शुद्धोधन गाउँपालिकाको वडा नं. ५ कोरोनामुक्त

शुद्धोधन गाउँपालिकाको वडा नं. ५ कोरोनामुक्त

हथिहवा, कपिलवस्तु । शुद्धोधन गाउँपालिकाको वडा नं. ५ ले कोरानाको सामना गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको छ । सम्भावित जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिरहेको वडा अध्यक्ष हस्त कुमार सिंहले बताउनुभयो । उहाँले सुरुको अवस्थामा वडामा केही संक्रमित देखिएकाले समस्या भएको थियो तर हाल सबै संक्रमित ठीक भइसकेकाले स्थिति सामान्य बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म महामारीको त्यस्तो ठूलो प्रभाव परेको छैन । सुरुमा २ जनालाई संक्रमण देखिएको थियो अहिले उहाँहरू ठीक भएर घर फर्किसक्नुभयो ।’

संक्रमण फैलिन नदिन वडाले बाहिरबाट आउने व्यक्तिहरूलाई १४ दिन होम क्वारेन्टाइनमा राखेर पि.सि.आर परीक्षण गराई रिर्पोटको आधारमा आवश्यक प्रक्रिया अघि बढाउने गरेको उहाँले बताउनुभयो । महामारीले गर्दा विभिन्न समस्याहरू उत्पन्न भएको तर यहाँका नागरिक सचेत भएकाले त्यस्तो भयावह स्थिति हुन पाएन उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अवस्थासम्म आइपुग्दा यहाँका नागरिक सबै सजग र सचेत भइसकेका छन् । यस कारणले गर्दा गाह्रो महशुस भएको छैन ।’
कोरोनाबाट बच्न वडामा विभिन्न कार्यक्रमहरू गरिरहेको उहाँले बताउनुभयो । वडाले बस्ती बस्तीमा माइकिङ गरेर यसबाट बच्नलाई अपनाउनुपर्ने उपायहरूको बारेमा सबैलाई जानकारी दिएको उहाँले बताउनुभयो ।
वडाले यस महमारीका बीचमा पनि सावधानी अपनाई नागरिकहरूलाई सहज र सरल रूपमा सुविधा दिइरहेकाले वडाबासी सन्तुष्ट नै रहेको उहाँले बताउनुभयो । कोरोना भाइरसको रोकथामलाई विशेष प्राथमिकतामा राखेर अन्य विकास निर्माणका कामलाई विस्तारै अगाडि बढाउने उहाँको योजना रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्