हुम्लाको सिमकोट गाउँपालिकामा किसानलाई तरकारी खेतिको तालिम

हुम्लाको सिमकोट गाउँपालिकामा किसानलाई तरकारी खेतिको तालिम

सिमकोट, हुम्ला । तरकारी खेतिलाई व्यवस्थित तथा उत्पादनमा वृद्धि गर्न महिला किसानहरुलाई घरबारी तरकारी खेती सम्बन्धि तालिम प्रदान गरिएको छ । आधुनिक तरकारी खेतीको विकास गर्नका लागि तरकारी खेतीमा बढी लाग्ने महिला किसानहरुलाई यो तालिम प्रदान गरिएको हो । 
परम्परागत रुपमा तरकारीको बीउ छर्ने र बेर्ना लगाउदा उत्पादन कम हुने अनुभव सुनाउनु हुने सिमकोट पाँचकी किसान मुसी रावतले नयाँ तरिका सिक्दा अब तरकारी खेतीको उत्पादनमा वृद्धि गर्न सकिने मात्र होईन, किरा लागेमा स्थानीय जैविक विषादी निर्माण गरेर त्यसलाई नियन्त्रण गर्न सकिने तरिका सिकेर लागु पनि गरेको बताउनु भयो । यसमा प्याज, बन्दा काउली र टमाटरको बीउ छर्ने बेर्ना लगाउने तरिका सिकेपछि अब तरकारीको उत्पादनमा वृद्धि गर्न सहयोग पुगेको उहाँले बताउनु भयो । रावत विगत लामो समय देखि हुम्लामा तरकारी उत्पादन गरेर बिक्री गर्ने किसानका रुपमा पहिचान बनाउदै आउनु भएको छ । 
जिल्लामा केही तरकारीको बीउ छर्ने बेला भएको र केहीको बेर्ना सार्ने समय भएपछि तरकारी खेतीमा बढी लाग्ने महिलाहरुलाई तालिम प्रदान गरिएको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका प्राविधिक जंग बहादुर शाहीले बताउनु भयो । सिमकोट गाउँपालिका वडा नम्बर चार, पाँच र छ का तीस जना महिला किसानहरु घरबारी तरकारी खेती सम्बन्धि तालिम प्रदान गरिएको उहाँले बताउनु भयो । तालिमबाट तरकारीको बीउ छर्ने, बेर्ना लगाउने र तरकारीमा किरा लागेमा त्यसलाई स्थानीय उपचार विधिका बारेमा पनि जानकारी गरिएकोले किसानहरुलाई उपयोगी हुने उहाँले बताउनु भयो । जिल्लामा केही वर्ष अगाडी देखि आयआर्जनका क्षेत्रमा काम गर्दै आएको गुड नेवर्स इन्टरनेस्नलको आर्थिक सहयोग तथा केन्द्रको प्राविधिक सहयोगमा तालिम संगै बीउ पनि उपलब्ध गराइएको थियो । तालिम पछि राम्रो काम गर्ने उत्कृष्ट किसानहरुलाई बेमौसमी तरकारी खेतीका लागि ग्रीन हाउस निर्माण गर्न पाल तथा बीउ पनि उपलब्ध गराईने केन्द्रका कार्यकारी निर्देशक गोविन्द शाहीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्