एकताका चार सूत्र

एकताका चार सूत्र

विगत केही समयदेखि नेपालको राजनीतिक वृत्तमा दुई ठूला कम्युनिष्ट पार्टीहरू ने.क.पा.(माओवादी केन्द्र) र ने.क.पा.(एमाले) का बीच एकता हुने कुराले निकै चर्चा पाएको छ । गत असोज १७ गते पार्टी एकता गर्ने उद्घोषसहित वाम गठबन्धन बनाई चुनावमा गएका यी पार्टीहरूले अपेक्षित जीत हासिल गरेपछि पार्टी एकताको चर्चा अझ बढी सतहमा आएको हो ।

त्यतिबेला नै वाम गठबन्धन र पार्टी एकता दुवैलाई एकथरी व्यक्ति, पार्टी र समूहले उत्पात नै भएको ठानी प्रतिक्रिया व्यक्त गरेका थिए भने अर्काेथरी यति धेरै अत्तालिए कि त्यसको सीमा नै रहेन । जबकि समर्थकहरू पनि त्यति धेरै खुशी र हर्षले उत्पात हुनुपर्ने थिएन भने आत्तिनेहरूमा पनि मुलुकै डुबेसरह रोदन र चित्कारको आवश्यकता थिएन । किनकि दुई पार्टीहरू मिले पनि उही व्यक्ति, उही चरित्र, उही प्रवृत्ति, उही कार्यशैली र उही पुरानै सोच, दृष्टिकोणसहित जस्ताको तस्तै एकतामा प्रवेश गर्ने हुनाले मात्तिने र आत्तिने कुनै कारण थिएन ।

अहिले पनि केही नाम मात्रका शीर्ष नेताहरूलाई छाडेर अरू नेता र कार्यकर्तामा भविष्यप्रतिको चिन्ता, चासो र त्रास थपिएसँगै झनै अन्यौल बढेको छ । उनीहरूले न त एकताको विरुद्ध बोल्न, लेख्न वा विद्रोह गर्न सक्छन् न त एकताकै पक्षमा दृढतापूर्वक उभिएर वकालत नै गर्न सक्छन् । उनीहरु पार्टी छाडेर अन्यत्र जाने पनि कतै विकल्प देख्दैनन्, बरु फड्के किनाराका साक्षीसरह आफूहरू एकताको नाममा कतिबेला बेचिने हो ? मुकदर्शक बनेर त्यसको पर्खाइमा छन् ।

वास्तवमा झण्डै दुई तिहाइ जनमत रहेको नेपालका कम्युनिष्टहरू एक–आपसमा मिल्ने कुरा एक ऐतिहासिक परिघटना हो । विषयको उठान राम्रो नियतबाट गरिएको भए यो एक ऐतिहासिक परिघटना हुने थियो । खराब नियतले एकताको कुरा उठाइएकाले झन् अहिले कार्यकर्ता र कम्युनिष्ट जनमतमा थप आशङ्का र त्रास थपिएको छ ।

अझ एक दुई व्यक्तिका स्वार्थको मिलनलाई एकताको नाम दिएर सैद्धान्तिक आवरणमा व्याख्या गरिनुले पनि यसमा केही नेताहरूको राजनीतिक र आर्थिक जटिल स्वार्थ लुकेको छ भन्नेहरू पनि नेपालमा नभएका होइनन् । विभिन्न विश्लेषकहरू यसबारे अझ बढी आशङ्का व्यक्त गरिरहेका छन् । म यो विषयमा जान चाहन्न तर यो एकता के हो ? यो विचार राजनीतिको ध्रुवीकरण हो वा एकता ? एक अर्कामा समायोजन वा विलय के हो ? र आश्चर्यजनक तरिकाले थालनी गरिएको एकतालाई वास्तविक एकतामा बदल्न के गर्नुपर्ला ? मैले यिनै विषयमा थोरै चर्चा परिचर्चा गर्न उपयुक्त ठानेको छु ।

दुई पार्टीबीचको एकता कि ध्रुवीकरण ?

एकता र ध्रुवीकरण झट्ट हेर्दा एउटै अर्थ दिने पदावली जस्तो लागे पनि यसको भावार्थ फरक छ । एकता भन्नाले दुई पार्टीबीचको सङ्गठनात्मक अवस्था उसको जनमत, उसको इतिहासलगायत विविध पक्षहरूको अध्ययन गरी एउटै साझा उद्देश्य प्राप्त गर्न गरिने साङ्गठनिक पहल हो । तर अहिले हुने भनिएको एकता यी आधारभूत कुराभन्दा भिन्नै छ । त्यसकारण यो एकता दुई बैङ्क मर्ज भएसरह एक–आपसमा समायोजन हुनुजस्तै भएको छ । किनकि दुई पार्टीहरूको राजनीतिक पृष्ठभूमि फरक छ तर अबको दिशा करिब करिब एउटै हुने भएपछि अलग–अलग रहनुको औचित्यता देखिदैन ।त्यसैले अहिलेको एकताको कुरा आफ्ना व्यक्तिगत स्वार्थहरूलाई अझ बढी संस्थागत गर्न र सिङ्गो आन्दोलनका हजारौं कार्यकर्तालाई वेवास्ता गरीआफ्ना उद्देश्य पूरा गर्न सकारात्मक पहल मात्र गरिएको तीतो यथार्थता हो भन्नेहरुलाई नै मलजल पुगेको छ ।

जुन अहिले एमाले र माओवादी केन्द्रबीचको एकता हुन विलम्ब हुनु र अनेक गतिहीनता देखा पर्नुले यो कुरालाई पुष्टि गर्दछ । त्यसकारण यो एकता कुनै वैचारिक उद्देश्य पूरा गर्न, कुनै साझा सङ्कल्पका लागि वा मुलुकको ठूलो कायापलट गर्ने मनसायमा आधारित छैन । बरु यो आफ्नो स्वार्थको आरक्षणको ग्यारेन्टी र सुखद बर्हिगमनको पूर्वतयारीमा आधारित छ भन्नेहरुलाई सही जवाफ दिने तर्क हामीसँग छैन । यहाँ एमाले र माओवादी केन्द्रबीच एकता हुनु नै हुँदैन भन्ने कुरामा कोही पनि सहमत छैन तर आफ्ना मात्रै राजनीतिक, कानुनी र अन्य विविध कुराहरुलाई मात्रै पूर्ण ग्यारेन्टी खोज्ने र अरु नेता तथा कार्यकर्ताबारे पूरै मौन बस्ने नेतृत्वको नियतमाथि शंका मात्र लागेको र सम्मानजनक एकता, बराबरीको एकता, विचार र राजनीतिको एकता निश्चित् व्यक्तिहरूका मोलमोलाइका साधन मात्रै हुन् भन्नेहरुलाई नेतृत्वले कसरी जवाफ दिन्छ ? त्यो त एकतापछि हुने संगठनात्मक समायोजनको खाकापछि मात्रै प्रष्ट हुनेछ । तर त्यसप्रकारको वैज्ञानिक खाका बन्ने कुराको कुनै सुखद संकेत देखा पर्न सकेको छैन ।

आजको एकताको आवश्यकतालाई स्वार्थ अनुरुप प्रयोग गर्ने र मित्थ्यापनमा आधारित गैरवैचारिक ध्रुवीकरणको साधन बनाउनु हुँदैन । ध्रुवीकरणमा त एउटा खास विचार र कार्यदिशामा समर्थन जनाएर त्यसको विकास, रक्षा र प्रयोगको लागि गरिन्छ । त्यसकारण ध्रुवीकरणले विचारको माग गर्छ भने एकताले सङ्गठनको माग गर्छ । ध्रुवीकरण भइदिएको भए यति धेरै किचलो गर्नुपर्ने थिएन । एकताका लागि या त बहुदलीय जनवादलाई कार्यदिशा बनाइन्थ्यो या त एक्काइसौं शताब्दीको जनवादलाई साझा कार्यदिशा बनाएर अघि बढ्न सकिन्थ्यो । त्यो बेला यो कार्यदिशा लागू गर्ने खालको सङ्गठन, विधि र नेतृत्वको छनोट हुन्थ्यो ।

यो प्रक्रियामा विचार पहिलो र सङ्गठन दोस्रो पक्ष हुने थियो तर अहिले सङ्गठन पहिलो र विचारको प्रश्न झिनो स्वरमा मात्र व्यक्त भएको छ । यहाँ अझ जनताको बहुदलीय जनवादलाई बहुदलीय शब्द हटाई जनताको जनवाद पदावली राख्ने भित्रभित्रै सहमति भयो भने पनि अनौठो मान्नुपर्ने छैन । यी सबै परिघटनाहरूले यो एकता आवश्यकताको केन्द्रीकरण नभई स्वार्थको केन्द्रीकरण मात्रै बन्न पुगेको यथार्थतालाई जाहेर गरेको छ । हुन त शब्द जे राखे पनि जाने संसदीय व्यवस्थामा नै हो । शब्दले खासै फरक पार्दैन । संसदीय व्यवस्था पुँजीवादको अभिन्न अङ्ग हो । त्यसैले हामी पुँजीवादको राजनीतिक क्रान्ति सम्पन्न भयो भनेका छौं र अब आर्थिक क्रान्तिको खाका कोर्न एकताको पहल गरेका छौं भन्ने नेतृत्वको भनाइलाई विश्वास गर्ने कत्ति पनि आधार छैन । यसकारण पनि अहिले हुने भनिएको पार्टी एकता वास्तविक एकता वा धु्रवीकरण जे नाम दिइए पनि यो एक–आपसमा मर्ज हुने प्रक्रिया मात्र हो । ज्ञात रहोस्, ठूलो चुम्बकका अगाडि सानो चुम्बक समायोजन भई विलय हुन सक्दैन बरु एउटा किनारमा टाँस्सिरहन्छ ।

यो कुरा अहिलेको पार्टी एकतामा पनि लागू हुन्छ । बराबरी र सम्मानजनक हैसियत, सही प्रकारको सङ्गठनात्मक कार्यविधि, पार्टी सञ्चालनका वैज्ञानिक आधारहरूबाट प्राप्त हुनेछ । तर नेपालका कम्युनिष्ट पार्टीहरुमा नेतृत्वको अति केन्द्रीकरणका कारणले यो सम्भव छैन । यहाँ त संगठनात्मक विधि, मूल्य मान्यता र आदर्श सबै ओझेलमा परेका छन् । त्यसकारण यो एकताले त्यो गुमेको कम्युनिष्ट आदर्श, सही संगठनात्मक विधि, मूल्य र मान्यता स्थापित गर्न सक्छ ? नेतृत्वका अगाडि गम्भीर प्रश्न खडा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help