संघीय सरकारको बजेटमा मकवानपुर

संघीय सरकारको बजेटमा मकवानपुर

हेटौँडा । संघीय सरकारले प्रस्तुत गरेको आगामी वर्षको  बजेटमा मकवानपुरका केही विषयहरु पनि समेटिएका छन् । बजेटले मकवानपुरमा ठूलो हिस्सा पर्ने फास्ट ट्र्याकका लागि बजेट विनियोजन गरेको छ ।

नेपाली सेनाले बनाइरहेको उक्त सडकका लागि १५ अर्ब एक करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै, औद्योगिक विकास तर्फ पनि मकवानपुरमा बजेट विनियोजन भएको छ । मयुरधापमा बन्ने नयाँ औद्योगिक क्षेत्रका लागि अर्थ मन्त्रीले बजेट विनियोजन गरेको जानकारी गराएका छन् । यस्तै, हेटौंडा सिमेन्टको क्षमता विस्तारका लागि पनि बजेट विनियोजन भएको छ । पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट र हेटौंडा सिमेन्टको क्षमता विकास गरिने उल्लेख भए पनि बजेटको अंक भने खुलाइएको छैन । यस्तै, आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी कान्तिपथका लागि ६१ करोड रुपैयाँ विनियोजन भएको छ । ढल्केवर–हेटौंडा प्रशारण लाइनका लागि पनि बजेट विनियोजन भएको छ । मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको छ । संघीय सरकारले खेलकुद पूर्वाधार विकासका लागि धेरै कार्यक्रम अघि सारे पनि गौरीटार रंगशालाका लागि भने बजेट विनियोजन गरेको छैन । करिब एक दशक अघि शिलान्यास भए पनि गौरीटार रंगशालाको काममा ठोस प्रगति हुन सकेको छैन । विगत बजेटमा पनि यो रंगशालालाई रकम विनियोजन भएको थिएन । प्रदेश तीन सरकारले यसका लागि बजेट विनियोजन गर्ने बताएको छ । नीति तथा कार्यक्रममा पनि समेटिएको यो रंगशालाका लागि अब प्रदेश सरकारले काम गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्