संक्रमण नफैलेपनि सावधानी अपनाइरहेका छौंः वडाध्यक्ष मगर

संक्रमण नफैलेपनि सावधानी अपनाइरहेका छौंः वडाध्यक्ष मगर

ककुरठाकुर, सिन्धुली । नेपालमा दिनानुदिन कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । यसको रोकथाम तथा नियन्त्रण गर्न तीनै तहका सरकार प्रयासरत छन् । तीनै तहका सरकारमध्ये स्थानीय सरकारको भूमिका यसको रोकथामको लागि एकदम महत्वपूर्ण हुन्छ । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले दुधौली नगरपालिकाको वडा नं. १४ का वडा अध्यक्ष लिला बहादुर थापा मगरलाई वडामा कोरोनाको अवस्था कस्तो छ र रोकथामको लागि वडाले के कस्ता प्रयासहरू गरिरहेको छ भनेर सोधेका थियौं । उहाँले हालसम्म वडाभित्र कसैलाई पनि कोरोना संक्रमण नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म यस वडाभित्र संक्रमित नभएका कारणले त्यस्तो खासै प्रभाव परेको छैन । ’

त्यसैगरी बाहिरबाट आउने व्यक्तिहरु जसको पि.सि.आर रिर्पोट नेगेटिभ छ उनीहरुलाई १४ दिन सुरक्षित होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको मगरले बताउनुभयो । पि.सि.आर रिर्पोट नभएकाहरुलाई नगरपालिकाको क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको उहाँले जानकारी गराउनुभयो । कोरोनाबाट बच्न वडामा विभिन्न कार्यक्रमहरू गरिरहेको उहाँले बताउनुभयो । वडाले यसबाट बच्नका लागि भिडभाड नगर्ने, सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने, साबनु पानीले हात धुने जस्ता चेतनामूलक कार्यक्रमहरू प्रचार प्रसार गरिरहेको उहाँले जानकारी गराउनुभयो । वडाले गरेको काम कारबाहीप्रति अहिलेसम्म नागरिक सबै सन्तुष्ट नै रहेको वडा अध्यक्ष मगरले बताउनुभयो । कोरोना भाइरसको महामारीले गर्दा वडालाई धेरै आर्थिक क्षति भएको मगरले बताउनुभयो । यस वर्ष यातायात सञ्चालनका लागि बाटो बनाउने कामदेखि सबै बस्तीहरुमा विद्युत पुर्याउने वडाको लक्ष्य रहेको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्