१४ हजार छात्रालाई साइकल बाँड्दै प्रदेश सरकार

१४ हजार छात्रालाई साइकल बाँड्दै प्रदेश सरकार

जनकपुरधाम- प्रदेश नम्बर दुईको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय परिसरमा अहिले साइकल कस्दै गरिएको दृश्य देखिन्छ ।

प्रदेश सरकारको ‘बेटी पढाउ बेटी बचाउ अभियान’ अन्तर्गत प्रदेशका आठ वटै जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई वितरण गर्नका लागि उक्त साइकल कस्दै गरिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले छोरीहरूको पढाइलाई प्रोत्साहन मिल्न सकोस् भन्ने ध्येयका साथ प्रदेशका छात्राहरूलाई अभियान अन्तर्गत साइकल वितरण गर्न गर्न लागेका हुन् । कुल १४ हजार छात्राहरूलाई साइकल वितरण गरिने मुख्यमन्त्री राउतको लक्ष्य रहेको ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान’ कार्यक्रमका सहजकर्ता प्रियंका यादवले बताइन् ।

सप्तरी राजविराजकी यादवलाई मुख्यमन्त्री राउतले करारमा नायब सुब्बा सरहको पारिश्रमिक दिने गरी मन्त्रालयमा सहजकर्ताको रूपमा भर्ना गरेका छन् । उनले भनिन्,‘पहिलो चरणमा ४ हजार साइकल वितरण गरिनेछ भने दोश्रो चरणमा १० हजार साइकल वितरण गरिनेछ ।’

सामुदायिक विद्यालयको कक्षा ८ देखि १० कक्षासम्मका छात्राहरूलाई पहिलो चरणमा साइकल वितरण गरिनेछ भने दोश्रो चरणमा कक्षा १२ सम्मका छात्राहरूलाई उक्त साइकल वितरण गरिनेछ । साइकल कस्सिँदै गरेको भए पनि कहिले र कुन-कुन विद्यालयका छात्रालाई साइकल वितरण गरिने भन्ने विषयको टुंगो नलागेको यादवले बताइन् । अहिले प्रदेशका आठ वटै जिल्लाका सामुदायिक विद्यालयहरूले विद्यालयको लेटर प्याडमा कक्षागत छात्राको संख्या उल्लेख गरेर साइकल उपलब्ध गराइदिन भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा माग गर्ने गरिएको पत्र आइ रहेको उनले जानकारी दिइन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सुचना अधिकारी पदम प्रसाद पोखरेलका अनुसार मन्त्रालयले विराटनगरका हेलिस इन्टरप्राइजेजलाई साइकल आपूर्ति गर्न टेन्डर दिएको छ । ‘प्रति साइकल ४ हजार २ सयका दरले पहिलो चरणमा ४ हजार साइकल उक्त इन्टरप्राइजेजले आपूर्ति गर्नेछ,’ सुचना अधिकारी पोखरेलले भने, ‘निर्देशक समितिको बैठक बसेर निर्णय गरेपछि आउँदो असार १५ गतेभित्र ती साइकल वितरण गरिनेछ ।’

दोस्रो चरणको लागि आपूर्ति गरिने १० हजार थप साइकल कसलाई टेन्डर दिने भन्ने निर्णय अहिले नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्