संक्रमण फैलिन नदिन सचेतना फैलाउँदै छत्रेश्वरी गाउँपालिका

संक्रमण फैलिन नदिन सचेतना फैलाउँदै छत्रेश्वरी गाउँपालिका

सल्यान । नेपालका तीनै तहका सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण रहेको हुन्छ । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य संयोजक केशरी भट्टराईलाई गाउँपालिकामा कोरोनाको अवस्था कस्तो छ र रोकथामको लागि गाउँपालिकाले के कस्ता प्रयासहरू गरिरहेको छ भन्ने प्रश्न गरेको थियौँ । उहाँले गाउँपालिकामा ५ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको थियो ती मध्ये २ जना ठीक भई घर फर्किसकेको र ३ जना आइसोलेसनमा रहेको बताउनुभयो । संक्रमित व्यक्ति सबै भारत तथा अन्य मुलुकबाट आएका नागरिक रहेको उहाँले बताउनुभयो ।


हालसम्म ३४० जनाको पि.सि.आर र ८० जनाको आर.डि.टी परीक्षण भइसकेको भट्टराईले जानकारी गराउनुभयो । गाउँपालिकाले हाल २ वटा क्वारेन्टाइन र ३२ बेडको आइसोलेसनको व्यवस्था गरेको छ । त्यसैगरी क्वारेन्टाइनमा बस्नेको संख्या २४ जना रहेको संयोजक भट्टराईले बताउनुभयो । स्वाँब संकलनको लागि जिल्लाबाट स्वास्थ्यकर्मी आएतापनि कोरोना भाइरससँग लड्न गाउँपालिकामा चाहिने स्वास्थ्यकर्मी तथा प्रविधि गाउँपािलकाले नै व्यवस्था गर्दै आइरहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले टोल टोलमा माइकिङ गरेर नागरिकलाई सतर्कता गराउने, पोस्टर पम्पलेट टाँस्ने र स्वास्थ्यकर्मी परिचालन गरी सम्पूर्ण नागरिकलाई यस महामारीबाट बच्नलाई सचेत गराइरहेको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्