्स लिगको फाइनलमा पुगेको यो किर्तिमानी १६ औँ पटक हो । अन्य कुनै पनि टोलीले यो सफलता हात पार्न सकेको छैन । रियलपछि एसी मिलान ११ पटक फाइनलमा पुगेको छ भने आज दोस्रो सेमिफाइनल खेल्ने लिभरपुलले यो सफलता सात पटक हासिल गरेको छ । रियलको क्लासिको प्रतिद्वन्द्वी बार्सिलोना आठ पटक फाइनलमा पुग्न सफल भएको छ ।

अब जिदानको आँखा बायर्न म्युनिखको ‘लेजेन्डरी’ टोलीले सन् १९७० ताका हासिल गरेको सफलतालाई बराबरी गर्ने हुनेछ । बायर्नले सन् १९७४, १९७५ र १९७६ मा लगातार तीन पटक युरोपियन कपको उपाधि आफ्नो कब्जामा गर्न सफल भएको थियो ।

भाग्यमानी रियल
रियल र बायर्नबीचको सेमिफाइनल खेल हेर्ने तटस्थ फुटबलप्रेमीको निश्कर्ष हुनेछ – यो वर्ष फाइनल पुग्न रियल भाग्यमानी रह्यो ।

दुवै लेगमा रियलभन्दा बायर्न खेलमा हाबी भए पनि इन्जुरी र गल्तीको कारण ऊ दोस्रो टोली बन्न बाध्य भयो । त्यसमाथि रेफ्रीका केही निर्णयले पनि रियललाई अवश्य मद्दत गर्यो । जस्तो कि दोस्रो लेगमा मार्सेलोको ह्याण्डबल ।

 

पहिलो लेगमा इन्जुरीका कारण कमजोर बनेको बायर्न रणनैतिकरुपमा रियलमाथि हाबी भए पनि एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियलले अन्ततः २–१ को कठिन जित निकाल्यो ।

दोस्रो लेग रियलको घरेलु मैदानमा थियो । तर, अग्रता फेरि बायर्नले लियो । जोसुवा किमिचले सर्जियो रामोशको गल्तीको फाइदा उठाउँदै बायर्नलाई अग्रता दिलाए ।

तर, लगत्तै रियलले करिम बेन्जेमाको गोलको मद्दतले खेलमा फर्कियो । त्यसपछि बायर्नले रियलमाथि दबाब बनाए पनि पहिलो हाफ बराबरीमा सकियो ।

दोस्रो हाफको शुरुवातमा स्भेन उल्रीचको गल्तीको फाइदा उठाउँदै बन्जेमाले दोस्रो गोल गर्दै रियललाई अग्रता दिलाए । सन् २०१४ पछि युरोपियन प्रतियोगितामा बेन्जेमाले एक खेलमा दुई गोल गरेको यो पहिलो अवसर हो । अब उनी रुड भान निस्टलरोयको गोल संख्याभन्दा एक गोलले पछि छन् ।

उता, रियलबाट लोनमा बायर्नमा रहेका हामेज रोड्रिग्वेजले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यसपछि कुनै गोल हुन सकेन । खेल २–२ को बराबरीमा सकियो र रियलले खेल समग्रमा ४–३ ले आफ्नो पक्षमा पार्न सफल रह्यो ।

रोनाल्डोको अर्को कोशेढुंगा

 

सेमिफाइनलको दुवै लेगमा गोल गर्न नसकेपनि रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले अर्को किर्तिमान बनाएका छन् ।

मंगलबार राती भएको खेल च्याम्पियन्स लिग करियरमा उनको १५२ खेल थियो । योसँगै उनले बार्सिलोनाका ज्याभीले बनाएको सबैभन्दा धेरै च्याम्पियन्स लिगको खेल खेल्ने आउटफिल्ड खेलाडीको किर्तिमान भंग गरेका छन् ।

रोनाल्डोअघि रियल म्याड्रिडका पूर्व गोलकिपर इकर कासियासले १६७ पटक प्रतियोगितामा सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help