आठौं राष्ट्रिय खेलकुद हुर्ने जस्तै निश्चित

आठौं राष्ट्रिय खेलकुद हुर्ने जस्तै निश्चित

पुष , ३० नेपालगन्ज । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लिएर उत्पन्न अन्योलता चिरिंदै गएको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष समेत रहेका खेलकुद मन्त्री, प्राविधिक टोली, विभिन्न उपसमितिहरु सबैसँग निरन्तर छलफलमा आफु रहेको जानकारी दिंदै सदस्य सचिव विष्टले निर्माण कार्यलाई समयमै सक्नेतिर केन्द्रित रहेको बताए ।

‘सबैको साथ, सहयोग र सहकार्यबाट आठौं राष्ट्रिय खेलकुदलाई समयमै भव्य र सभ्य ढंगले आयोजना गर्न सक्छौं’, सदस्य सचिव विष्टले भने ।सदस्य सचिव विष्टले नेपालगन्ज रंगशाला र जिल्लामा निर्मार्णाधिन खेल पूर्वाधारका ठेकेदार, इन्जिनियर, सब इन्जिनियर लगायतका प्राविधिकहरुसँग विशेष बैठक पनि गरेका छन् । ‘हाइलोजन लाइटको व्यवस्था गरेर रातभर काम गर्ने व्यवस्था मिलाइएको छ’, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले एक सातामै तेस्रो पटक सदस्य सचिव नेपालगन्ज आउनुको गम्भीरता तर्फ संकेत गर्दै भने, ‘भरभर्दो र समयमै सबै पूर्वाधार तयार गरेरै प्रतियोगिता आयोजना गर्ने कुरामा सदस्य सचिव प्रतिबद्ध हुनुहुन्छ ।’

प्राविधिक टोली सहित सदस्य सचिव विष्ट आज बिहीबार दाङ्गको बेलझुण्डी रंगशाला, लमही स्थित क्रिकेट मैदान लगायतका संरचनाहरुको स्थलगत अनुगमनका लागि जाँदैछन् । बुधबार साँझ नेपालगन्ज आइपुगेका विष्टले टोलीमा क्षेत्रीय अध्यक्ष ओली सहित इन्जिनियर आशिष राई, ब्रिजलाल गिरी, सब इन्जिनियर कर्मा शाही, प्रेम राज पन्त, दुष्यन्त बस्नेत, चन्द्र रेग्मी, पुष्प सापकोटा, क्षेत्रीय निर्देशक जयन्त शर्मा, उपनिर्देशक चन्द्र गुरुङ्ग, विष्णु शर्मा, मिन बहादुर जिसीसँग विशेष बैठक गरेका हुन् । ‘त्यस लगत्तै शुक्रबार विशेष प्रशिक्षण राखिएको छ’, अध्यक्ष ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्