१२ वर्षमै बिहे, त्यो पनि ३२ वर्षीय सँग !

१२ वर्षमै बिहे, त्यो पनि ३२ वर्षीय सँग !

मयाराम शाही । उनी उमेरले १२ पुगिन् । आफ्नै स्याहार आफैँ गर्न नसक्ने अवस्थामा भएको उनको गएको साता बिहे भयो ।
त्य पनि आफूभन्दा २० वर्ष पाको दल बहादुर शाहीसँग । दलबहादुरको मयारामसँग भएको यो दोस्रो बिहे हो ।

पहिलेकी पत्नीको मृत्युपछि उनले मयारामसित बिहे गरेका हुन् । दलबहादुरका दुई सन्तान छन् । मयारामलाई आफ्नो बिहे दलबहादुरसँग भएको पत्तो समेत छैन । “उसले अझै पनि म उसको श्रीमान् हो भन्ने थाहा पाउँदिन,” दलबहादुरले भने – “सानै छे, उमेर बढेसँगै विस्तारै सबै कुरा बुझ्छे भन्ने विश्वासमा छु ।” उनले आफ्नो समुदायमा उमेर मिल्ने महिला नभएपछि कम उमेरकै केटीसँग बिहे गर्न बाध्य भएको सुनाए ।

उनी जस्तै यही वस्तीकै १३ वर्षीया सुरमान शाही ३१ वर्षीय शिवराज शाहीसँग विवाह बन्धनमा बाँधिएकी रहिछन् । पछिल्लो एक सातामा १४ वर्षीया बाँगे शाहीले २२ वर्षीया हीरासिंह शाहीसँग विवाह गरिन् । त्यस्तै खेमराज शाही र सुविधा शाही तथा सुरेन्द्र शाही र मसुरी शाहीको पनि यही महीना विवाह भएको हो । एक साता अवधिमा राउटे वस्तीका पाँच बालिकासँग विवाह गरेका अधिकांश पुरुषको धेरै नै बढी छ ।

राउटे बस्तीमा यी सबै विवाह राति गरिएका हुन् । विवाह गरेका सबै १३ देखि १५ वर्षसम्मका किशोरी छन् । राउटेहरू रास्कोटी, कल्याल र स्ववंशी गरी तीन प्रकारका रहेको मुखिया सूर्यनारायणले जानकारी दिए । उनका अनुसार आफ्नै उमेर समूहका महिला नभएका कारण अधिकांश युवा अविवाहित छन् । विवाहपछि केटा र केटीलाई छुट्टै राख्ने चलन छ । “विवाहपछि छुट्टै छाप्रो बनाएर उनीहरूलाई बसाउने गरिन्छ,” उनले भने ।

दक्षिण एशियाकै लोपोन्मुख मानिएको राउटे आफूलाई जङ्गलको राजा मान्ने गर्दछन् । यो समुदायमा सानै उमेरमा विवाह गर्ने महिलाको सङ्ख्या बढी छ । सुर्खेतको लेकबेसी नगरपालिका वडा नं १ भेरी नदी किनारमा बसोबास गरिरहेका राउटे समुदायमा गत एक साताको अवधिमा भएका विवाहले त्यो पुष्टि गर्छ ।

जनसङ्ख्या व्यवस्थापनमा खासै चासो नराख्ने राउटे समुदायमा महिलाहरूले उमेर नपुग्दै विवाह गर्नुपर्ने बाध्यता परम्पराजस्तै बनिसकेको छ । “केटाहरू धेरै हुन्छन्,” मुखिया सूर्यनारायणले भने – “बिहे गर्न वर्षौ कुर्नुपर्छ तर पनि, कत्ति केटाको त निकै मुश्किलले मात्रै पालो आउँछ ।” केटी नपाउँदा धेरैजसो पुरुषको त ४० वर्ष कटेपछि मात्रै बिहे हुने गरेको उनी बताउँछन् । पुरुषले लामो समय कुर्नुपर्ने तर, महिलाले भने १२ वर्ष पुग्नेबित्तिकै विवाह गर्नुेपर्ने बाध्यता परम्परा जस्तै बनेको छ यो वस्तीमा ।

छोरी जन्मनासाथ कसैको श्रीमती तोक्ने गरिएको छ राउटे समुदायमा । “छोरी जन्मिनेबित्तिकै कसैको श्रीमती बन्छे,” समुदायकी एक महिलाले भनिन् – “कोसँग बिहे गर्ने भन्ने कुरा जन्मिएकै दिन टुङ्गो लगाइन्छ, उमेरको कुनै वास्ता हुन्न ।” सानै उमेरमा बिहे गर्ने र छिट्टै आमा बन्नुपर्ने बाध्यताकै कारण कत्तिका सन्तान खेर गएका छन् भने कत्तिले अकालमा ज्यान गुमाएका छन् । सानै उमेरमा विवाह गरेकै कारण ३० वर्षीया प्रकाश शाही र १७ वर्षीया महिन शाहीबाट जन्मिएका जुम्ल्याहा छोरीहरुको ज्यान गयो ।

दैलेखको गुराँस गाउँपालिका–८ अन्तर्गत गर्चामास्थित पातलेखोला किनारमा बसोबास गर्दा जन्मिएका ती दुई बालिका सोही ठाउँको माथिल्लो भाग पानीपोखरा आएलगत्तै जुम्ल्याहा दुबै छोरीको मृत्यु भएको थियो । यो तत्कालै भएको घटना मात्रै हो तर, राउटे समुदायमा त्यसरी ज्यान गुमाउनेको विवरण राखिएको छैन ।
यति हुदाँहुदै पनि केहि परीवर्तनहरु राउटे समुदायमा देख्न सकीन्छ । लेखपढ नगर्ने, जागीर नखाने र खेतीपाती नगर्ने राउटे पछिल्लो समय परिवर्तन हुने थालेका छन् । उनीहरुले आधुुनिक जीवनशैली अङ्गाल्न थालेका हुन् । अक्षर चिन्नु पनि मान्यता विपरीत रहेको यो समुदायका बालबालिकाहरु पछिल्लो समय कखरा सिक्न थालेका छन् । वस्ती नजीकै बसेर सिकेको थाहा पाए मुखियाले गाली गर्ने भएकै कारण बालबालिकाहरु वस्तीभन्दा केही टाढा गएर लेखपढ गर्ने गरेका छन् ।

दैलेखको सोसेक नेपालमार्फत सञ्चालन भएको राउटे परियोजनाले जोडी शिक्षक र अहेवको व्यवस्था गरेको छ । उनीहरु समुदायमै खटिएका छन् । राउटे समुदायमा खटिनुभएकी शिक्षिका खत्रीका अनुसार राउटे बालबालिकाहरु पढाइ र लेखाइमा इच्छुक भए पनि समुदायका अगुवाले अवरोध गर्ने गरेका छन् ।

समुदायका अन्य सदस्यहरु पनि आधुनिकतामा रमाउन थालेका छन् । बिरामी हुँदा होस् या चोटपटक लाग्दा जडीबुटी प्रयोग गर्ने उनीहरु अहिले औषधि उपचार गर्न थालेको अहेव विनोद कुमारी बिसीले बताइन । राउटेहरु औषधि उपचारमा विश्वास गर्न थालेको बताउँदै अहेव बिसीले भने – “हिजोआज सामान्य चोटपटक लाग्दा पनि हामीसँग औषधि उपचार गराउन आउँछन् ।”

त्यतिमात्र नभई एकसरो गादो मात्र लगाउने राउटे समुदायमा पुरुष टोपी, जुत्ता, चप्पल, कमिज, टिसर्ट र महिलाहरू गुन्यूचोलो, पटुकी र गलामा पोते लगाउन थालेका छन् । यस समुदायमा अहिले १४५ जनाको सङ्ख्या रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्