संक्रमणबाट बच्न मापदण्ड अपनाई विकासका काम अगाडि बढाएका छौंः वडाध्यक्ष खड्का

संक्रमणबाट बच्न मापदण्ड अपनाई विकासका काम अगाडि बढाएका छौंः वडाध्यक्ष खड्का

बिरौटा, दोलखा । नेपालमा दिनानुदिन कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । यसको रोकथाम तथा नियन्त्रण गर्न तीनै तहका सरकार प्रयासरत छन् । तीनै तहका सरकारमध्ये स्थानीय सरकारको भूमिका यसको रोकथामको लागि एकदम महत्वपूर्ण हुन्छ । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले मेलुङ गाउँपालिकाको वडा नं. ७ का वडा अध्यक्ष नवराज खड्कालाई वडामा कोरोनाको अवस्था कस्तो छ र रोकथामको लागि वडाले के कस्ता प्रयासहरू गरिरहेको छ भनेर सोधेका थियौं । उहाँले हालसम्म वडाभित्र कसैलाई पनि कोरोना संक्रमण नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म यस वडाभित्र संक्रमित नभएका कारणले त्यस्तो खासै प्रभाव परेको छैन । ’ त्यसैगरी बाहिरबाट आउने व्यक्तिहरूलाई १५ देखि २१ दिनसम्म क्वारेन्टाइनमा राखी पि.सि.आर परीक्षणको रिर्पोट अनुसार पठाउने गरेको उहाँले बताउनुभयो ।


कोरोनाबाट सम्पूर्ण क्षेत्रमा असर परेकाले धेरै समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महामारीको कारणले शैक्षिक क्षेत्र, व्यापार व्यावसाय सम्पूर्ण क्षेत्रमा असर परेको हँुदा समस्या भएको छ । संक्रमण नभेटिएको कारणले त्यस्तो गाह्रो महशुस भएको छैन । ’कोरोनाबाट बच्न वडामा सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट विभिन्न चेतनामुलक कार्यक्रमहरू गरिरहेको उहाँले बताउनुभयो । वडाले गरेको काम कारबाहीप्रति अहिलेसम्म नागरिक सबै सन्तुष्ट नै रहेको वडा अध्यक्ष खड्काले बताउनुभयो । गाउँपालिका स्तरमै छलफल गरेर कोरोनाबाट बच्न सबै खालक मापदण्डहरूलाई पूरा गरेर विकास निर्माणका कामलाई अगाडि बढाउने काम वडामा भइरहेको उहाँले अन्तमा जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्