सिन्धुली दुधौलीका भूमिहीन भूकम्प पीडितलाई थातथलोमै घर बनाउने अनुमति

सिन्धुली दुधौलीका भूमिहीन भूकम्प पीडितलाई थातथलोमै घर बनाउने अनुमति

काठमाडौँ । सिन्धुली जिल्लाका भूमिहीन भूकम्प पीडित ८१५ जना लाभग्राहीलाई बसोबास गरिआएकै थातथलोमा घर पुनःनिर्माण गर्न स्वीकृति दिइएको छ ।

सिन्धुलीको दुधौली नगरपालिकाका विभिन्न ११ वटा वडामा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका भूकम्प पीडितलाई स्थानीय सर्जिमिन, बिजुली, धारा वा मतदाता परिचयपत्रका आधारमा घर पुनःनिर्माणको स्वीकृति दिइएको हो । सो निर्णयपछि लाभग्राहीले पुनःनिर्माणको तीन लाख रुपियाँ लिन बाटो खुलेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको काममा सहयोग गर्न गठित जिल्ला समन्वय समितिको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो । समन्वय समितिका संयोजक सांसद गणेश पहाडीले दिएको जानकारी अनुसार, जिल्लामा एक हजार ५४५ जना भूकम्प प्रभावित भूमिहीन लाभग्राही रहेका छन् । बाँकी भूमिहीन भूकम्प पीडित लाभग्राहीको पनि निर्णय गरिने सांसद पहाडीले जानकारी दिए। भूमिहीन भूकम्प पीडितले अन्यत्र स्थानमा गएर आवास निर्माण गर्न चाहेमा जग्गा खरिदका लागि दुई लाख रुपियाँ थपसमेत प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्