बेलबारी नगरपालीकाले सामूहिक खेतीलाई प्रोत्साहन गर्ने

बेलबारी नगरपालीकाले सामूहिक खेतीलाई प्रोत्साहन गर्ने

मोरङको  बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सामूहिक खेतीलाई प्रोत्साहन गरिने बताएका छन् । आइतबार राष्ट्रिय धान दिवसको अवसरमा बेलबारी–२ स्थित बहुउद्देश्यीय कृषि फार्मले आयोजना गरेको रोपाइँ महोत्सवमा सहभागी हुँदै उनले सामूहिक खेतीलाई प्रोत्साहन गरिने बताएका हुन् ।

मेयर सुवेदीले युवालाई स्वदेशमै रोजगारी दिन आधुनिक खेतीमा जोड दिइने भन्दै त्यसैका लागि नगरपालिकाले कृषकलाई अनुदानमा आधुनिक कृषि औजार प्रदान गरिरहेको बताए । बहुउद्देश्यीय कृषि फार्म विक्रम मैनाली, लीला खड्का, भक्तबहादुर अधिकारी, धर्मध्वज कट्वाल, रोशन कालिकोटेलगायत युवाले सञ्चालनमा ल्याएका हुन् । गोपाल किराती नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्यसमेत भइसकेका मैनाली अहिले भने राजनीति छाडेर कृषि कर्ममा लागेका छन् ।

फार्ममा उनीहरूले माछा, राँगा, रैथाने जातका कुखुरा पालेका हन् । १४ बिघा जमिन भाडामा लिएर सुरु गरिएको फार्मको करिब ४५ कट्ठा जग्गामा त माछा पोखरी मात्र छन् । ती पोखरीहरूमा रौनी, कमन कार्प, सिल्पर कार्प, ग्रास भ्याकुर, बिग्रट प्रजातिका माछा पालिएका छन् । त्यस्तै टिलोपिया जातका माछाका भुरा पनि हालिएको छ । एकपटक भुरा हालेपछि १० वर्षसम्म फेरि हाल्नु नपर्ने टिलोपिया जातका माछाको हाल बजार मूल्य तीन सय रुपैयाँ प्रतिकिलो छ ।

पाँच सय लोकल कुखुरा र १५ वटा राँगा पालेका उनीहरूले बोयर जातको बाख्रा पनि पाल्ने तयारी गरिरहेका छन् । त्यस्तै, रिसोर्ट निर्माणका लागि डिपिआर बनाउने काम पनि भइरहेको मैनालीले बताए । रिसोर्ट सञ्चालनमा आएपछि अहिले भएका पोखरीहरूमध्ये चार वटालाई मिलाएर १७/१७ कट्ठा क्षेत्रफलका दुई वटा पोखरी बनाउने र त्यसमा बोटिङ गर्ने सुविधा तथा ग्राहकलाई त्यहीँबाट माछा निकालेर खुवाउने योजना रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्