षडानन्द नगरपालिकाले संविधान दिवस भब्य रूपमा मनायो, बम बिष्फोटले स्थानीय त्रसित

षडानन्द नगरपालिकाले संविधान दिवस भब्य रूपमा मनायो, बम बिष्फोटले स्थानीय त्रसित

काठमाडौं । भोजपुरको षडानन्द नगरपालिकाले संविधान दिवस भब्य रूपमा मनाएको छ । नगरपालिकाले संविधान दिवसको अवसरमा ‘प्रभात फेरि’ कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा नगरपालिका स्थित विद्यालयहरूका विद्यार्थी, शिक्षक र विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारी र स्थानीय सहभागी भएका थिए ।
नगरपालिकाले आयोजना गरेको प्रभात फेरी दिङ्गला बजारको परिक्रमा गरी चार भञ्ज्याङ्मा कोणसभा गरेर समापन गरिएको थियो । कोण सभालाई षडानन्द नगरपालिकाका मेयर बीरबल राईले सम्बोधन गर्नुभएको थियो । सभामा मेयर राईले नेपाल र नेपाली जनताको लागि संविधानले सुख, शान्ति, समृद्धि र सुशासन कायम गर्ने बताउनुभयो । उहाँले नेपाली जनताको रगत र पसिनाले सृर्जित भएको नेपालको संविधान २०७२ लाई स्थानीय जनता र सरकारबाट नै कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले संबिधान दिवसको शुभकामना व्यक्त गर्दै यसको कार्यान्वयनमा चुनौती रहेको समेत बताएका थिए । कार्यक्रम समापन पछि साँझ दिपप्रज्वलन गरिएको थियो ।
संविधान दिवसको पुर्वसन्ध्यामा षडानन्द नगरपालिका पररिसरमा अज्ञात समूहले बम बिष्फोट गराएको छ । बिहिबार राती उपमेयरले चढ्ने बा १ झ ५८१३ नम्बरको गाडी पार्किङ गरी राखिएको स्थानमा बम विस्फोट गराएको हो । गाडीको पछाडिपट्टी विस्फोट गराइएको भएतापनि कुनै भौतिक क्षती नभएको इलाका प्रहरी कार्यालय दिङ्गलाले जनाएको छ ।


साथै पार्किङमा राखिएको नगरपालिकाको जेसीबी र ट्याक्टरमा सङ्कास्पद वस्तु फेला परेको थियो । उक्त बम नेपाली सेनाको बराह गुल्मका लप्टन विपन प्रकाश घिसिङको नेतृत्वमा आएको ५ जनाको टोलीले डिस्पोज गरेको थियो । ठूलो आवाजमा बम डिस्पोज हुँदा स्थानीय त्रसित बनेका थिए । नजिकै दलाल पूंजीवाद सत्ताको विकल्प वैज्ञानिक समाजवाद लेखिएको नेपाल कम्युनिष्ट केन्द्रीय समितिको पर्चा समेत भेटिएको हुँदा विप्लव नेतृत्वको माओवादीले बम राखेको हुन सक्ने अनुमान गरिएको छ । बम बिष्फोट गराउने समूहको खोजि भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्