सायल गाउँपालिकामा भारतबाट आएका व्यक्तिमा मात्रै संक्रमण भेटियो

सायल गाउँपालिकामा भारतबाट आएका व्यक्तिमा मात्रै संक्रमण भेटियो

डोटी । हाल महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाइरहेको छ । यस महामारीको असर नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको छ । छिमेकी देश भारतमा संक्रमण डरलाग्दो रूपमा बढेको हुनाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि बढ्दै गएको देखिन्छ । नेपालका तीनै तहका सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण हुन्छ । नेपाल मिडिया सेन्टरले डोटी जिल्ला अवस्थित सायल गाउँपालिकाका स्वास्थ्य संयोजक शिवराज जोशीलाई गाउँपालिकामा कोरोनाको अवस्थाको कस्तो छ र रोकथामको लागि गाउँपालिकाले के कस्ता प्रयासहरू गरिरहेको छ भन्ने प्रश्नहरू सोधेको थियौँ । उहाँले गाउँपालिकामा ९१ जनलाई संक्रमण देखिएको थियो ती मध्ये ३ जना आइसोलेसनमा उपचाररत छन् भने बाँकी सबै उपचार पश्चात ठीक भई घर फर्किसकेको बताउनुभयो । संक्रमित सबै भारतबाट आएका नागरिक रहेको उहाँले जानकारी गराउनुभयो ।


त्यसैगरी हालसम्म गाउँपालिकामा ८३९ जनाको पि.सि.आर र १६२२ जनाको आर.डि.टी परीक्षण भइसकेको जोशीले बताउनुभयो । गाउँपालिकाले सुरुमा ४८ वटा क्वारेन्टाइनको व्यवस्था गरेकोमा हाल क्वारेन्टाइनमा बस्नेको संख्यामा कमी आएपछि जम्मा २ वटा मात्र क्वारेन्टाइन रहेको जोशीले जानकारी गराउनुभयो । त्यसैगरी २ वटा क्वारेन्टाइमा ३÷३ जना गरी हाल जम्मा ६ जना व्यक्ति रहेको उहाँले बताउनुभयो ।

कोरोनाको थप नियन्त्रण तथा न्यूनिकरणको लागि गाउँपालिकाले प्रत्येक वडामा कोरोना भाइरसबाट बच्नका लागि अपनाउनुपर्ने उपायहरूको बारेमा स्थानीयबासीहरूलाई चेतना दिइरहेको जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्