प्रधानमन्त्रीले बिबिसीमा भने सगरमाथा आरोहणलाई लिएर अनावश्यक हल्ला चलाइयो [भिडियो]

प्रधानमन्त्रीले बिबिसीमा भने सगरमाथा आरोहणलाई लिएर अनावश्यक हल्ला चलाइयो [भिडियो]

लन्डन- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताएका छन्। बिबिसी वर्ल्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि स्पष्ट गरे।

नेपाल बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई)मा सहभागी भएको बारेको प्रश्नमा उनले भने, ‘हामी लगानीका लागि आमन्त्रण गर्छौं। हामी आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौं, जथाभावी स्वीकार गर्दैनौं। हामी अरुको अनुभवका विषयमा कुरा गर्न चाहँदैनौं। हाम्रो अनुभवमा हामी यसलाई व्यवस्थापन गर्न सक्छौं र यसको हिसाबकिताब पनि गरेका छौं।’

विकासका संरचना निर्माण गर्दा वातावरणमा पर्ने प्रभावका विषयको प्रश्नमा प्रधानमन्त्री ओलीले वातावरण सन्तुलनका लागि नेपालले निकै योगदान दिएको बताउँदै यस वर्ष एक करोडभन्दा बढी रुख रोप्ने अभियान चलाइने जानकारी दिए।

भिडियो सौजन्य : नवीनसिंह खड्का।


उनले भने, ‘हामीले २५ लाख रुख काट्यौँ भने ५० लाख रुख रोप्न सक्छौं। हामी नदीका लागि पनि काम गरिरहेका छौं। हामीसँग ४५ प्रतिशत भू-भागमा वन छ। नेपालको १७ प्रतिशत भूमि हिउँले ढाकेको छ, १३ प्रतिशत भूमि सबै मौसममा हिउँले ढाकेको हुन्छ। यसले पानी पुनः भण्डार र सञ्चयमा सहयोग गरिरहेको छ। यसले वायु र भूमिलाई चिसो पनि बनाइरहेको छ। हाम्रो वनले निकै योगदान दिइरहेको छ। वातावरणीय प्रश्नका लागि हामीसँग ६२ प्रतिशत भूमि छ।’

उनले विकासको कुरा गर्दा वातावरणको क्षय र लापरवाहीको प्रश्न सधैँ देखिए पनि नेपाल यसप्रति सचेत भएको उल्लेख गरे।

कार्यक्रमको आरम्भमा नवीनसिंह खड्काको सगरमाथा चढ्न जाने यात्रुको लामो लाममा आरोहीले घण्टौँ पर्खनुपर्ने अवस्थाको प्रस्तुति थियो। यस वर्ष ११ आरोहीको मृत्यु भएको समाचारमा देखाइएको थियो।

प्रस्तुतिमा एक आरोही अलन आर्नेटले सगरमाथामा यस वर्षको घातक अवस्थाका तीन कारण– सीमित उपयुक्त मौसम दिन, बढी अनुमति तथा बजार प्रतिस्पर्धाका कारण कम्पनीले प्रस्ताव गरेको न्यून मूल्य रहेको बताएका थिए।

प्रधानमन्त्री ओलीले यस विषयमा अनावश्यक हल्ला चलेको बताउँदै त्यत्ति धेरै अनुमति नदिइएको स्पष्ट गरे। ‘आरोहीले राम्रो मौसमका लागि कुरे। कहिलेकाहीँ उनीहरुले धेरै दिन कुर्नुपर्छ। यसमा पुनः विचार गर्नु आवश्यक छ। हल्ला गरिएझैँ जटिल अवस्था होइन’, उनले भने।

आगामी दिनमा आरोहीलाई अनुमति दिँदा र सम्बन्धित अधिकृतका विषयमा पनि ध्यान दिइने बताउँदै उनले यातायात अवरुद्ध भएकैले आरोहीको मृत्यु भएको कुरा साँचो नभएको स्पष्ट गरे। ‘हामीले केही नियममा संशोधन गरेका छौँ। पथप्रदर्शकको सङ्ख्या, अक्सिजन सिलिण्डरको सङ्ख्या, तयारी आवश्यकता, आरोहणको उचित सङ्ख्या आदिका विषयमा हामीले संशोधन गरेका छौं,’ प्रधानमन्त्री ओलीले भने।रासस

प्रतिक्रिया दिनुहोस्