भारतको साढे चार करोड अनुदान सहयोगमा बन्यो कोटेश्वर बहुमुखी क्याम्पसको नयाँ भवन

भारतको साढे चार करोड अनुदान सहयोगमा बन्यो कोटेश्वर बहुमुखी क्याम्पसको नयाँ भवन

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले कोठमाडौंको कोटेश्वर बहुुमुखी क्याम्पसको नवनिर्मित क्याम्पस भवनको उद्घाटन गरेका छन् । शनिबारको उक्त उद्घाटन समारोहमा नेकपा नेता तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डे, लगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागिता थियो ।

भारत सरकारको ४ करोड ५१ लाख रुपैंया अनुदान सहयोगमा निर्मित तीन तल्ले नयाँ संरचनामा १८ वटा कक्षाकोठा लगायत क्याम्पस प्रमुख, परीक्षा शाखा, प्रशासन शाखा, लेखा शाखाका लागि छुट्टै कक्ष रहेका छन् । साथै छात्र र छात्राका लागि छुट्टै शौचालयको व्यवस्था रहेको छ । नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
सन् १९९० मा स्थापना भएको कोटेश्वर बहुुमुखी क्याम्पस काठमाडौं जिल्लाको कोटेश्वरमा अवस्थित छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो क्याम्पस गैर नाफामुखी, गैर सरकारी र सेवामुखी सामुदायिक क्याम्पस हो । यस क्याम्पसले स्नातक तहमा व्यवस्थापन, शिक्षा तथा मानविकि सङ्काय र स्नातकोत्तर तहमा व्यवस्थापन सङ्कायका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस क्याम्पसले उच्च माध्यमिक तहमा व्यवस्थापन, शिक्षा तथा मानविकि सङ्कायका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस क्याम्पसमा करिब ३,७०० विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ६० छात्रा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्