गाडी किन्ने बजेटले अस्पताल बनाउदै लम्कीचुहा नगरपालिका

गाडी किन्ने बजेटले अस्पताल बनाउदै लम्कीचुहा नगरपालिका

धनगढी/३२ करोड रुपैयाँको लागत अनुमानमा कैलालीको –१०, चुहामा ५० शैय्याको सामुदायिक अस्पताल निर्माण प्रक्रिया शुरु भएको छ । लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंका लागि गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँबाट शुरु भएको अस्पताल निर्माण प्रक्रिया शिलान्याससम्म पुग्दा लगानी तीन करोड १३ लाख रुपैयाँ पुगेको छ ।
लम्कीचुहा सामुदायिक अस्पताल नाम राखिएको ५० शैय्याको अस्पताल भवनको सिलान्यास प्रतिनिधिसभाका सांसद् झपट रावलले गरेका थिए । दुई वर्षभित्रै निर्माण सम्पन्न गरी सक्ने लक्ष्यसहित लम्कीचुहा नगरपालिकाले गाडी किन्न छुट्याएको ७५ लाख र म्याचिङ फण्डबाट १५ लाख गरी ९० लाख रुपैयाँ लगानी गरिरहेको छ ।

अस्पताल निर्माणका लागि प्रतिनिधि सभाका सांसद् रावलले एक करोड १० लाख र सोही क्षेत्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य नन्दबहादुर साउँदले एक करोड १३ लाख रुपैयाँ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट लगानी थपेका छन् । चुहाको राष्ट्रिय नव जागृति माध्यमिक विद्यालयले सो अस्पताल निर्माणका लागि ५ विघा १० कठ्ठा जमीन निःशुल्क उपलब्ध गराएको छ । लम्कीचुहा नगरपालिकाका मेयर बजगाईले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिन आगामी दिनमा पनि नगरपालिकाले बजेट छुट्याउने र थप बजेटका लागि प्रदेश र संघीय सरकारसंग पनि बजेट माग गरिएको बताए ।
सो अवसरमा प्रतिनिधि सभाका सांसद् रावलले लम्कीचुहा नगरपालिका र असपासका नागरिकलाई उपचार गराउन भारत जानुपर्ने बाध्यता अन्त्यका लागि अस्पताल निर्माण भइरहेको बताए । उनले अस्पताल बनेपछि लम्कीचुहा नगरपालिका आसपासका नागरिक समेत लाभान्वित हुने र अस्पतालबाट गुणस्तरीय सेवा प्रदाधन गरिने व्यवस्था मिलाइने बताए ।
यसैगरी, लम्कीचुहा–८ मा २५ लाख रुपैयाँ लगानी गरी निर्माण गरिएको सामुदायिक स्वास्थ्य केन्द्र संघीय सांसद् रावलले उद्घाटन गरेका छन् । सो स्वास्थ्य केन्द्र स्थापनाका लागि लम्कीचुहा नगरपालिकाले १५ लाख र सुदूरपश्चिम प्रदेश सरकारले १० लाख रुपैयाँ लगानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्