सैलुङ गाउँपालिकाको उदाहरणीय काम, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चिटिक्क सडक तयार !

सैलुङ गाउँपालिकाको उदाहरणीय काम, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चिटिक्क सडक तयार !

काठमाडौँ-‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ फितलो भयो भनेर आलोचना भईरहेका बेला दोलखाको सैलुङ गाउँपालिकाले भने यो कार्यक्रम मार्फत उदाहरणीय काम गरेको छ । गाउँपालिकाको वडा नम्बर १ दुधपोखरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत हेर्न लायक सडक बनेको छ । पर्यटकीय नगरी सैलुङ जाने पदमार्ग पनि पर्ने र वडाबाट गाउँपालिकाको केन्द्रसम्म पुग्ने मुख्य सडक सोलिङ भएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा हेलमेट र पञ्जा लगाएर मकै गोडेको तस्विर भाइरल बनेको थियो । यो कार्यक्रम अन्तर्गतको भत्ता पचाउन कतिपय गाउँपालिका र वडामा आफ्ना नजिकका कार्यकर्तालाई हेलमेट र पञ्जा वितरण गरिएको घटना समेत आइरहेका छन् । तर दोलखाको सैलुङ गाउँपालिकामा भइरहेको एउटा कामले भने प्रधानमन्त्री रोजगार कार्यक्रम ओझ बढाइदिएको छ ।

 वडाध्यक्ष विर्ख बहादुर तामाङ

सैलुङ गाउँपालिकाको वडा नम्बर एकमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ९४ घनमिटर बाटो सोलिङ गरिएको छ । चार मिटर चौडाइ रहेको यस बाटोमा ४ सय ४८ जना कामदार लागेको र दैनिक ४० जनाले काम गरेको वडाध्यक्ष विर्ख बहादुर तामाङले बताए । उनका अनुसार प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट आएको ३ लाख ६२ हजार रुपैयाँ खर्च गरेर वडा कार्यलय देखि गाउँपालिकाको कार्यलय जोड्ने बाटोलाई व्यवस्थित गरिएको हो । जनताको सेवा र हितमा काम गर्नकै लागि निर्वाचित भएको हुँदा आफु विकास निर्माण र जनहितमा प्रतिवद्ध रहेको वडाध्यक्ष तामाङले बताए । उनले आगामी बर्षको बजेटलाई सदुपयोग गर्दै अझै विकसित ढंगले वडाभित्र विकासनिर्माणको कामलाई निरन्तरता दिने बताए ।

आगामी आर्थिक बर्षका लागि आएको बजेटलाई समेत कृषी र उत्पादनमुखी क्षेत्रमा लगाउँदै विकास निर्माणको कामलाई तीब्रता दिने उनले बताएका छन् । जनताको लागि निर्वाचित भएर आएपछि जनताकै लागि काम गर्नुपर्ने र माथिल्लो निकायबाट विकासको निम्ति आउने बजेटको पुर्ण सदुपयोग गर्न आफु प्रतिवद्ध रहेको उनले बताए । अघिल्लो आर्थिक बर्षमा पनि गाउँपालिकाबाट आएको बजेटको पुर्ण सदुपयोग गरिएको बताउँदै वडाध्यक्ष तामाङले अघिल्लो बर्ष पुरा नभएका काम यसबर्ष पुरा गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्