स्थानीयहरु सबै सजग भइसकेका छन्ः वडाध्यक्ष वाइबा

स्थानीयहरु सबै सजग भइसकेका छन्ः वडाध्यक्ष वाइबा

अमले, सिन्धुली । घ्याङलेख गाउँपालिकाको वडा नंं १ ले कोरोना भाइरस नियन्त्रण गर्न विभिन्न कार्यक्रमहरू गरिरहेको छ । नेपालभरी संक्रमणको संख्या बढ्दै गएकोले वडामा पनि संक्रमण बढ्न सक्ने खतरा रहेको वडा अध्यक्ष रामकाजी वाइबाले बताउनुभयो । उहाँले संक्रमणबाट बच्न वडाले विभिन्न सावधानीका उपायहरू अपनाउँदै गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म कोरोनाको प्रभाव यस वडाभित्र परेको छैन । विदेश लगायत नेपालका अन्य जिल्लाबाट आउने व्यक्तिहरूलाई वडाकै क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौं । १४ दिन क्वारेन्टाइनमा राखेर पि.सि.आर परीक्षण गराई मात्र रिर्पोट अनुसार काम कारबाही अगाडि बढाउने गरेका छौं । अहिलेसम्म संक्रमित नभएको कारणले त्यस्तो समस्या छैन ।’

वडाले टोल टोलमा गएर यसबाट बच्नलाई अपनाउनुपर्ने उपायहरूको बारेमा सबैलाई जानकारी दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘टोलटोलमा मास्क र साबुन वितरण गर्यौं । अहिलेको अवस्थामा सबै सजग नै हुनुहुन्छ ।’ महामारीले गर्दा विकासका कामहरू अगाडि बढ्न नपाएको उहाँले बताउनुभयो । ‘सबैको ध्यान भनेको कोरोना नियन्त्रण नै हो जसले गर्दा विकासका कामहरू सोचेजस्तो अगाडि बढन् पाएनन्’ , उहाँले भन्नुभयो ‘तर पनि यसै महामारीको बीचमा हामीले किसानको मागलाई मध्यनजर गरेर वडाबाट ३ थान मिनी टिलर ट्याक्टर, २ थान धान काट्ने मेसिन, २ थान झार काट्ने मेसिन र २ थान बोट बिरुवा रोप्ने तथा खाडल खन्ने अर्थपिड मेसिन वितरण गर्ने कार्यक्रम गरेका थियौं । ’

प्रतिक्रिया दिनुहोस्