प्रदेश १ का दुई उपमहानगरपालिका : ३ अर्ब ६४ करोडको बजेट,कृषिलाई प्राथमिकता

प्रदेश १ का दुई उपमहानगरपालिका : ३ अर्ब ६४ करोडको बजेट,कृषिलाई प्राथमिकता

सुनसरी/ प्रदेश नम्वर १ का दुई वटा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि मंगलबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । दुवै उपमहानगरले नगरसभामा आगामी आवका लागि बजेट प्रस्तुत गरेका हुन् ।

                           उपमेयर लक्ष्मी गौतम

प्रदेश १ को इटहरी उपमहानगरले पाँचौ नगरसभावाट आगामी आवका लागि १ अर्ब ८५ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गर्यो । नगरसभामा उपमेयर लक्ष्मी गौतमले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ७९ करोड ४ लाख ५५ हजार, पूँजीगततर्फ १ अर्ब ५ करोड, ७५ लाख ५४ हजार र वित्तीय व्यवस्थातर्फ ७० लाख रुपैयाँको बजेट व्यवस्था गरिएको छ ।

बजेटमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, उद्योग ब्यापार, पर्यटन, खेलुकद र सामाजिक विकासलाई प्राथमिकता दिइएको छ । आगामी आर्थिक वर्षमा नगरपालिकाले वडास्तरीय र नगरस्तरीय सडक निर्माणमा जोड दिइएको छ । बाह्य चक्रपथ निर्माण, नगर यातायात गुरु योजना, सडकको गुणस्तर मापन गर्न गुणस्तर मापन ल्याव स्थापना, नीजि क्षेत्रको साझेदारीमा आधुनिक कृषि वजार स्थापना लगायतका योजना बजेटमा छन् ।

घरेलु औद्योगिक ग्राम स्थापनाका लागि ५० लाख, क्रिकेटपार्क निर्माण सम्पन्न गर्न ५० लाख, उपप्रमुखसँग सुत्केरी भेट अभियान, सवै सामुदायिक विद्यालयमा सिसि क्यामरा जडान लगायतका विषय बजेटमा समावेश छन् । यस्तै, शिक्षा क्षेत्रको विकासमा १ करोड ४५ लाख विनियोजन गरिएको छ भने खोला तथा ड्रेन सफाई कार्यक्रमका लागि ५० लाख, सार्वजनिक शौचालय निर्माण गर्न ७२ लाख, खेलमैदान निर्माण र खेदकुद विकासका लागि १ करोड १० लाख बजेट छ ।

यस्तै, प्रदेश १ को अर्को उपमहानगरपालिका धरान उपमहानगरले १ अर्ब ७८ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । १४ वटा गौरबको आयोजना समावेश बजेटमा शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिक पूर्वाधारमा सबै भन्दाबढी बजेट विनियोजन छ ।

उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदीले १ अर्ब ७७ करोड ९१ लख रुपैयाँ बराबरको अनुमानित बजेट नगरसभामा पेश गर्नुभएको हो । आन्तरिक आय तर्फ ३२ करोड २७ लाख ५ हजार, संघीय सरकारबाट संघीय समानीकरण अनुदान ३१ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

                  कार्यबाहक मेयर मञ्जु भण्डारी

त्यस्तै प्रदेश समानीकरण अनुदान ९८ लाख ६८ हजार, संघीय सशर्त अनुदान ३४ करोड ८५ लाख र प्रदेश सशर्त अनुदान २ करोड रुपैयाँ छ ।संघीय समपुरक अनुदानमा १ करोड विशेष अनुदानमा १ करोड, प्रदेश समपूरक अनुदानमा ५० लाख रुपैयाँ अनुमान छ ।

त्यस्तै सडक बोर्ड मार्फत् १ करोड २० लाख, एकीकृत शहरी विकास आयोजनाबाट २० करोड, जनसहभागिता मार्फत् २ करोड ५० लाख, नगर विकास कोषबाट १ करोड बजेट आय हुने अनुमान गरिएको छ । धरानले कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिक पूर्वाधारमा सबैभन्दा बढी बजेट विनियोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्